बिहिबार, बैशाख १३, २०८१

यस्तो राष्ट्रपतिको नयाँ बस्ने नयाँ निबास

काठमाडौं माघ १५ ,  साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन् । भूकम्पले क्षति पुगेपछि राष्ट्रपति प्रिफेव भवनमा बस्दै आएकी थिइन् । नयाँ भवन भूकम्प जानुअघिदेखि नै बनाउन थालिएको थियो । निवास बन्नुअघिसम्म राष्ट्रपति भवनमै अफिस र निवास थियो ।  राष्ट्रपति बस्नकै लागि यो भवन बनाइएको हो । अफिस भने पुरानै भवनबाट सञ्चालन हुनेछ । पुरानो भवन पछाडि बनाइएको 1485563666New-buldingनिवासमा चार ब्लक रहेको इन्जिनियर महेश भट्टले बताए ।  जसलाई ए, बी, सी र डी नाम दिइएको छ । ए ब्लक सबैभन्दा ठूलो ५ तलाको छ । जसमा राष्ट्रपति बस्ने हो । अन्य तीन ब्लक दुई तलाका छन् । चारवटै ब्लकबीचमा राणाकालीन शैलीको ‘कोडयार्ड’ अर्थात् पार्टी हल छ । चारवटा ब्लकबाट घेरिएर बनेको हल साठी जना क्षमताको छ । त्यस अतिरिक्त बैठकका लागि अन्य तीनवटा हल छन् ।

निवासमा चारै दिशाबाट प्रवेशद्वार छ । पूर्व ढोकाबाट राष्ट्रपति मात्रै प्रवेश गर्ने व्यवस्था छ । उत्तर ढोकाबाट विदेशी पाहुना, दक्षिण ढोकाबाट नेपाली पाहुना र पश्चिम ढोकाबाट कर्मचारी छिर्ने व्यवस्था छ । राष्ट्रपति बस्ने ए ब्लकको भवन पूरै सेर वाल अर्थात् इँट्टाढुंगाको प्रयोग नगरी ढलानबाट बनाइएको हो । सुरक्षाका दृष्टिले यसरी बनाइएको प्राविधिकहरूको भनाइ छ । ब्लक बी, सी र डीमा बैंइकेट, बैठक, हेल्थ सर्भिसलगायत सुवधा छन् । राष्ट्रपतिको उपचार निवासमै गर्न सकिने व्यवस्था छ । एक निजी चिकित्सकका लागि आवाससमेतको व्यवस्था छ । सम्पूर्ण भवनको कन्ट्रोल ग्राउन्ड फ्लोरबाट गरिन्छ । अन्डर ग्राउन्डमा हेल्थ क्लब छ । जसमा जिम, सोना स्टिमदेखि सबै सुविधा उपलब्ध छ । अन्डर ग्राउन्डमा कोल्ड स्टोरको व्यवस्थासमेत छ । खासमा यसको प्रयोजन अर्कै छ । मुलुकमा कुनै आपतकालीन अवस्था परेमा राष्ट्रपतिलाई अन्डर ग्राउन्डमै बस्न मिल्ने र त्यहींबाट कार्यालय सञ्चालन गर्न मिल्ने डिजाइनमा बनाइएको हो । यसमा सेन्टर हिट प्रणाली जडित छ । भवनको डिजाइन इस्टवेस्ट इन्जिनियरिङले गरेको हो । भवन डिजाइनका लागि गरिएको प्रतिस्पर्धामा यो पहिलो भएको थियो । इस्टवेस्ट इन्जिनियरिङको डिजाइनमा तुन्डी समानान्तर जेवीले भवन निर्माण गरेको हो । भवन बनाउन साढे ६२ करोड रुपैयाँ खर्च भएको छ ।

कान्तिपुर दैनिकबाट