बुधबार, बैशाख १२, २०८१

मध्य मिथिला परिक्रमा जलेश्वरमा

  • मनोज झा / महोत्तरी , फागुन २९

गत फागुन २५ गतेबाट शुरु भएको मध्यमिथिला परिक्रमासंगै मिथिला विहारी अर्थात श्रीराम र किशोरीजी अर्थात सीताको डोला महोत्तरीको जलेश्वरमा आइपुगेको छ । मध्यमिथिला परिक्रमा कचुरी मठबाट भगवान श्रीराम र जनक जननी सीताको डोलासहित निस्किने IMG_123मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक तथा ऐतिहासिक यात्रा मानिन्छ । यो परिक्रमाको अवधि १५ दिनको हुन्छ ।

संभवतः धार्मिक आस्थाले भरिएको यति लामो पैदल परिक्रमा विश्वको सबैभन्दा ठूलो परिक्रमा हो, जहाँ ३ देखि ५ लाख मानिस १५ दिनसम्म डोला संगसंगै घुम्ने गर्दछ । नेपाली भूभागको ९० किलोमीटर तथा छिमेकी मुलुक भारतीय भूभागको ३० किलोमीटर गरी १ सय २० किलोमिटर दूरीको परिक्रमा श्रद्धालुभक्तजनले गर्ने परापूर्व परम्परा रहँदैआएको छ ।

१५ दिने परिक्रमा स्थलहरु हनुमान गढी भारतको कल्याणेश्वर र फुलहर, नेपालस्थित महोत्तरीको मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोखर, औरही, भारतका करुणा, विसौल तथा नेपालस्थित जनकपुरधाम र कचुरी आदि ठाउँ तीर्थालुहरुका लागि रात्री विश्रामस्थल अर्थात वासाका रुपमा रहेका छन् । डोलालाई जलेश्वर क्षेत्रमा प्रवेश गर्नुअघि स्व. परशुराम साह मिथिला परिक्रमा धर्म संस्थाको अगुवाइमा स्थानीयवासी, सामुदायिक प्रहरी लगायतले बाजागाजा लिएर स्वागत गर्न गएका थिए । मेलामा सुरक्षाकोलागि ६३ जना नेपाल प्रहरी र ६६ जना सशस्त्र प्रहरीका जवान खटाइएको दुवै सुरक्षा निकायले जानकारी दिएको छ ।