शुक्रबार, चैत्र १६, २०८०

रुद्र–गौरी, अम्विका ओली प्रतिष्ठानद्वारा मोफसलमा सर्वाधिक राशीको चार पुरस्कार घोषणा

बिर्तामोड फागुन १५ , रुद्र–गौरी, श्री –अम्विका ओली प्रतिष्ठानद्वारा मोफसलको सर्वाधिक राशीको स्थापित पुरस्कार विभिन्न चार प्रतिभालाई प्रदान गर्ने घोषणा गरिएको छ । बिर्तामोडमा पत्रकार भेटघाटकावीच सो घोषणा गरिएको हो । रुद्र ओली स्मृति कृषि पुरस्कार, काठमाडौंका भोलामानसिंह वस्नेत, गौरादेवी आर्दश आमा पुरस्कार अछामकी मथुरादेवी कुँवर, अम्विका देवी ओली स्मृति साहित्य पुरस्कार कीर्तिपुरका प्राध्यापक मोहनराज शर्मालाई प्रदान गरिने भएको छ । तीनवटा पुरस्कारको राशी जनही रु एकलाख एक हजार एक सय ११ रुपैयाँ रहेको जानकारी दिईएको थियो ।

त्यस्तै देवी ओली स्मृति वाल पुरस्कार वाग्लुङका रिवाज श्रेष्ठलाई प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिदै उक्त   वाल पुरस्कारको राशी रु ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ ।  काठमाडौं निवासी वस्नेतलाई धानवाली उत्पादन बढाउन वायुमण्डलबाट नाइट्रोजन स्थिरिकरण गर्ने प्रविधिको विकास गरी कृषि क्षेत्रमा पु-याएको योगदानको कदरस्वरुप उक्त पुरस्कार दिन लागिएको बताइएको छ । त्यस्तै अछाम निवासी कुँवरलाई एचआइभी संक्रमित महिलाहरुको सशक्तिकरणमा पु¥याएको योगदान र कीर्तिपुर निवासी शर्मालाई नेपाली साहित्यको श्रीवृद्धिमा समालोचनाका क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उक्त पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताउनुभयो ।  यसैगरी वाग्लुङका श्रेष्ठलाई १३ वर्षको उमेरमा यान्त्रिक उपकरण निर्माण गरी सफल प्रयोग समेत गरेकाले उक्त कार्यको कदर गर्दै देवी ओली स्मृति वाल पुरस्कार प्रदान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पुरस्कार फागुन २२ गते प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच प्रदान गरिने प्रतिष्ठानका सदस्य नारायण ओलीले जानकारी दिनुभएको थियो । पुरस्कार उपप्रधान, वालवालिका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकाश मैनाली र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको आतिथ्यमा वितरण गरिने जनाइएको छ । त्यस्तै सोही दिन प्रतिष्ठानका संस्थापक स्व श्रीप्रसाद ओली र उहाँकी पत्नी स्व । अम्विका देवी ओलीको अर्धकद सालिक अनावरण समेत गरिने प्रतिष्ठानका सचिव यज्ञराज ओलीले जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । प्रतिष्ठानका सदस्य यज्ञप्रसाद ओलीले स्वागत गरेको कार्यक्रममा सल्लाहकार सरोज ओली, रोमनाथ ओली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, पूर्व अध्यक्ष कृष्ण हुमागाई लगायतले बोल्नुभएको थियो ।