बिहिबार, बैशाख १३, २०८१

गोल्डकप अब विधिवत रुपमा दर्ता हुने

बिर्तामोड पौष २४  मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप अब विधिवत रुपमा दर्ता हुने भएको छ । झापालाई ‘फुटबल हब’ बनाउने दीगो लक्ष्यका साथ झापा गोल्डकपलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर व्यवस्थित ढंगले काम गर्न लागिएको गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।
अध्यक्ष गिरीका अनुसार आइतबार बिर्तामोडमा सम्पन्न झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०७३ को बैठकले गोल्डकपलाई प्रशासनमा दर्ता captureगरी अघि बढ्ने निर्णय गरेको हो ।  आर्थिक पारदर्शिता, जवाफदेहिता र व्यवस्थित ढंगले गोल्डकपलाई अगाडि बढाउनका लागि झापा गोल्डकप दुई साताभित्र दर्ता गरिसक्ने गरी तयारी भएको महासचिव केशव दाहालले बताए । आइतबारको बैठकले २१ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ । यसअघि नै एक सय ११ सदस्य मूल समिति र ५१ सदस्य सल्लाहकार समिति बनाइसकिएको छ ।

झापा गोल्डकप– २०७३ को दोस्रो संस्करण माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । गोल्डकप सफल बनाउन मूल समितिका सदस्यले न्यूनतम २१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने समेत निर्णय भएको गोल्डकपका उपाध्यक्ष बलराम कार्की बताउँछन् ।  त्यस्तै पाँच लाख दरको पाँच वटा प्लाटिनियम स्पोन्सर, तीन लाख दरको १० वटा गोल्ड स्पोन्सर र एक लाख दरको २० वटा सिल्भर स्पोन्सर राख्ने समेत निर्णय भएको छ । उक्त स्पोन्सरका लागि समितिले उद्योगी, व्यवसायी तथा प्रतिष्ठानहरुलाई सहयोगको आह्वान समेत गरेको छ । आयोजक झापा ११ फुटबल क्लवसहित नेपालका ए डिभिजन खेल्ने ७ वटा र विदेशी ३ वटा टीमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।  प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ । प्रतियोगिताका विजयी टिमले नगद ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङले बताए ।