काठमाडौ माघ २८ व्यवस्थापिका–संसद्को आज बसेको बैठकले सादा जीवन र स्वच्छ छविका सांसद एवम् काँग्रेस सभापति सुशील कोइरालाको असमायिक दुःखद निधन भएकोमा गहिरो शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख ओनसरी घर्तीले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई संसद्को आजको बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो । सभापति कोइरालाको गत सोमवार १२ः५० बजे ७७ वर्षको उमेरमा आफ्नै निवास महाराजगन्जमा निधन भएको थियो ।
त्यस्तै आज पारित गरिएको शोक प्रस्तावमा ‘२०४८ र २०५६ सालको प्रतिनिधिसभा सदस्य, २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट निर्वाचित सदस्य व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री कोइरालाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको व्यहोरा उल्लेख गरिएको छ । संसद्को अर्काे बैठक फागुन ४ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।