बुधबार, बैशाख १२, २०८१

दलितको कार्यक्रममा सिडिओ नआएपछि

भरतपुर ज्येष्ठ २१  नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दसौँ वर्ष प्रवेशका अवसरमा शुक्रबार जिल्ला विकास समितिको सभाहल Captureभरतपुरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनले विचार गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई निम्ता गरिएको थियो । दुई घण्टासम्म कुर्दासमेत प्रजिअ सिंह कार्यक्रममा नआएपछि आयोजकले दलित वर्ग समन्वय समितिका उपाध्यक्ष मीनबहादुर विश्वकर्मालाई प्रमुख अतिथि बनाई दिउँसो एक बजेतिर कार्यक्रम सुरु गरे । प्रमुख अतिथि विश्वकर्माले राष्ट्र छुवाछुतमुक्त भएपनि जनता हुन नसकेको बताए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य चक्र रुचालले कार्यक्रममा प्रजिअ सिंहको अनुपस्थितिप्रति खेद व्यक्त गरे । ‘प्रमुख अतिथि नपाएर प्रमुख जिल्ला अधिकारीलाई बोलाएका होइनौँ’ उनले भने, ‘हामी दलितका कुरा सरकारी मान्छेलाई सुनाउन उहाँलाई बोलाएका थियौँ, तर उहाँ हाम्रो कार्यक्रममा आउनु भएन ।’ समाजका जिल्ला अध्यक्ष विजयकुमार विश्वकर्माले राज्यको घोषणालेमात्र छुवाछुत कम नहुने बताए ।  दलित मुक्ति मोर्चा नेपालकी केन्द्रीय सदस्य रुपा सुनारले मान्छे भएर जन्मिँदा पनि जन्मजात अछुत भन्ने चलन अझै देशबाट हराउन नसकेको चर्चा गरिन् । जातीय मुक्ति समाज चितवनकी सहसचिव ज्योति सुनारले कार्यक्रममा सिडिओ नआएर आफूहरुलाई केही फरक नपर्ने बताइन् ।

आयोजक समितिका अध्यक्ष भीमबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न गोष्ठीमा दलित नेताहरु गोविन्द विश्वकर्मा, सहदेव विश्वकर्मा, खेमबहादुर दर्जी, कृष्ण वयलकोटी, मीनबहादुर थापा परियार, हरिबहादुर परियार, विनोद विश्वकर्मा, बाबुराम प्यासीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।