शनिबार, बैशाख ८, २०८१

लुट….

g1-a-150x150

यहाँ जताततै लुट घरहरु सञ्चालित छन्,
जहाँ देखादेख उज्यालो मै मानिसहरु लुटिन्छन्,
अनि क्षण भरमै जोगी बनाईन्छन् ।

यहाँ जताततै मृत्यु परीक्षणहरु भइरहेका छन्,
जहाँ जीउँदा मान्छेहरुको शरीरमा अभ्यासहरु हुन्छन्,
अनि खेलाँचीमै कत्ति मान्छले ज्यान गुमाउँछन् ।

यहाँ जताततै मसान घरहरु खुलेका छन्,
जहाँ श्वेत वस्त्रधारी ज्यानमाराहरु त्राहिमाम त्राहिमाम फैलाउँदै छन्,
अनि ती जीउँदा मान्छेका रक्तनलीहरु खोज्न आतुर छन् ।

यहाँ जताततै गलपासोहरु थापिएका छन्,
जहाँ निमुखाहरु माथि भोक र त्रासको जालोहरु कसिन्छन्,
अनि त्यहि परीबन्धमा तिनका  शरीरका मासु लुछिन्छन् ।

यहाँ जताततै भुत केन्द्रहरु प्रदर्शनीमा छन्,
जहाँ मान्छेहरु रातका भुतको अवतारमा सात्तो लिन उद्दत छन्,
अनि तिनै भुतहरु दिउँसो  भगवान बनेर भुत पनछाउने धन्दा भ्याउँछन् ।

-गौतम डंगोल सन्देश