शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस संसदीय दलका लागि उम्मेदवारी दर्ता पिछडिएको क्षेत्रतर्फ शाह निर्विरोध

काठमाडौ चैत २५, नेपाली काँग्रेस संसद्, संसदीय दल कार्यसमितिको शुक्रबार हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । काँग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एक÷एकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार विभिन्न आरक्षण १५ पदमा शुक्रवार बिहान ९ देखि दिउँसो १२ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

nc flageआज दर्ता गरिएको उम्मेदवारहरु मध्ये प्रदेश नं १ बाट दीपक खड्का र तारामान गुरुङ, प्रदेश नं २ बाट प्रेम किशोरप्रसाद साह तेली र तेजुलाल चौधरी, प्रदेश नं ३ बाट ध्यानगोविन्द रञ्जित र रामेश्वरप्रसाद ढुङ्गेलले उम्मेदवारी दर्ता गराउनुभएको छ भने प्रदेश नं ४ बाट कमलप्रसाद पङ्गेनी र रामचन्द्र पोखरेल, प्रदेश नं ५ बाट विक्रम खनाल र सञ्जयकुमार गौतम, प्रदेश नं ६ बाट तप्तबहादुर विष्ट र रीता शाही र प्रदेश नं ७ बाट दीर्घराज भाट र भरतबहादुर खड्काले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तैगरि समावेशीतर्फ आदिवासी÷जनजाति पुरुषतर्फ दुई पदका लागि आङ्टावा शेर्पा, तीर्थबहादुर लामा, झुलबहादुर आले र कञ्चनचन्द्र वादेको उम्मेदवारी परेको छ भने आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि ज्ञानकुमारी छन्त्याल, उषा गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ र पुष्पलता लामाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाना समितिले जनाएको छ ।

खसआर्य पुरुषतर्फ एक पदका लागि बुद्धिराम भन्डारी र राजेन्द्रकुमार केसी, खसआर्य महिलातर्फ दुई पदका लागि मधु शाही ठकुरी, गीता वाग्ले, चन्द्रादेवी जोशी र सारदा पौडेलले उम्मेदवारी दिनुभएको छ । मधेसी पुरुषतर्फ एक पदका लागि राम अयोध्याप्रसाद यादव, लालबाबु सिंह भुइहार, मधेसी महिलातर्फ दुई पदका लागि रश्मी ठाकुर, प्रमिलादेवी दास र कविताकुमारी सरदारले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास र बुद्धिसागर चौधरी, मुस्लिमतर्फ एक पदका लागि अब्दुल रज्जाक र अब्दुल हमिद सिद्धिकी, दलित पुरुषतर्फ एक पदका लागि नरभान कामी र खड्गबहादुर बस्याल, दलित महिलातर्फ एक पदका लागि आषा विक र कल्पना सोपले उम्मेदवारी दिनुभएको छ । यस मध्ये पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ ।