बुधबार, बैशाख १२, २०८१

झापामा पत्रकार महासंघको चुनावका लागि ५ संगठनवीच कार्यगत एकता

बिर्तामोड माघ २६, नेपाल पत्रकार महासंघ झापा शाखाको आसन्न १२ औं अधिवेशनको चुनावी मैदानमा जिल्लाका पत्रकारहरुको पाँच वटा क्रियाशील संगठनले कार्यगत एकता गर्ने घोषणा गरेका छन् ।  फागुन ७ गते हु्ने निर्वाचनका लागि पाँच संगठनबीच कार्यगत एकता गरी ‘व्यवसायिक पत्रकारको संयुक्त समावेशी bigyaptiप्यानल’ निर्माण गर्ने सहमति भएको आज जारी संयुक्त विज्ञप्ति मार्फत् जनाइएको छ ।

नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईं, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष टिकाराम उप्रेती, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं, संघीय प्रेस फोरम नेपालका केन्द्रीय सदस्य डिकेश लामा र आदिवासी पत्रकार संघ झापाका अध्यक्ष पुकार राजवंशीले ती संगठनहरुवीच कार्यगत एकता गर्ने सहमति गर्दै हस्ताक्षर गरेका छन् ।
स्वतन्त्र पत्रकारहरुको समूहले समेत उक्त वृहत प्यानलसंग कार्यगत एकता गरेको छ । उक्त पाँच वाहेक बाँकी रहेका पत्रकारका दुई संगठन प्रेस चौतारी र फोनिजलाई पनि कार्यगत एकताका लागि आह्वान गरिएको छ । ती दुई संगठनबीच पनि कार्यगत एकता भए झापामा यो पटक महासंघको नेतृत्व सर्वसम्मत चयन हुने प्रेस युनियन झापाका कृष्ण हुमागाईंले बताए । तीन वर्षअघि प्रेस युनियन, प्रेस सेन्टर, आदिवासी पत्रकार संघ र स्वतन्त्र पत्रकारको प्यानलमा यस वर्ष मिडिया नेपाल र संघीय प्रेस फोरम समेत समावेश भई बृहत एकता कायम भएको हो । सवै संगठनले उक्त प्यानलबाट उठाउने अधिकांश उमेद्वारको नाम टुंगो लगाइसकेको र एक/दुई दिनमै नाम घोषणा गरिने बताइएको छ ।

तीन वर्षअघि निर्वाचित उक्त संयुक्त प्यानलको नेतृत्वले महासंघ झापा शाखामा रहेर पत्रकारको हितमा काम गर्दै पत्रकार महासंघको गरिमा र मर्यादा उच्च राख्न निर्वाह गरेको भूमिका सबै झापाली पत्रकारले उच्च मूल्यांकन गरेको विज्ञप्तिमा जनाइएको छ । तीन वर्षअघि गरिएका महत्वपूर्ण कार्यलाई निरन्तरता दिंदै थप उन्नत र नविनतम् कार्यका लागि बृहत संयुक्त प्यानल बनाइएको प्रेस सेन्टरका अध्यक्ष टिकाराम उप्रेती बताउँछन् । पत्रकार महासंघलाई साझा र समावेशी मात्र होइन, व्यवसायिक पत्रकारको क्षमता वृद्धि, पत्रकारको सुरक्षा प्रत्याभूति, श्रमजीवि ऐनको कार्यान्वयन, झापाका सञ्चार संस्थाको विकासमा सहकार्य गर्ने उद्देश्यले संयुक्त प्यानल निर्माण गरिएको बताइएको छ ।