शनिबार, बैशाख ८, २०८१

यस्तो बन्दै छ १० वर्षपछि काठमाडौं

टेकराज थामी/काठमाडौ ज्येष्ठ २२ , प्रक्षेपित योजना कार्यान्वयन भएमा अबको १० वर्षपछि काठमाडौं उपत्यकाले आफ्नो रूप बदल्नेछ । सडक चौडा हुनेछन् । मेट्रो रेल गुड्नेछ । ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ । पुरातात्त्विक महत्त्वका धरोहरले रूप फेर्नेछन् ।  काठमाडौं उपत्यका विकास प्राधिकरणले सबै योजनाको सूक्ष्म अध्ययन सुरु गरिसकेको छ । अध्ययन सकिएलगत्तै कार्यान्वयनका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार हुनेछ । रिपोर्टका आधारमा योजनाले गति लिनेछ । सबै योजना पूरा हुन कम्तीमा १० वर्ष लाग्नेछ ।

Captureबागमतीमा उफ्रनेछन् माछा: तीन वर्षभित्र बागमतीमा माछा उफ्रनेछन्, पानीहाँस डुबुल्की मार्नेछन् । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको उद्गम बिन्दुमा मानवनिर्मित दुई ठूला कृत्रिम ताल बनाउनेछ । तालबाट बग्ने पानीले सुन्दर बागमतीको सपना साकार पार्नेछ । यसका लागि एसियाली विकास बैंकले प्राधिकरणलाई आर्थिक सहयोग गर्नेछ ।

स्याटलाइट तीन सिटी: प्राधिकरण अबको १० वर्षभित्र काठमाडौं उपत्यकामा अत्याधुनिक स्याटलाइट सिटी निर्माणमा जुटेको छ । पहिलो चरणमा उपत्यकामा तीनवटा स्याटलाइट सिटी निर्माण हुनेछन् । पहिलो स्याटलाइट सिटी एक लाख रोपनी क्षेत्रफल, दोस्रो ३० हजार रोपनी र तेस्रो ४० हजार रोपनी क्षेत्रफल भएको जग्गामा निर्माण हुनेछ । पहिलो स्याटलाइट सिटी पाँच वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । दोस्रो र तेस्रो स्याटलाइट सिटी भने आठ वर्षभित्र निर्माण गरिनेछ । प्राधिकरणको यो महत्त्वाकांक्षी योजनालाई सरकारले बजेटमा समेटेको छ । पहिलो स्याटलाइट सिटीको डिपिआर तत्काल सुरु हुनेछ ।

१६ महिनापछि मेलम्चीको पानी: काठमाडौं उपत्यकाका घरघरमा १६ महिनाभित्रै मेलम्चीको खानेपानी पुग्नेछ । मेलम्ची खानेपानी विकास समितिका अनुसार ०७४ मा पानी उपत्यका भित्रिनेछ । सुरुङ खन्ने काम दु्रतगतिमा अघि बढेको छ ।

हालसम्म दुई किलोमिटर एक सय ८५ मिटर सुरुङ खनिएको छ । औसतमा प्रतिदिन ३० मिटर सुरुङ खन्ने काम भएको छ । समितिका अनुसार सुन्दरीजलदेखि सिन्धुघाँटीसम्मको सुरुङ सन् ०१६ मै सकिनेछ ।

अम्बाथान–सिन्धुघाँटीसम्मको सुरुङ ०१७ को फेबु्रअरीमा सकिनेछ । योजनाअनुसार काम अघि बढे सन् ०१७ को मेसम्ममा सुरुङ निर्माणको सबै काम सकिएर मेलम्चीको पानी काठमाडौं पुग्नेछ ।

व्यवस्थित यातायात तथा चक्रपथ: उपत्यकामा बन्ने तीनवटै स्याटलाइट सिटीमा ‘मास र्‍यापिड ट्रान्सफर सिस्टम’ निर्माण हुनेछ । प्रत्येक सडक व्यवस्थित हुनेछन् । सडकमा अत्याधुनिक तथा सुविधासम्पन्न यातायातका साधन मात्र सञ्चालन हुनेछन् ।  यातायात साधन सञ्चालनका लागि वैज्ञानिक तवरले रुट परमिटको व्यवस्था गरिनेछ । यसका लागि उपत्यकाका भित्री सडक चौडा गरिनेछ । निर्माणाधीन भित्री चक्रपथसमेत निर्माण सकिनेछ । चक्रपथ आठ लेनको हुनेछ ।

बीचभागमा बगैँचा र दुवै किनारमा ग्रिनरी बेल्ट निर्माण हुनेछ । ठाउँ–ठाउँमा ओभरहेड ब्रिज निर्माण तथा आवश्यक स्थानमा सब–वेको व्यवस्था गरिनेछ । यस योजनाकै कोटेश्वर–कलंकीसम्मको १० किमि सडक दु्रतगतिमा निर्माण हुँदै छ । कलंकी–बालाजुसम्मको सडकको डिपिआर तयार हुँदै छ ।

कहाँ कसरी गुड्नेछ मेट्रो रेल?  अध्ययनअनुसार उपत्यकाभित्र पाँच स्थानमा ‘मेट्रो रेल’को लेन निर्माण हुनेछ । पहिलो, दोस्रो र तेस्रो लेनमा गुड्ने रेलका लागि लिक ‘फ्लाई ओभर’मा हुनेछ । चौथो र पाँचौँ लाइमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिनेछ ।

पहिलो लाइनको रुट सातदोबाटो–पुल्चोक– त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म हुनेछ । दोस्रो लाइनमा चल्ने रेलको लिक कलंकी–कालिमाटी–माइतीघर–तिनकुने हुँदै एयरपोर्टसम्म हुनेछ तेस्रोको लिक भने चक्रपथ वरिपरि निर्माण हुनेछ । चौथो नम्बरको भूमिगत लिकमा चल्ने रेलको लिक स्वयम्भू–छाउनी–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–गौशाला–चाबहिल हुँदै बौद्धसम्म निर्माण गरिनेछ ।  पाँचौँ लिक धोबीघाट–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँ बजार हुँदै गोंगबुसम्म निर्माण गरिनेछ ।

प्रतिकिलोमिटर रेल्वे लिकको लागत साढे दुई अर्ब : कोरियन कम्पनीको प्रतिवेदनअनुसार प्रस्तावित तेस्रो लाइनको २८।५३ किमी रेलवे प्रतिकिलोमिटर दुई अर्ब ६३ करोड ९० लाख ७० हजार रुपैयाँमै तयार हुनेछ । चक्रपथको २८।५३ किमि रेलवे लिक ७५ अर्ब २९ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण हुुनेछ । प्रतिवेदनअनुसार लाइन नम्बर १ को निर्माण लागत ४२ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ छ ।  लाइन नम्बर २ को ३६ अर्ब १९ करोड ९३ लाख, भूमिगत रूपमा सञ्चालन हुने लाइन नम्बर ४ को रेलवे लागत रकम ८१ अर्ब ७० करोड ६ लाख र लाइन नम्बर ५ मा ९४ अर्ब ४० करोड १९ लाख रुपैयाँ लागत लाग्नेछ । रेलवे निर्माणको कुल बजेट भने तीन खर्ब ३० अर्ब ४५ करोड रुपैयाँ अनुमान गरिएको छ । नयाँ पत्रिका दैनिकबाट