बुधबार, बैशाख १२, २०८१

कर्मयोग भवन निर्माणमा योगदान गर्न आव्हान

बिर्तामोड ज्येष्ठ ३ ,  ‘रकम कम छ, सहयोग गर्ने मन छ’– तर यो अभियानमा कतै तपाइ छुट्नु त भएन ? रकम कम भएर पनि सामाजिक र मानवीय सेवामा समर्पित हुने चाहना राख्नेका लागि कर्मयोग भवन निर्माणमा योगदान गर्ने अवसर प्रदान गरिएको छ । हजारौं झापालीको थोरै रकमबाट करोडौं जुटाएर कनकाई माई पूर्वीतट कोटीहोममा निर्माण भइरहेको कर्मयोग (काजकिरिया गर्ने) भवनको दुई वटा ब्लकको पहिलो तलाको काम अन्तिम चरणमा पुगेको छ । असार मसान्तसम्ममा काम पूरा गरी साउनबाट उक्त भवनमा कर्मयोग शुरु गर्ने तयारीमा निर्माण समिति जुटेको छ ।
10सानो–सानो रकमबाट पनि ठूला–ठूला काम गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल समर्पण कार्यक्रम अन्तर्गत निर्माण गरिएको कर्मयोग भवनलाई पूर्णता दिन अहिले विभिन्न क्षेत्रबाट रकम जुटिरहेको छ । समितिले असार मसान्तसम्ममा भवनका लागि रकम समर्पण गर्न सकिने समय सीमा तोकेको छ । पहिले २००० तिरेर समर्पण अभियानमा सहभागीले ३१०० थप गर्ने र नयाँ सदस्य बन्नेले एकमुष्ठ ५१०० रकम समर्पण गरिरहेका छन् । ५१०० रुपैयाँ समर्पण गर्नेको नाम शीलालेखमा लेख्ने कार्य पनि भइरहेको समर्पण अभियान तथा कर्मयोग भवन निर्माण समिति संयोजक महेन्द्रकुमार गिरीले बताए । १० हजार जना बढीको सहभागिता जुटाएर भवनको उद्घाटन गर्ने र अहिले ७ हजार बढी सहभागी भएको बताइएको छ । कर्मयोग भवनलाई पूर्णता दिन कतारमा रहेका महेन्द्र चम्लागाईसहित विभिन्न मुलुकमा रहेका झापालीले समेत सहयोग जुटाइरहेको बताइएको छ । समितिले कर्मयोगका लागि प्रतिव्यक्ति दुई हजार पनि संकलन गरिरहेको र उनीहरुको नाम स्मारिकामा प्रकाशित गर्ने जनाइएको छ ।
नमूना पर्यटकीय क्षेत्र बन्दै गरेको कोटीहोममा ‘थोरै रकमबाट पनि नाम अमर रहने, लगानी र सेवा पनि पवित्र कामका लागि समर्पण हुने’ स्थान कर्मयोग भवन भएको संयोजक गिरी बताउँछन् । आम झापालीको लगानी र समर्पणमा बन्दै गरेको कर्मयोग भवन देशमै नमूनायोग्य काम हुने समितिको ठहर छ । धेरै पैसा हुनेले मात्र होइन थोरै रकम भएका मनकारीहरुले पनि समाजमा विशिष्ठ योगदान गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न अहिलेको मुख्य आवश्यकता परिपूर्तिका लागि कर्मयोग भवन बनाइएको बताइन्छ ।
कर्मयोग भवनमा के हुन्छ ?
जन्मनेको मृत्यु निश्चित छ । मृत्यु संस्कार बाँचेकाले पूरा गर्छन् । मानिस मरेपछि काजकिरिया गर्ने ठाउँको अभाव र मृत्यु संस्कार खर्चिलो बन्दै गएको बेला आधुनिक सुविधासहित कम खर्चमा काजकिरिया पूरा गर्ने सुरक्षित, पवित्र, व्यवस्थित ठाउँ कर्मयोग भवनमा हुन्छ । १० करोडको लागतमा क्रमागत रुपमा तीन ब्लकमा अतिथि आवास, पार्किङसहितको अत्याधुनिक सुविधा सम्पन्न कर्मयोग भवन निर्माणको योजना बमोजिम अहिले दुई ब्लकको पहिलो तला निर्माण पूरा हुन लागेको छ । साउनदेखि सञ्चालनमा ल्याइने ती ब्लकमा एकसाथ ४ परिवारले काजकिरिया गर्न सक्ने समर्पण अभियानमा सहसंयोजक प्रभाखर कडरिया बताउँछन् । निर्माण कार्यमा खटिएका कडरियाका अनुसार प्रत्येक परिवारका लागि पुरुष र महिला किरियापुत्री बस्ने अलग–अलग कोठा, पाहुना कोठा, किचन–डायनिङ, गरुडवाचन (कर्मकाण्ड) कोठा र शौचालय उपलब्ध हुनेछ । १०औं, १३औं दिनको कर्म अर्थात् शुद्ध्याईका लागि ठूलो हल पनि त्यही भवनमा रहनेछ । १ करोड ७६ लाख हाल निर्माणमा खर्च भइसकेको र अब ६५ लाख रुपैयाँ आवश्यक रहेको समितिले जनाएको छ । ५१०० तिरेर सदस्यता लिई शिलालेखमा नाम लेखाउने क्रम जारी रहेसँगै काम पनि द्रुत गतिमा अघि बढेको बताइएको छ ।
समर्पण अभियान तथा निर्माण समिति सदस्य लीला चिमरिया डेरामा बस्ने, साँघुरो घर जग्गामा बस्न बाध्यहरुका लागि कर्मयोग भवन सर्वोत्तम विकल्प भएको बताउँछन् । आँगन, करेसाबारी नहुने तथा फराकिलो चिनजान भएका परिवारका लागि समेत कर्मयोग भवन उपयोगी हुने चिमिरयाको भनाइ छ । निम्न र मध्यमवर्गका मानिसको सेवासुविधालाई ध्यानमा राखी बनाइको कर्मयोग भवनको महत्वबारे चिमरियाले अझ 11प्रष्टयाए– ‘मृत्युपछि दिवंगतको कनकाई तटमा अन्त्येष्टी गरी १३ दिनसम्म पवित्र कनकाईमै स्नान गरेर पीण्ड पनि पवित्र ठाउँमा समर्पण गर्दा किरियापुत्रीले पनि आफूलाई धन्य ठान्छन् ।’
शहरमा बाक्लिदो बसोबास, साँघुरिदो घर आगनका कारण काजकिरिया गर्न समस्यामा परेकाहरुका लागि कर्मयोग भवन अत्यन्त उपयुक्तसँगै खर्चका हिसाबले २०/२५ हजारमै सबै किरियाकर्म सम्पन्न गर्ने प्रणाली समितिले विकास गर्ने सह–संयोजक कडरिया बताउँछन् । संयोजक गिरीका अनुसार– कर्मयोग भवनसँगै समितिले शववाहन, स्वास्थ्य लगायतका आवश्यक सेवा समेत उपलब्ध गराइनेछ ।
समर्पणबाट यसरी बन्यो कर्मयोग भवन
समृद्ध समाजका लागि विकास निर्माणमा आम सहभागिता जुटाउन रकम कम भएर पनि सहयोग गर्ने मनकारी समेतलाई समेट्न समर्पणको अवधारणा ल्याइयो । सहारा नेपाल (साकोस) मुख्य आयोजक र अन्य ७० वटा झापाका प्रमुख सामाजिक संस्थाको सामुहिक आयोजनामा ०७१ साल बैशाख २६ गते कनकाई संरक्षणका नामबाट समर्पण राष्ट्रिय अभियान सञ्चालन गरिएको थियो । झापाका सम्पूर्ण सांसदले सामुहिक रुपमा उद्घाटन गरेको कार्यक्रममा जनही दुई हजार रकम समर्पण गरेर सर्वसाधारण, मन्त्री, सांसद, पूर्वराजासहित ५४२० जनाले सहभागिता जनाएका थिए । सामाजिक विकासको क्षेत्रमा क्रियाशील संस्थाको सामुहिक अभियानको रुपमा समर्पण अभियान सञ्चालन भएको हो । धार्मिक तथा ऐतिहासिक प्रसिद्ध कनकाई माईको सरसफाईसँगै कर्मयोग भवन निर्माण गर्ने अभिप्रायले सञ्चालन गरिएको अभियानले सामाजिक एकतासँगै भावनात्मक रुपमा समेत सबैलाई समेटेको अभियानका सदस्य रेडक्रस झापाका सभापति लोकराज ढकाल बताउँछन् । अभियानका संरक्षक झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले ०७१ पुस २८ गते भवनको शिलान्यास गरेका थिए ।
के हो समर्पण ?
झापाको एक बृहत साझा नमूना कार्यक्रम हो समर्पण । नेपालीहरुमा सामाजिक कार्य गर्नेतर्फ अग्रसरता बढिरहेको छ । कुनै न कुनै रुपमा सामाजिक कार्यमा अग्रसर भई मानवीय सहायताको क्षेत्रमा समर्पित हुनेहरुको संख्या उल्लेख्य बृद्धि हुँदै गएको छ । यस्ता कार्यका लागि कसैले व्यक्तिगत दान, दातव्य गरी तथा आफै ट्रष्ट स्थापना गरेर समेत ठूलो धनराशी खर्च गरी समुदायलाई योगदान पु¥याइरहेका छन् । तर, रकम कम भएपनि सामाजिक क्षेत्रमा योगदान गर्ने मन हुने हजारौं व्यक्तिहरुले सामाजिक कार्यलाई आर्थिक बोझिलो रुपमा नहेरी स्वतःस्फूत रुपमा आउने बातावरण तयार गर्न सानो–सानो रकम र श्रमलाई समेत सामुहिक रुपमा जुटाई सामाजिक क्षेत्रमा योगदान गर्ने कार्यक्रम नै समर्पण हो ।