शनिबार, बैशाख ८, २०८१

भाग्य…..

300x300xgood-luck.jpg.pagespeed.ic.P5jPW6l6ns

भाग्य सबैको एउटै कहाँ हुन्छ र,
एउटै मसीले लेखेको निम्तो जस्तो,
जीन्दगानी एकनास कहाँ बग्छ र,
ईश्वरको मनपरी चल्ने लेखा जस्तो,
भाग्य सबैको एउटै कहाँ हुन्छ र ।

बाटा भरी लट्पटिएका फुलका लालि कसैका,
 चस्स चस्स बिझाउँने काँडा ठडिएका बाटा कसैका,
फुल सबैका नाममा कहाँ फुल्छन् र,
फुल अर्पण गरीने देउतालाई जस्तो,
हाँस्नलाई खुशी नै किन पर्खिनु पर्यो र,
एक निमेष अभिनय मैं हाँस्न पुगे जस्तो,
भाग्य सबैको एउटै कहाँ हुन्छ र ।

दिनमा घाम रातमा जुनको साथ कसैलाई,
जन्म देखि मृत्यु सम्म एकान्तको बास कसैलाई,
दिन सबैको आउँछ भन्ने कहाँ छ र,
मुठ्ठीमा काल साँच्ने बलवानलाई जस्तो,
बाँच्नलाई सुखकै तिर्सना किन पऱ्यो र,
हर पल दुख्ने घाउ एक पल नदुख्दा सुख पाए जस्तो,
भाग्य सबैको एउटै कहाँ हुन्छ र ।

– गौतम डंगोल “सन्देश”