शुक्रबार, असार १७, २०७९

निरंकूश र विदेशपरस्त शासन कहिलेसम्म ?

 pen-copy-gift-150x15022 -राजन कार्की
लोकतन्त्र लोकको अधिकार हो । लोकतन्त्र राष्ट्राधिकार पनि हो । लोक र राष्ट्राधिकारभन्दा दायाँवायाँ जानै सक्दैन लोकतन्त्र । तर नेपालमा लोकतन्त्रलाई नेतातन्त्र बनाएका पार्टीहरुले पञ्जापत्र पाएसरह उपयोग गरिरहेका छन् । यहीकारण न लोकाधिकार सुरक्षित हुनसक्यो, न राष्ट्राधिकार । जे सुरक्षित छ, त्यो नेताधिकारमात्र । नेताले जे गरे पनि हुने, अरुले केही गर्नै नहुने । अर्थात नेपालमा बिधिको शासन, लोकतान्त्रिक परिपार्टी ज्यूँदो छैन, जिवन्त छ त ठूला दलको निरंकूशता । एउटा निरंकूशता फाल्न जनताले साथ दिएको विषयले अर्को र अराष्ट्रिय, डरमर्दो निरंकूशता पो स्थापित भयो मुलुकमा ।
नेता र लोकतन्त्र, लोकतन्त्र र नेतावीच व्यवस्था र व्यवस्थापनका अन्योन्याश्रित सम्बन्ध हुनुपर्ने हो । नेपालमा नेताहरु छन्, लोकतन्त्र पनि छ । तर नेता व्यक्तिवादको राजमार्गमा अन्धाधुन्द दौडिरहेका देखिन्छन्, लोकतन्त्र पानीले रुझेर, चिसोले लुगलुग कामेर, दिनको भोक न रातको निन्द्रामा छटपटिइरहेको छ । नेतालाई सत्ता, शक्ति र सम्पत्ति प्यारो छ । नेतालाई राज्यमा भागबण्डामा सहमति चाहिएको छ । नेताको नजरमा जनता भुसुनाको जत्ति पनि गणना भएको छैन । जनता भने लोकतन्त्र आयो, पाउनुपर्ने सबै हकभोक गर्न पाइने भयो भनेर दङ्ग थिए, अहिले पछुताइरहेका देखिन्छन्, भेटिन्छन् । जो नेताका वरिपरि, सत्ताको करिडरमा घुम्न पाएका छन्, पहुँच र प्रभावमा रवाफ देखाउन सकेका छन्, उनीहरु यो लोकतन्त्र नामधारी नेतातन्त्रलाई नयाँ नेपाल भनेको यही हो, यही स्थिति र परिस्थितिलाई संस्थागत गर्नुपर्छ भनेर लागेका छन् ।
चुपचाप नागरिक भएर बसेका थिए पूर्वराजा, उनलाई समेत पचेन लोकतन्त्रमा विदेशी चलखेल र हैकम बढेको । उनले चिन्ता प्रकट गरे, जनतालाई संचेतन हुन आह्वान गरे, के चाहियो– सत्तामा बस्नेको मूड खराव भयो, बर्बराइहाल्यो । चुप लागेर बस्नु, होइन भने अरु दु:ख पाउँछौ । बोल्नै नहुने कस्तो लोकतन्त्र । देशको चिन्ता गर्ने त अराष्ट्रिय तत्वलाई जस्तो विभेदकारी व्यवहार पो हुनथाल्यो । जो विदेशीको इसारामा छमछमी नाच्छ, त्यही हो अहिलेको नेपालको राष्ट्रवादी, सत्ताधारी र अग्रगमनकारी । अजव नेपाल, गजब काश्मिर भनेको यही हो । इमान्दारिताको कसीमा घोट्दा नगरबधुको जत्तिको पनि नैतिकता नेताहरुमा देखिएन । बेश्याको पनि विश्वास गर्न सकिन्छ । उ बोलेको कुरा पुरा गर्छे, सहमतिलाई तोड्दिन । शरीर बेच्छे, आत्मा बेच्दिन, अस्तित्व बेच्दिन । बेश्याको बोलीमा ओजन हुन्छ, उ बोलीमा समर्पित हुनसक्छे, बोलेको कुरा होइन भन्दिन । पेशाप्रतिको इमान्दारिता नगरबधुको विशेषता हो । यस्तै विशेषता गुण्डा र डाँकामा पनि हुन्छ । समाजबिरोधी, शासनबिरोधी मानिने माफिया ‘डन’ हरु पनि बोलीमा पक्का मानिन्छन् । उनीहरु मर्न तैयार हुन्छन्, मार्न तैयार हुन्छन् तर बोलेको कुरामा अडान राख्छन्, अडिग हुन्छन् । त्यसैले हिन्दीमा उखान पनि छ– ‘जान जाय पर बचन नजाए’ ।
हाम्रा लोकतान्त्रिक नेताहरुले संविधानसभाको निर्वाचन अघि के कबुल गरेका थिए ? पार्टीको घोषणापत्र भनेर के लेखेका थिए, के प्रचार गरेका थिए ? चुनाव गया, प्रतिवद्धता पनि गया । घोषणापत्र कुनै पनि पार्टी नेताले बोकेर हिडेका छैनन् । अव स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन आयो भने फेरि धुलो टकटक्याएर घोषणापत्र निकाल्ने छन् र लोकका घरघरमा भोट माग्न पुग्नेछन् । कूशासन, भ्रष्टाचार, अनाचार, दूराचार जेजति अलोकतान्त्रिक क्रियाकलाप भइरहेका छन्, ती सबैका जिम्मेवार नेतातन्त्र हो । तर नेताहरु जिम्मेवारी लिन तैयार छैनन् । मात्र उन्नति र प्रगतिका, शान्ति र समुन्नतिका, संक्रमणको अन्त्यका चर्का भाषण गरेर भाग शान्ति जय नेपाल शासन गरिरहेका छन् । यही शासन उनीहरुको भाषामा अलौकिक लोकतन्त्र हो । 
परिवर्तनको तुफान रोकिएको छैन । फरक यत्ति छ, हिजो जनताले परिवर्तनको आकांक्षा राखेका थिए, आज नेताहरु भाषणमा परिवर्तन खोजिरहेका छन् । नङ्गा नाचे हजार दाउ बनेको राजनीति एकातिर आँधीखोला अर्कोतिर झोलुङ्गे बन्नपुगेका छन् । सत्ता र राज्य ढुकुटीलाई यिनले पञ्चदेवलको हण्डी बनाइदिएका छन् । हण्डी खानेमा सम्भवत: निष्ठा हुँदैन । राजनीतिले निष्ठा गुमाएको छ । लोकतन्त्रवादी नेताहरु यस्तो अप्ठेरो गाँठोमा बाँधिएका छन्, त्यो गाूठो अर्काले बूँधिदिएकाले यसलाई फुकाउने सुर्केनो पनि अर्कैलाई मात्र थाहा छ । अरुले गाूठो नफुकाएसम्म निकास र बिकास अबरुद्ध हुनेछ । त्यसैले यिनका मनमा सात पतरी कालो छ तर यिनका मुखमा लोकतन्त्रको मह देखिन्छ । यिनको व्यवहारमा लोकवादी केही पनि भेटिन्न । यिनको आशन र शासन नगरबधुभन्दा पनि अनैतिक छ । यही अनैतिकताको खियाले लोकतन्त्र दिनदिनै बदनाममात्र भइरहेको छैन, राष्ट्र बिखण्डन र बिभाजनको तारेभीमा पुगिसकेको खतराको आहट सुन्न थालिएको छ ।
आफ्ना स्वार्थका लागि प्रयोग गर्न अमेरिकाले नोरियगादेखि सद्दामसम्मलाई बुख्याँचा बनाएर उभ्यायो । उपयोग सकिनासाथ तिनलाई आतंककारी, विश्वशान्तिका लागि खतरनाक भनेर समाप्त पारिदियो । अमेरिकाले बिन लादेन समाप्त पारेपछि अव उसको सूचीमा  तालिवानी परेको छ । अर्काको उपयोगका लागि तैयार भएकाहरु यसैगरी उठ्छन् र समाप्त हुन्छन् । हाम्रा नेताहरुले यस्ता उदाहरण जानिराख्नु उचित हुनेछ । प्रश्न यतिमात्र हो– के लोकतान्त्रिक नेताहरुमा देशप्रतिको गौरव छ ? यिनमा नेपालीत्व छ भने घरि–घरि यिनीहरु किन दिल्ली दौडिन्छन् ? यिनले किन नेपाली जनतालाई तीर्थ बनाउन सकेनन् ? लोकतन्त्र र लोक सुरक्षित छन् कि छैनन् ? नेपाली राजनीतिको धर्माधिकारी दिल्लीमा बस्छ भने जनप्रतिनिधिको हैसियत के ? नयाँ नेपाल बनाउने आवाज ध्वनी कि प्रतिध्वनी ? कसरी बन्छ नयाँ नेपाल, खोई खाका ? नपालविरुद्धका अनगिन्ती विदेशी आक्रमणलाई देखेर पनि आँखा चिम्लेर नयाँ नेपाल बन्छ ? नगरबधुमा जत्ति पनि अडान नभएका ‘इम्परर न्यूक्लोथ’का पात्रहरुलाई कसरी नयाँ मान्ने ?
अहिले त संविधान संशोधन गरेर मधेसलाई नयाू देश बनाउने मार्ग प्रशस्त गर्न क्रान्तिकारी र समाजवादी नेता नै लागेको देखियो । यसमा सर्वोच्च अदालतले समेत मार्ग प्रशस्त गरिदिएको अर्थ लगाउन थालिएको छ । विदेशी इसारामा हिमाल–पहाडबाट मधेसलाई छुटेयाउनु भनेको नङमासु अलग गर्नु हो । यही काममा लोकतन्त्रवादी हुू भन्नेहरु न्वारानमा खाएको घीउको बल निकालेर लागेका छन् । लाग्छ, नयाँ नेपाल गया नेपाल । बिश्लेषकहरु भन्छन्– बिस्तारै बिस्तारै मैनबत्ती पग्लेजसरी नेपाल नेपालीत्व, स्वाधीनता र सार्वभौमिकताबाट पग्लदै पग्लदै असफलताको भीरबाट खुरमुरिदैछ ।
लोकतन्त्र लोकको तन्त्र बन्नुपर्छ, भारततन्त्र वा विदेशतन्त्र हुनुहुन्न । अरुले चलाउने तन्त्र रखेलतन्त्रमात्र हुन्छ । नेपाल कसैको रखेल बन्न सक्दैन । नेताहरुले आफूभित्र, आफ्नो अवधारणाभित्र नेपालीत्व देखाउन सक्नुपर्छ । जनबलमा उठ्नु पर्ने दलहरु दिल्लीको धापमा गौरव गर्छन् भने यिनीहरु नगरबधुभन्दा कमसल तत्व हुन् । नगरबधु एकहदसम्म बिगारतत्व हुन्, परतन्त्रमा विश्वास गर्नेहरुले राष्ट्र समाप्त पार्छन् ।
कुनै पनि मुकाविलाका लागि प्रतिपक्ष चाहिन्छ । लोकतन्त्रवादीहरुको कुनै दुश्मन छ भने यिनीहरु आफैभित्र विद्यमान छ । जङ्गलमा जनावर बस्छन्, जनावरमा विवेक हुन्न, बिधि पनि हुन्न, भारत नेपाललाई जङ्गल बनाएर नेपालको सतित्व लुट्दैछ । नेताहरु ट्वाल्ल परेर हेरिरहेका छन् । नगरबधुहरु शरीर बेच्छन्, तर हाम्रा नेताहरु आत्मा बेच्छन्, देश बेच्छन्, अस्तित्व बेच्छन् र लिलाम भइरहेका छन् । इतिहासमा शेख हयास भन्ने व्यक्ति माटोलाई धोका दिएर बृटिश सरकारको चाकर बन्नपुग्यो । अन्तमा, बृटिशले आफ्नो माटोलाई धोका दिनेले हामीलाई पनि धोका दिन्छ भनेर कालोमोसो दलेर डाँडो कटाइदियो । नेपालको इतिहासमा बलभद्र छन्, बलभद्रको वीरता पनि छ । त्यही बृटिशले बलभद्रको वीरताको मूल्याङ्कन गरेर नालापानीमा सालिक ठड्यायो र सलाम ठोक्यो । राष्ट्रभन्दा सत्ता प्यारो, नीतिभन्दा स्वार्थ प्यारो ठान्नेहरु इतिहास पढ्दैनन् । धर्मयुद्ध लड्ने बेलामा नेताहरु स्वार्थको सर्त अघि सारेर राष्ट्रलाई खतरामा पारिरहेका छन् । प्रा. जोसुवा लिडरबर्गको परिभाषा छ– ‘कार्वन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन र फोस्फरस परमाणुका मोलिक्यूल्सहरुको संयोजनजनित ६ फिटको पशु…’ यो मान्छेको परिभाषामा नेपाली नेताहरु कहाँनेर भिन्न छन् ? यस्ता देशघातीहरुले कृष्णलालको ‘मकैको खेती’ अथवा रुस्दीको ‘सटानिक भर्सेज’ पढे हुन्थ्यो । डम्बरशमशेर थापाले पद्म शमशेरलाई पत्र लेखेर ‘प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ” भनेको इतिहास पढे त झनै राम्रो हुनेथियो । नेताहरुलाई ज्ञात होस्– लोकतन्त्रको नाममा चलाएको गुण्डातन्त्र चिरस्थायी हुन्न । मसलतन्त्रले जनताको मन जित्दैन, घृणामात्र बढाउछ ।  लोकमतबाट आएका लोकतन्त्रका नायकहरुलाई राज्य गर्ने अधिकार छ, जनताको स्वाभिमानलाई विदेशीका हातमा दशदान, गाईदान गर्ने अधिकार छैन । यिनीहरुले शान्ति र सुशासनका लागि भीष्म प्रतिज्ञा गरेकै हुन्, त्यो प्रतिज्ञा खोज्नु जनताको अधिकार हो । जनतालाई त्यो अधिकारबाट बञ्चित गर्नु लोकतन्त्र होइन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031