काठमाडौ चैत्र ७, प्रधानमन्त्री केपी शर्मा ओली आज चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गर्नुभएको थियो ।
प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसद, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, पत्रकार र व्यापारीकका प्रतिनिधि पनि चीन प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको प्रतिनिनिधिमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
.यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका सिलसिलामा आज चीनतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोक्नुभएको छ । राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री गच्छदारलाई प्रधानमन्त्रीको प्रशासनिक कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।