बुधबार, बैशाख १२, २०८१

आज रङको चाड -फागुपूर्णिमा’ मनाइदै

  काठमाडौ चैत्र ९, प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी भेगमा आज भव्यताका साथ मनाइँदैछ holi।  होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लामा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक आपसमा विनोदपूर्ण वातावरणमा विभिन्न रङ दलेर मनाउँने गर्छन ।

प्राचीन कालदेखि चलिआएको होली पर्वको अवसरमा स–साना बच्चादेखि वृद्धवृद्धासम्म सबैले रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गर्दछन् । त्यसो त होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा समेत लिने गरिन्छ ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा होली पर्व मनाइने गरिएको धार्मिक दस्तावेजहरुमा उल्लेख पाइन्छ । सरकारले  आज होली मनाइने ५४ जिल्लामा र  तराईका २१ जिल्लामा  भोली सार्वजनिक बिदा दिएको छ ।