बिहिबार, बैशाख १३, २०८१

काँग्रेस सभापति कोइराला निधनमा कसले के भने ?

काठमाडौ माघ २६ पूर्वराष्ट्रपति डा.रामवरण यादवले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा संघीय गणतन्त्र नेपालको संविधान जारी हुनु ठूलो उपलब्धि भएको बताएका छन् ।  नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर स्व। कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी गरेर प्राप्त उपलब्धिलाई कांग्रेसले कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताउँनु भएको छ ।

त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक व्यक्त गर्दै दुख व्यक्र गर्नु भएको छ ।

त्यस्तै गरि नेपाली कांँग्रेसका सभापति सुशील कोइरालाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको समवेदना सन्देशमा प्रधानमन्त्रीले निरङ्कुशताविरुद्ध लोकतन्त्रको स्थापनाका लागि उहाँले महत्वपूर्ण योगदान पु-याउनुभएको तथा संविधानसभामा काँग्रेसको सभापति र संसदीय दलका नेता एवम् प्रधानमन्त्रीको हैसियतमा निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको प्रशंसाका साथ स्मरण गर्दै जुनसुकै समस्याको पनि आपसी मेलमिलाप, सहकार्य र एकताबाट समाधान खोज्नुपर्छ भन्ने उहाँको विचारको हामी सबैले सम्मान गर्न सक्नुपर्ने बताउँनु भएको छ ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले कोइरालाका आकांक्षा पूरा गर्ने दायित्व आफुहरुको काँधमा आएको भन्दै दायित्व पूरा गर्ने मामिलामा नचुक्ने बताए । उनले कोइरालाको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्न काँग्रेसले मुख्य भूमिका निर्वाह गर्ने बताए । उनले कोइरालाको लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने स्वभाव तथा इमान्दारी र सादा जीवनबाट सबैले पाठ सिक्नुपर्ने बताउँनु भएको छ ।

त्यस्तै सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनबाट आपूm दुःखित भएको बताउनुभएको छ । सभामुख घर्तीले आज शोक वक्तव्य जारी गरी नेपालको लोकतान्त्रिक आन्दोलनमा नेता कोइरालाले निर्वाह गर्नुभएको अग्रणी भूमिका तथा संविधानसभाबाट संविधान बनाएर देशलाई शान्ति र प्रगतिको बाटामा अग्रसर गराउन उहाँले खेलेको भूमिका सधैँ स्मरणीय रहने उल्लेख गर्नु भएको छ । काँग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा समर्थकमा समवेदना व्यक्त गर्नुभएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले देशलाई ठूलो क्षति पुगेको बताउँनु भएको छ भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि कांग्रेस कार्यालय सानेपा पुगेर कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

त्यस्तै राप्रपा नपालका अध्यक्ष कमल थापाले नेपाली काँग्रेसका सभापति कोइरालाको निधनले आफु  र आफ्नो पार्टी स्तब्ध भएको बताउनुभएको छ । अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा संविधान निर्माणका क्रममा तत्कालीन प्रधानमन्त्री कोइरालाले पु-याउनुभएको योगदान सदा अविस्मरणीय रहने बताउँदै मुलुक संविधान कार्यान्वयनको चरणमा रहेका समयमा राष्ट्रलाई नेता कोइरालाको अभाव खड्कने उल्लेख गर्नु भएको छ ।

त्यस्तैगरि नेपाल उद्योग वाणिज्य महासंघले पनि आज विज्ञप्ति जारी गरी पूर्व प्रधानमन्त्री कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । जारी विज्ञप्तिमा कोइरालाको निधनको खबरले आफूहरुलाई स्तब्ध पारेको जनाउँदै लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिकामा रहेर असाधारण योगदान पुर्याएका कोइरालाको निधनबाट मुलुकलाई अपुरणीय क्षति पुग्न गएको उल्लेख गरेको छ