शुक्रबार, बैशाख १४, २०८१

विद्यार्थी आन्दोलन प्राविधिक शिक्षाको लागि हुनुपर्नेमा पूर्व अर्थमन्त्री पाण्डेको जोड

चितवन ज्येष्ठ  १, नेकपा एमाले स्थायी समितिसदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले धेरै जोखिम मोल्दै विद्यार्थी आन्दोलन अगाडि बढेको स्मरण गर्दै हरेक विकृतिको विरुद्धमा विद्यार्थीले आवाज उठाउनुपर्ने बताएका छन् । शनिवार ५२औँ विद्यार्थी दिवसको अवसर पारेर अनेरास्ववियू जिल्ला कमिटी चितवनले आयोजना गरेको कार्यकर्ता भेला एवम् क्यालेन्डर विमोचन कार्यक्रममा पाण्डेले विद्यार्थीहरुले गैर एजेन्डा लिएर राजनीति गर्न नहुने उल्लेख गरे । नेपालको महेशपुर सुस्ता मिचिएको बारेमा सुरुमा आन्दोलन चर्काउने अनेरास्ववियू भएकोले विद्यार्थीले इतिहास बिर्सेन नहुने पाण्डेले बताए । पुराना विद्यार्थी नेताहरुसँग छलफल गर्दै युवा विद्यार्थीहरुले नयाँ साँगठनिक रणनीति तयार पार्नुपर्नेमा पाण्डेले जोड दिए । वर्तमान शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको उल्लेख गर्दै पाण्डेले विद्यार्थीहरुलाई पठनपाठन क्षेत्रमा प्राविधिक शिक्षाको लागि आवाज उठाउन निर्देशन दिए । ज्ञान बेचेर व्यक्तिहरु धनी हुने गरेकाले अबको लगानी ज्ञान आर्जन गर्नमा हुनुपर्ने भएकाले अबको विद्यार्थी आन्दोलन प्राविधिक शिक्षाको लागि हुनुपर्ने पाण्डेको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवि ज्ञवालीले मुलुकको समृद्धिको क्षेत्रमा एमालेले महत्वपूर्ण खेल्दै आएको बताए । मुलुकमा आमूल परिवर्तन आएकाले अबको विद्यार्थी आन्दोलन समेत परिमार्जित हुँदै जानुपर्ने ज्ञवालीको भनाइ थियो । समाज परिष्कृत हुदै गएका बेला विद्यार्थीहरुको राजनीति समग्र राष्ट्रको उन्नति र प्रगतिलाई ख्याल गर्दै आधुनिक शिक्षामा जोड दिनुपर्ने ज्ञवालीले बताए । कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले क्रान्तिकारी इतिहास र भावनालाई समेट्दै अनेरास्ववियू अगाडि बढ्नुपर्नेमा जोड दिए । स्थानीय निर्वाचन हुन लागेको सन्दर्भ उल्लेख गर्दै थपलियाले एमालेको पक्षमा जनमत सिर्जन गर्नका लागि युवा विद्यार्थीहरु प्रत्येक समाजमा जानुपर्ने बताए । एमाले अखिलले सम्पूर्ण विद्यार्थीहरुलाई एकतावद्ध गर्दै शैक्षिक र सामाजिक विकृतिका विरुद्धमा जुट्नुपर्ने थपलियाको भनाइ थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी चितवनका अध्यक्ष देव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव विपिन पाठकले स्वागत मन्तव्य राखेका थिए ।