मङ्लबार, बैशाख ११, २०८१

पुस्तकहरु संकलन गरेर स्थापना दिवस मनाईयो

भरतपुर चैत १६, नेपाल पत्रकार महासंघ, चितवनले महासंघको ६१ औँ स्थापना दिवसका अवसरमा शाखा कार्यालयमा शुभकामना आदाप्रदानसँगै पुस्तकहरु संकलन गरेको छ । ‘एक सदस्य, एक पुस्तक’ अभियान सहित गत वर्ष ६० औँ स्थापना दिवसमा स्थापना गरिएको पुस्तकालयलाई थप वृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि पुस्तक संकलन गर्दै निरन्तरता दिईएको महासंघले जनाएको छ । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ आज मंगलबार चैत १६ गते आफ्नो स्थापनाको ६१ औं वर्षमा प्रवेश गरेकोे हो । चितवनका fgsdfgdgप्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले महासंघलाई पुस्तक हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।

पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पुस्तकालयले सहयोग गर्ने भएकाले यसबाट चितवनको नागरिक समाजले समेत फाइदा लिन सक्ने उनले बताए । स्थापना दिवसको कार्यक्रममा चितवनका पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध संघसंस्था र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील अगुवा संघसंगठनका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

स्थापना दिवसको सुखद् अवसरमा संसारभरि छरिएर रहेका नेपाली आमसञ्चारकर्मीहरूमा महासंघ, चितवन शाखाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै शाखामा पुस्तकहरु सँकलन गरेर रचनात्मक काम गरिएको शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए ।
मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारो हकहितका लागि अग्रजहरूले सुरु गरेको प्रयास अहिले सार्थक भएको अध्यक्ष पोखरेलको भनाई थियो । कार्यक्रममा पुस्तकालयका लागि महासंघलाई दियालो परिवारका अध्यक्ष बद्रि अधिकारीबाट २५ हजार र चितवन जिल्ला गैरसरकारी संस्था समन्वय समितिका अध्यक्ष श्रीप्रसाद वाडीबाट १० हजार रुपियाँ बराबरको पुस्तक प्राप्त भएको थियो । सिनर्जी एफ.एम प्रालि बाट प्राप्त एक थान दराज एफएमका प्रवन्ध निर्देशक सहनलाल प्रधानले आजै शाखा अध्यक्ष हरिप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए ।

महासंघका उपाध्यक्ष दिपेन्द्र बडुवालले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि श्रमजीवी पत्रकारको हकहित, लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघ रत्तिभर विचलित नहुने प्रतिबद्धता पनि सो अवसरमा व्यक्त गरे । कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका संयोजक एवम् महासंघका कोषाध्यक्ष होमनाथ सापकोटाले महासंघलाई सूचना केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले पुस्तकालयको सुरुवात गरिएको बताए ।

कार्यक्रममा राप्ती नगरपालिकाका कार्यकारी अधिकृत भागिरथ रेग्मी, खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकाल, चित्रवन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्याल, नारायणी नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदी, रत्ननगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सिताराम पोखरेललगायतले अबका दिनमा पुस्तकालयलाई व्यवस्थित गर्नुपर्ने र सञ्चारकर्मीहरुले आफ्नो पेशागत क्षमता अभिवृद्धितर्फ यसलाई उपयोग  गर्नुपर्ने बिचार व्यक्त गरेका थिए । महासंघले स्थापना दिवसका अवसरमा सुरु गरेको ‘एक सदस्य : एक पुस्तक’ अभियान पुस्तकालय सम्पन्न नभईञ्जेल जारी रहने महासंघले जानकारी दिएको छ ।