बिहिबार, चैत्र १५, २०८०

लोकतन्त्र र ‘नयाँ शक्ति’

Ankc -अर्जुननरसिंह के.सी.
सांसद एवं केन्द्रीय सदस्य , नेपाली काँग्रेस

राष्ट्रिय राजनीतिमा ‘नयाँ शक्ति’ नाम धारण गरेर ढोल–नगरा बजाउँदै तामझामका साथ नयाँ राजनीतिक दलको जन्म भएपछि एउटा जिज्ञासा स्वतः उठ्छ— संसदमा उपस्थित ३० भन्दा बढी र सरकारमा एक दर्जनजति पार्टी मौजूद भएको यथास्थितिमा नेपाललाई थप पार्टी चाहिएकै हो कि होइन ? नयाँ शक्तिको औचित्य र सान्दर्भिकता, सोही पार्टीको सरोकार र उत्तरदायित्वको कुरा हो । राष्ट्रको आवश्यकताले समाजसँग शक्ति माग्दा राजनीतिक पार्टी पैदा गर्ने गर्भे–हिलो तयार हुन्छ । नवीनताको अंकुरलाई पूर्वाग्रही उपहास गर्नु मेरो लोकतान्त्रिक संस्कार होइन । नयाँ सृजना वा जन्मलाई सर्वथा स्वागत नै गरिन्छ । त्यसैले ‘नयाँ शक्ति पार्टी’ लाई लोकतन्त्रले नयाँ पालुवा हालेको रुप वा अर्थमा बुझ्नु अतिशयोक्ति हुँदैन । हाम्रो लोकतन्त्र उर्वर, प्रजननशील वा सृजनशील सामथ्र्य भएको बलियो प्रमाण यही हो । यसरी ‘नयाँ शक्ति’को उदयलाई नेपाली काँग्रेसको हृदयले सहज रुपमा स्वागतयोग्य मानेको छ ।
तर अन्य पार्टीमा यसले केही झस्को र प्रतिक्रिया उत्पन्न गरेको छ । एमालेको अध्यक्ष रहनु भएका प्रधानन्त्रीजीले नयाँ शक्ति पार्टीको घोषणासभामा गएर ‘एमाले बाहेक सबै पार्टीलाई नयाँ शक्तिले धक्का दिन्छ’ भनेपछि नै हामीलाई पनि शंका लागेको हो, भोट बैैंक करिब साझा परेको कारण कतै उहाँ आफ्नै त्रासलाई ढाकछोप गर्न हतारिँदै हुनुहुन्छ कि ? नयाँ शक्तिले जन्म लिएको सँगसँगै माओवादी केन्द्रमा ‘ ड्यामेज कन्ट्रोल’ कै लागि होला, गिनिज बुक्समा नाम लेखाउन खोजेजस्तो विश्वकै सबभन्दा ठूलो ११ सय सदस्यको केन्द्रीय समिति बनाइयो । बाबुरामजीले छोडेको पार्टीका नेताहरू भन्दैछन्, ‘धोका दिइयो ।’ ‘नयाँ शक्ति’ तिर सुनिन्छ, ‘हृदय परिवर्तन भयो ।’ धोका दिनु र हृदय परिवर्तन हुनु विपरीत कुरा हुन् । यस्ता अस्पष्टताहरू नेपालको राजनीतिमा आइरहने पहेली हुन् । ‘शत्रु कोही छैन…मित्रहरूको दायरा फराकिलो पार्ने…’ भन्ने उदात्त भावना प्रकट भएकोले तथाकथित ‘एकदलीय जनवाद’को सोचबाट मोहभंग हुँदै दशवर्षे हिंसात्मक र रक्तपातपूर्ण द्वन्द्वप्रतिको दोषबोधको परिणतिका अर्थमा ‘नयाँ शक्ति’ लाई हामीले बुझ्दा अत्युक्ति नहोला । भारतमा अरविन्द केजरीवालको आमआद्मी पार्टीले पनि उत्प्रेरित र उत्साहित बनायो होला । माओवादी उद्गमबाट निस्केर लोकतन्त्रको मूलप्रवाहमा भँगालो बन्न आएको नवजात पार्टीमा आफ्नो विधा र विषयका पोख्त धेरै संस्थापक र अभियन्ताहरू हुनुहुन्छ । उहाँहरूले आफ्नो विगतको पहिचान बदलेर नयाँ पहिचान बरण गर्नुभएको छ । विभिन्न क्षेत्रमा देश चलाउने सामथ्र्य र चलाएको अनुभव उहाँहरूमा छ । तर केवल डा. बाबुराम भट्टराईको एकल प्रदर्शन भइरहेको छ । यसबाट पार्टीमा संस्थागत र सामुहिक नेतृत्व पद्धतिको शुभारम्भमै सन्देह उब्जिएको छ । कुनै बेला उहाँ लोकतन्त्रकै विकल्प शक्तिका रुपमा माओवादीलाई स्थापित गर्ने प्रमुख नीतिकार (आइडलग) हुनुहुन्थ्यो । यो खुशीको कुरा हो आज उहाँ ‘लोकतान्त्रिक विकल्प शक्ति’ बनाउँदै हुनुहुन्छ । नेपाली काँग्रेस अन्य पार्टीहरूसँगको निकटतालाई विश्वब्यापी रुपमा स्वीकृत लोकतान्त्रिक मूल्य–मान्यता र यसप्रतिको संकल्पका कसीमा यकिन गर्दछ । त्यसैले काँग्रेसका लागि यो अझ स्वागतयोग्य विषय हो ।
बाबुरामजी ‘नयाँ’ प्रेमी हुनुहुन्छ । जुन बेला उहाँ माओवाद घोक्दै र घोकाउँदै हुनुहुन्थ्यो, माओवादी हुनुहुन्थ्यो । जब उहाँले माओवादलाई प्रयोगबाट बुझ्नुभयो तब माओवादीबाट विदा लिनुभयो । हामीकहाँ एउटा मान्यता नै छ, ‘कम्युनिष्टहरू माक्र्सवाद घोक्न खोज्छन्, गैरकम्युनिष्टहरू माक्र्सवाद बुझ्न खोज्छन् ।’ युद्धकालमा उहाँ ‘नयाँ सत्ता’ को प्रमुख हुनुहुन्थ्यो । शान्ति प्रक्रियामा आएपछि ‘नयाँ नेपाल’ भन्न थाल्नुभयो । आज ‘नयाँ शक्ति’ को सर्बोच्च पदाधिकारी हुनुभएको छ । तर नामको सार्थकताका प्रयोजनमा यो कति नूतन वा पुरातन हो, ब्यवहारबाट मात्र प्रमाणित हुन्छ । अँग्रेजीमा एउटा उखान छ, ‘घोडाले आफ्नो मूल्य र महत्व आफै दौडेर राख्दछ ।’

पार्टी भनेकै जनाधार, जनताले दिएका अनुशासित कार्यकर्ता, जनस्वीकार्य राजनीतिक विचारधारा, दूरदृष्टि (भिजन), मूल्य–मान्यता, जिम्मेवार नेतृत्व र एजेन्डाहरूको एकमुष्ट मूर्तरुप हो । तर पार्टीको आत्मा मानिएका यी कुराहरूको गुणवत्ता पार्टीहरूभित्रै मासिँदै गएकोमा हामीलाई चिन्ता छ । त्यसको ठाउँमा उपभोक्तावादी मनोवृत्तिको, लेनदेनको, लागत–मुनाफा हिसाबको, सत्ता, शक्ति र गणितीय खेलको बोलवाला बढिरहेको छ । पार्टीभित्र विद्यमान विकृतिलाई निराकरण गर्नुको सट्टा तिनलाई त्यसै छोडेर पलायन हुनु भनेको घरमा कसिंगर भरियो भन्दैमा बडार्नतिर नलागेर घर नै छोड्नु जस्तो हो । समस्याबाट पलायन हुनु नेतृत्वको चरित्र होइन । त्यसैले पार्टीको आकृति देखिएपछि पनि जनताको संस्था हुन यस्ता धेरै उतार–चढाव, सन्धि–विग्रह, समीकरण–ध्रुवीकरणलाई कुशलतापूर्वक पार गर्नुपर्ने हुन्छ । नाराको राजनीति सजिलो हुन्छ, तर निष्ठाको राजनीति निकै कठीन हुन्छ
कुनै पनि पार्टीले स्थायित्व लिन नवयुगको सूत्रपात गर्ने सामथ्र्य र विवेकसहितको शान्तिपूर्ण आन्दोलन (मुभ्मेन्ट) बोकेको हुनुपर्छ । पार्टी कुनै प्रतिक्रिया वा आवेगबाट होइन, निश्चित प्रक्रिया, दृढ इच्छाशक्ति, समर्पण र ऐतिहासिक विकासक्रमबाट बन्दछ । बाबुरामजी पहिलो पीएच्डी प्रधानमन्त्री हुनुहुन्छ, तर मेरो जानकारीमा भएसम्म आफ्नो पीएच्डीको थिसिस र आफ्नै विगतको मान्यता विपरीतका राजनीतिक मान्यताको पूँजीमा नयाँ शक्ति स्थापना गर्दै हुनुहुन्छ । पार्टीमा नेताको साख, जनविश्वास, कार्यकर्ताको आस्था र स्वीकार्यता नै सर्वोपरि हुँदोरहेछ भन्ने अनुभव हामीले धेरै अगाडि गरेका हौँ, जुन बेला नेपाली काँग्रेसमा एकातिर डा. डिल्लीरमण रेग्मीजस्ता इतिहास र अर्थशास्त्रका उद्भट विद्वान नेता हुनुहुन्थ्यो । अर्कातिर बीपी, गणेशमानजी, सुवर्णजी, किसुनजीजस्ता राजनेताहरू हुनुहुन्थ्यो ।
‘वैकल्पिक शक्ति बन्ने’ भन्ने बनिबनाउ इच्छा नेपाली राजनीतिमा अब प्रायः निष्प्रभावी भइसकेको छ । आजसम्म जति पार्टीहरू धरातलमा देखा परे, ती सबैले आफ्नो लक्ष र पक्षका रुपमा ‘वैकल्पिक शक्ति’को नारा बोकेकै हुन् । ‘नयाँ शक्ति’ ले ‘के गर्ने’ भन्नेबारे धेरै कुरा बतायो, तर ‘कसरी गर्ने’ भन्नेमा मौनता देखिन्छ । स्थापनाका बेला घोषणा गरिएका कति काम यसले गर्न सक्छ, त्यसबारे अहिले नै भविष्यवाणी गर्नु भ्रम फैलाउन खोजको जस्तो हुन्छ । उसले दिएको ‘पाँच–स’ को नारालाई निष्ठाको रुपमा अनुवाद गर्ने चुनौती भएकोले नयाँ शक्ति अग्निपरिक्षामा छ । कन्फ्युसियसले भनेजस्तो, ‘जबसम्म तिमी रोकिँदैनौ, कति सुस्तरी हिँड्दैछौ भन्ने कुरै आउँदैन ।’ गति रोकियो भने बोलिरहनुको कुनै अर्थ हुँदैन ।
‘नयाँ शक्ति’को स्थापना र घोषणा प्रक्रियालाई हेर्दा नेपाली राजनीतिका आम रोगबाट त्यो पार्टी पनि बच्नसक्ला भन्नेमा शंकै छ । पार्टीको घोषणासभा र भेला अत्यन्त भड्किलो हुनुले ‘समाजवाद उन्मुख’ पार्टीमा उपभोक्तावाद हावी भएको, मितब्ययिता, सादगी आदि समाजवादी आचरण नदेखिएको, पदको लुछाचुँडीकै कारण केन्द्रीय समिति गठन गर्न नसकी ‘राष्ट्रिय भेला’ समापन गर्नु संगतिपूर्ण लक्षण पक्कै होइनन् । त्यस पार्टीको प्रारुपबारे पढ्दै जाँदा “….काँग्रेस, एमाले, माओवादी, मधेसवादी, जनजाति पार्टी नयाँ शक्तिका रुपमा उदाए । अहिले उनीहरू सबैको अस्तित्व समाप्त भएकोले नयाँ शक्तिको खाँचो परेको हो….” भन्ने ब्यहोरामा आँखा परेपछि प्रश्नहरू स्वतः सल्बलाउन थाले, इतिहास बनाइसकेका नेपाली काँग्रेस लगायतका पार्टीहरू कहिले समाप्त भए ? ‘नयाँ शक्ति’ आफ्नै लागि कि जनताको लागि हो ? यसको अन्तरनिहित आसय बुझ्दा भेष बदलेर भए पनि सत्तामा आफ्नै शक्तिको निरन्तरता खोजिएको त होइन ? कुर्सीले नयाँ शक्तिलाई पछ्याउला कि कुर्सीलाई नयाँ शक्तिले पछ्याउला ? त्यसैले ‘नयाँ शक्ति’ गठनका कारणहरू बलिया भए पनि सम्भावना फितलो देखिँदैछ । राष्ट्रिय शक्तिहरूको समाप्तिमा नै आफ्नो जीवन र भविष्य देख्नेले आफ्नो औचित्य विसर्जनको उल्टोगिन्तीमा पर्ने जोखिम पनि बुझ्नुपर्छ ।
आज राजनीतिक व्यवस्थाको बिरूद्ध होइन आर्थिक अवस्थाको बिरूद्ध संघर्षको जरुरत भएकोले नयाँ शक्ति यो संघर्षमा कसरी सार्थक र सफल हुन्छ, जनताले त्यसबाट मूल्याङ्कन गर्नेछन् । अबका समस्याहरू राजनीतिक उपायले होइन आर्थिक विकासबाट मात्र सम्भव छ भन्ने नयाँ शक्तिको मान्यता देखिन्छ । यसको अर्थ नेपाली काँग्रेससँग नयाँ शक्ति पार्टीको सहकार्य सम्भव छ र प्रत्येक पार्टीलाई यतातिर नवीन सोचका साथ ध्यान दिँदै नयाँ राजनीतिक समीकरण निर्माण गर्न उत्प्रेरित गरेको छ । मुलुकको सामथ्र्यलाई जनताको सर्बोत्तम हितका लागि लगाउने, उत्पादन, वितरण, रोजगारी, निर्यात बृद्धिबाट लोकतन्त्रलाई जनजीवनको उपयोगी माध्यम बनाउने, भ्रष्टाचार र दण्डहिनताको निर्ममताका साथ अन्त्य गरी सुशासन कायम गर्ने, प्राकृतिक स्रोत–साधनको न्यायपूर्ण अधिकतम परिचालन र उपयोग गर्न दलहरूको भूमिका बढाउने कार्यमा पार्टीहरूले ठोस निर्णय गर्नु अनिवार्य भइसकेको छ । राज्यले सबै मागहरू पूरा गर्न सक्दैन, तर राष्ट्रको आवश्यकता जसरी पनि परिपूर्ति गरेकै हुनुपर्छ । त्यस निम्ति सबै राजनीतिक दलहरूबाट राष्ट्रिय सहमतिको वातावरण बनाउनु पर्छ । यस प्रयोजनमा समर्पित भएर आयो भने ‘नयाँ शक्ति’ लोकतन्त्रमा जन्मेको पछिल्लो मित्र शक्ति हुनेछ ।   Email : arjunnkc@gmail.com