काठमाडौं ज्येष्ठ ९, शनिवार अर्थात प्रत्येक बैशाख शुक्लपूर्णिमा र त्यसको भोलीपल्ट दुइ दिनसम्म बनेपाका नेवारी समुदायले मनाउँने प्रसिद्ध चण्डेश्वरीको जात्रा आज भव्यतापूर्वक सम्पन्न भएको छ। धार्मिक तथा एतिहासिक महत्व वोकेको चण्डेश्वरीको प्रस्तुत जात्राको पहिलो दिन
बिहान बनेपाका स्थानीयबासीले धिमे, नेखिऊ, छुस्याहा, पञ्चे बाजा लगायतका वाजागाजासहित चिराँग जुलुश गरेपछि जात्रा सुरु भएको मानिन्छ । त्यस्तै सोही दिन तीनधारामा परम्परा अनुसार भेडा बली दिएपछि रित्तो रथलाई हजारौ भक्तजनको सहभागितामा चण्डेश्वरी मन्दिर पुर्याइने परम्परा बोकेको जात्रामा पाग्रा नभएको रथलाइ ठाडो बाटोमा बोकेर नबिसाई लगेको दृष्य सबैका लागि आकर्षक बन्ने गरेको छ । विहानै देखि वाजागाजासहित रथ यात्रा गर्ने क्रममा हजारौ भक्तजन सहभागी हुन्छन् ।
जात्रामा काठमाण्डौ, भक्तपुर, ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट जात्राका लागि भक्तजन आउने गरेका छन् ।
जात्राको क्रममा रित्तो रथमा चण्डेश्वरीको मुर्ति राखेर वाजागाजासहित बनेपास्थित तीनधारा ल्याइएपछि पुजाआजा एवम् १४ वटा बोका बली दिने गरिन्छ ।
त्यस्तै जात्राको आकर्षण भनेकानो बली दिएको वोको मासु फालेपछि सिंग, कान, आँखा, वंगारा, जिब्रो भेटाउने भाग्यमानी हुने विश्वास छ । यही विश्वासका कारण कलनदानपछि उक्त बोकाको मासुका टुक्रा भेटाउनका लागि गरिने युवादेखि वृद्धसम्मको तँछाडमछाडढको दृष्य रोमाञ्चक मानिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रलाई विशेष जात्राको रुपमा लिइने गरिए पनि समग्रमा बनेपालीले दशैभन्दा ठूलो जात्राको रुपमा यो जात्रालाइ लिने गरेका छन् । जात्राको किवदन्ती अनुसार सत्ययुगमा चण्डासुर दैत्यले भगवान महादेवको तपस्या गरी शक्ति पाएर देवीदेवतालाई वध गर्न थालेपछि चण्डेश्वरी कुमारी भगवतीको रुपमा प्रकट भई चण्डासुर दैत्यलाई मारेको खुशीयालीमा चण्डेश्वरी जात्रा हुँदै आएको उल्लेख गरिएको छ ।
यसैवीच शनिवार भक्तपुरको चासुखेलमा भव्यरुपमा चण्डेश्वरी जात्रा मनाइएको छ । पूर्णिमाको एक दिन अगाडि अर्थात् हिजो चण्डेश्वरी द्योःछे अर्थात् देवताको घरबाट चण्डेश्वरीको मूर्ति निकाली सिँगारेर खटमा राखेपछि जात्रा सुरु गरिएको प्राप्त समाचारमा उल्लृख गरिएको छ ।
त्यस्तै शनिवारका दिन जात्रा गराई साँझ रितो खट जात्रा गरेपछि चण्डेश्वरी देवीलाई खटमा विराजमान गराई बाजागाजाका साथ नगरपरिक्रमा गराउने प्रचलन रहेको छ भने यसक्रममा खटलाई चण्डेश्वरी मन्दिर उकालोबाट टिबुक्छे, साकोठा, सुकुुलढोका, गोल्मढी, तचपाल, गोल्मढी, याता, गलासा पुखुलगायतका क्षेत्रमा लगेर पुनःचण्डेश्वरी मन्दिर फर्काएर जात्रा समापन गर्ने गरिन्छ ।