शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसका पूर्वमन्त्री, सांसद र केन्द्रीय नेता वडामै पराजित

-मधुसुदन भट्टराई / केही प्रभावशालीले पनि चुनाव हारे १३औँ महाधिवेशनअन्तर्गत १५ माघमा सम्पन्न कांग्रेस गाउँ र नगरको निर्वाचनको नतिजा धेरै नेतालाई अप्रिय भएको छ । लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका र प्रभावशाली पदमा पुगिसकेकाहरूलाई गाउँ र Congress_Mahadhibetaion_252294018नगरका कार्यकर्ताले असफल बनाइदिएका छन् । जिल्ला, केन्द्रको राजनीतिमा राम्रै प्रभाव बनाएका केही नेता, पूर्वसांसद र पूर्वमन्त्री महाधिवेशनसम्म पुग्ने भर्‍याङको रूपमा रहेको बुथ प्रतिनिधि हुनबाटसमेत वञ्चित भएका छन् ।

केन्द्रीय सदस्यले प्रस्तावक पाएनन्:  वर्तमान केन्द्रीय समितिका आमन्त्रित केन्द्रीय सदस्य केशव सिंहले गृहजिल्ला डडेलधुरामा क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गर्न प्रस्तावक र समर्थक नै पाएनन् । वरिष्ठ नेता शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा प्रस्तावक र समर्थक बस्ने नपाएपछि उनी उम्मेदवार नै बनेनन् । संस्थापनपक्षीय सिंहको प्रस्तावक र समर्थक नबस्न देउवापक्षीय नेताहरूले चेतावनी दिएको बताइन्छ । उनी कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन् । आमन्त्रित केन्द्रीय सदस्य बुथ समितिबाटै आउनुपर्ने प्रावधान कांग्रेस विधानमा छ ।

पूर्वमन्त्री र सांसद जो वडामै पराजित भए :०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा ऊर्जाराज्यमन्त्री रहेका चन्द्रसिंह भट्टराई कैलालीको क्षेत्र नं. १ मा पर्ने टीकापुर नगरपालिकाको वडामै पराजित भएका छन् । उनी कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । ०५६ को प्रतिनिधिसभामा कैलाली–१ की सांसद तथा ०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी सुशीला स्वाँर पनि टीकापुर नगरपालिकाको वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित भएकी छिन् । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका वेला ०५६ मा राष्ट्रिय सभाको सांसद बनाइएका हीरादत्त भट्ट पनि कैलालीमा वडाबाटै पाखा लागेका छन् । ०६४ सालको पहिलो संविधानसभामा समानुपातिकतर्फकी सभासद् उर्मिला थापा तनहुँको घाँसीकुवा गाविसबाट क्षेत्रीय प्रतिनिधिमै पराजित भएकी छिन् । ०४८ मा कञ्चनपुरबाट प्रतिनिधिसभाको सांसद जितेका गंगादत्त जोशी इकाइमै पराजित भए । उनी किसान संघका पूर्वसभापति हुन् । ०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट जितेका गंगाबहादुर कुँवर क्षेत्र नम्बर–१ को बुथमै पराजित भएका छन् । ०५६ मा बाँके–३ anup_20160129_37 anup_20160129_30बाट प्रतिनिधिसभा सदस्य जितेका कैलाशनाथ कसौधनले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी दर्ता गर्न नै पाएनन् । भवानीयापुर बुथ इकाइमा उनलाई उम्मेदवारी दर्ता गर्नै दिइएन । नेपालगन्ज–४ का बासिन्दा कसौधनले भवानीयापुरमा क्रियाशील सदस्यता सारेर क्षेत्रीय प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेपछि उनलाई कार्यकर्ताले रोकेका हुन् ।

पूर्वसभापति बुथबाटै हारे: ०४९ सालका बाँके सभापति ओमजंग राणा नेपालगन्ज उपमहानगरपालिको वडा नं. २८ को बुथ निर्वाचनमै पराजित भए । राणा ०४९/५४ र ०५६/५९ मा बाँके जिल्ला विकास समिति सभापतिमा निर्वाचित भएका थिए । ०४८ सालदेखि ०५६ सालसम्म दुई कार्यकाल दाङ कांग्रेसको सभापति भएका गेहेन्द्र गिरी अहिले तुल्सीपुर नगरपालिकाको सभापति बनेका छन् । उनी ०५६ सालको प्रतिनिधिसभामा दाङ–४ बाट निर्वाचितसमेत भएका थिए । बाँकेका पूर्वजिल्ला सभापति सनत रेग्मी नेपालगन्ज उपमहानगरपालिका वडा नं.८ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव पनि हुन् । देउवा प्यानलबाट कैलाली सभापतिमा दाबेदार हेम रावल कैलाली क्षेत्र नं.२ बाट पराजित भएका छन् ।

कोइरालाका पूर्वस्वकीय सचिव पनि पराजित: सभापति सुशील कोइरालाका पूर्वस्वकीय सचिव लक्ष्मण ढकाल मोरङको लेटाङ नगरपालिकाको वडाबाटै पराजित भए । उनले मोरङ सभापतिमा दाबी गरिरहेका थिए । जिल्ला सभापतिमा दाबी गरिरहेका इलामको वर्तमान कार्यसमितिका जिल्ला सदस्य होम दुलाल देउमाई नगरपालिका ६ मा क्षेत्रीय प्रतिनिधिमै पराजित भए । वर्तमान जिल्ला सभापति तथा सांसद केशव थापाले उनलाई सभापतिको उम्मेदवारका रूपमा अघि सारेका थिए । कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिक भएको वेला दाङ सभापति बनेका हरि रजौरे पनि क्षेत्रीय अधिवेशनमा नै पराजित भएका छन् । पछिल्ला महाधिवेशनहरूमा निरन्तर महासमिति सदस्य रहेका रजौरे १२औँ महाधिवेशनमा केन्द्रीय सदस्य लडेर पराजित भएका थिए । दाङ महिला संघकी पूर्वसभापति तथा अहिले कांग्रेस जिल्ला कार्यसमिति सदस्य रहेकी गीता शाह सौडियारबाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएकी छिन् । महिला संघ बाँकेकी सभापति नारायणी रूपाखेती नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएकी छिन् । कैलाली क्षेत्र नं.१ का क्षेत्रीय सभापति धीजराज रेग्मी क्षेत्रीय प्रतिनिधिमा पराजित भए । क्रियाशील सदस्यताको विषयमा असन्तुष्टि जनाउँदै कैलालीमा कांग्रेसको प्यारलल समिति बनाएका नेविसंघका पूर्वउपाध्यक्ष क्षितिज भण्डारी समर्थक र प्रस्तावक नपाएपछि क्षेत्रीय प्रतिनिधि बन्न पाएनन् । कास्कीमा जिल्ला उपसभापति विष्णु बास्तोला पोखरा उपमहानगरपालिका वडा नं. ९ मा क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । / नयाँ पत्रिकाबाट