शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रिय जनसंघर्ष मोर्चाले शुक्रवार बृहत लाठी जुलुसको प्रदर्शन गर्ने

काठमाडौं चैत २५ , मुलुकमा शान्ति र स्थायित्व स्थापना गर्न राजसंस्थाको भूमिका आवश्यक छ भन्ने नारा सहित राष्ट्रिय जनसंघर्ष मोर्चाले बृहत सडक संघर्षको उद्घोष गर्दै चैत्र २६ गते शुक्रवार लाठी जुलुसको कार्यक्रम तय गरेको छ ।  बहुसंख्यक नेपाली जनताको सुझाव लत्याएर बन्द कोठाबाट केही दलका केही नेताले नेपाल र नेपालीमाथि संविधान लादेकै कारण देश अहिले नयाँ चरणको द्वन्द्वमा फस्ने खतरा देखिएकोले राष्ट्र निर्माणको गतिलाई सही मार्गमा फर्काउन विरोध स्वरुप शक्ति प्रदर्शन गर्न लागिएको बताइएको छ ।

त्यस्तै लाठी जुलुसमा संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र अखण्ड नेपालका पक्षपाती दल, समूह र व्यक्तिहरुको विशाल सहभागिता रहनेछ । युवाको उल्लेख्य सहभागिता र नेतृत्वमा संचालन हुने जुलुसको तयारी अन्तिम चरणमा पुगीसकेको र आन्दोलनको क्रम निर्णायक मोडमा प्रवेश गरेको राष्ट्रिय जनसंघर्ष मोर्चाका संयोजक श्याम तिमल्सिनालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै लाठी जुलुसमा राजसंस्था पक्षधर लगायत हिन्दू राष्ट्र नेपालमा आवश्यक भन्ने विभिन्न राजनीतिक दल, संघ संस्था, व्यक्ति विशेषहरु सहभागी हुनेछन् । जुलुस शान्ति बाटीकाबाट सुरु भएर भद्रकाली, न्यूरोड, असन हुँदै भोटाहिटीमा सम्पन्न हुने समाचारमा उल्लेख गरिएको छ ।