बिहिबार, चैत्र १५, २०८०

यस्तो थियो मुलुकमा नयाँ संविधान जारी हुँदाको वखत गरिएको ज्योतिषीय विश्लेषण

दीपक गुरु .-ज्यो. दीपक सुवेदी

दोस्रो संविधानसभा निर्वाचनभन्दा पूर्वको राजनीतिक क्षेत्रबाट निकास ननिस्कने ज्योतिषीय विश्लेषण नेपाल समाचार पत्र (२०६८ असार ९)मा र त्यस्तै भावको अर्को विश्लेषण अन्नपूर्ण पोष्ट (२०६९ पुस २८) मा दिएको थिएँ । परिणाम त्यतिबेलाको राजनीतिक संयन्त्रबाट निकास ननिस्किएर प्रधान न्यायाधीशको अध्यक्षतामा सरकार गठन भयो । सम्माननीय प्रधानन्यायाधीश खिलराज रेग्मीज्यूको अध्यक्षतामा बनेको सरकारले पनि चुनाव गराउन सक्ने वा नसक्ने शंकाका कुराहरू उठ्थे । खिलराज जीको सरकारले दोस्रो संविधानसभाको निर्वाचन गराउन सक्ने कुरा अन्नपूर्ण पोष्ट (२०७० असार २५) मा लेखेँ, सो पनि पूरा भयो ।

दोस्रो संविधानसभाको निर्वाचन पछि केही ज्योतिषीबाट सो संविधानसभाबाट पनि संविधान आउन नसक्ने धारणा आइरहेको बेला मैले धर्मलाई सम्बोधन गरेको खण्डमा दोस्रो संविधानसभाले संविधान दिनसक्छ भनेको थिएँ (कमाण्डर पोष्ट २०७० फागुन ११) । त्यस्तै २०७१ माघ ८ भित्र संविधान आउन नसक्नाको कारणहरूलाई दर्शाएर लेखिएको लेख इन्द्रेणी साप्ताहिकको २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका २०७१मा प्रकाशन भयो । संविधान आउँदा इन्द्रेणीको २६ औं वार्षिक स्मारिकामा मैले लक्षित गरेका सबै विषय समेटिएर भने आएको छैन तथापि प्रमुख विषयलाई समेट्न खोजिएको भान हुन्छ । संविधान घोषणाको मुहूर्तको ग्रह परिस्थितिलाई हेर्दा यो संविधानको भविष्य कस्तो हुने भन्ने विषयमा सन्देह छ ।

मेरो दृष्टिकोणमा मैले गरेका ज्योतिषीय विश्लेषण एवम् भविष्यवाणी जो सार्वजनिक रूपमा बाहिर आए, अहिलेसम्म घटेका घटनाक्रमले ती पूरा भएको मेरो बुझाइ रहेको छ । संविधानमा धर्मनिरपेक्ष शब्द नहटाएपनि परिभाषाको अनुसूचि राखेर सनातन धर्मलाई सम्बोधन भएको छ । ज्योतिष विज्ञानले देखाएको संकेत अकाट्य नै हुन्छ भन्ने प्रमाण हो त्यो । भलै ज्योतिषीले त्यसलाई अभिव्यक्त  तथा अर्थ गर्ने तरिका फरक–फरक हुनसक्छ र घट्ने घटना परकारान्तरको घट्न सक्छ । त्यस्तै नै भएको देखाउँछ अनुसूचिको परिभाषाले ।  संविधान जारी भएपछि धेरै महानुभावहरूले यो संविधानसँग जोडेर अबको भविष्यको बारेमा जिज्ञाशा राख्नु भएको छ र एउटा ज्योतिषीको नाताले नेपालको संविधान २०७२ को बारेमा आफ्नो बुद्धिविवेकले भ्याएसम्मको विश्लेषण दिन खोजेको छु ।

यहाँनिर एउटा ज्योतिषीको नाताले मैले संविधान जारी हुँदाको समयको कुण्डलीको आधारमा जे देखिन्छ अथवा मेरो बुद्धिविवेकले जे देख्छ त्यो राख्नुपर्छ । मेरो ज्योतिषीय दृष्टिकोणमा यो संविधान घोषणाको समयको ग्रहावस्था राम्रो देखिँदैन र त्यसले नेपालीको अपेक्षा पूरा गर्ने कुरामा शंका छ । भलै यस मामलामा मैले एउटा नेपाली नागरिक हुनाको कारणले पनि बनेको संविधानबाट देशको समुन्नति होस भन्ने चाहनु पर्छ । बरु मेरो ज्योतिषीय विश्लेषण गलत सावित होस र नेपाल–नेपालीको भविष्य कोर्न बनेको संविधान सफल होस भन्ने चाहनु पर्छ, त्यसमा नै मलाई सन्तुष्टि हुनेछ । तर, बनेको संविधानको ग्रहस्थिति राम्रो नदेखिएको कुरालाई पनि मैले यहाँ आफ्नो पेशागत धर्मबाट राख्नु पर्छ भन्ने मेरो बुझाई रहेको छ ।   नेपाली जनताको ठूलो त्याग–तपस्या र संघर्षको बलबाट बनेको संज्ञाप्राप्त नेपालको नयाँ संविधान २०७२ घोषणा हुँदा नेपाली आकाशको क्षितिजमा मीन लग्न उदाइरहेको देखिन्छ । कुण्डलीमा लग्नेश तथा दशमेश बृहस्पति द्वितीयेश तथा नवमेश मङ्गलसँग शनिको दृष्टिमा षष्ठम् भावमा गएर बस्नुले आत्मरक्षाभन्दा पनि शत्रुपोषक भएको देखिन्छ । यसले यो संविधानलाई आधार मानेर गरिने देशका हर कार्यहरूमा शत्रुको प्रभाव बढाउने छ । हुनलाई मङ्गल छैठौं हुनु, त्यसमाथि शनिको दृष्टिप्रभाव हुनु शत्रुहन्ता योग पनि हो । तथापि लग्नमा केतुको स्थिति र राहुको दृष्टि तथा शनि आदि पापग्रहको भूमिकालाई हेर्दा दुर्घटनाकारक योगको निर्माण भएको छ जसले राजनैतिक लगायतका आकस्मिक विभिन्न दुर्घटनालाई लक्षित गरिरहेको छ ।

चतुर्थेश एवम् सप्तमेश बुधले षष्ठेश सूर्यसँग बुधादित्य योग बनेपनि साथको राहुले ग्रहणयोग बनाएको पनि छ । जसले गर्नपर्ने शुभफलमा कटौती गरिदिने छ । वैदेशिक सम्बन्ध, यात्रा, व्यापार आदि क्षेत्रमा ग्रहण लाग्छ ।  पञ्चमेश नवम् हुनु सकारात्मक र कारक हो तर, शनियुक्त हुनाले राज्यमा मनोवैज्ञानिक तथा अदृष्य समस्या बढाउने हुन्छ । भय–त्रास, शंका–आशंका आदिले राज्यका अङ्ग–अङ्गमा प्रभाव पार्ने छ । तृतीयेश तथा अष्टमेश शुक्र पञ्चममा केतुको दृष्टिमा अकारक भएर रहनुलाई पनि शुभ मान्न सकिदैन, यसले रोगव्याधिको संकेत गर्छ ।

astrodeepakguru@gmail.com