शुक्रबार, माघ २०, २०७९

मेरो स्मृतिमा सुशील कोइराला

ajअर्जुननरसिंह के.सी.
सांसद एवमं केन्द्रीय सदस्य, नेपाली काँग्रेस

नेपाली काँग्रेसका बहालवाला सभापतिको निधन हुनेमा बीपी र गिरिजाबाबुपछि सुशीलजी थपिनुभयो । उहाँको पार्थिव शरीर लाखौँ शुभेच्छुकहरूको उपस्थितिमा पञ्चतत्वमा बिलिन भइसकेको छ । २०१० सालदेखि राजनीतिमा सक्रिय रहेका ६२ वर्ष लामो राजनीतिका अथक यात्री सुशीलजीले, पार्टीका साथीहरू देशभरि तेह«ौँ महाधिवेशनमा दौडधूप गरिरहेको बेला आफ्नो लौकिक यात्रा मध्यरातमा बिसाएर परलोक महाप्रस्थान गर्नुभयो । सिङ्गो राष्ट्र तथा नेपाली समाजले अपार श्रद्धा र कृतज्ञता जताउँदै उहाँको विदाई गरेको घटनालाई हामीले पार्टीभित्र शोकलाई शक्तिमा रुपान्तरण गर्न सक्नुपर्ने दायित्व छ । स्व. सुशील कोइरालालाई फगत ‘कोइराला वंशको विरासत थामेका उत्तराधिकारी’ वा २० महिना प्रधानमन्त्री र साडेपाँच वर्ष पार्टी सभापति भएको आधारमा मात्र चिनियो भने उहाँको त्याग, संघर्ष, निष्ठा, समर्पण र उदाहरणीय जीवनशैलीले निर्मित व्यक्तित्वको अवमूल्यन हुनसक्दछ । जहानीया शासनका बिरूद्ध हतियार उठाएको काँग्रेसभित्रै राजनीतिक वंश र अंशको जहानीया शैली र विरासतको कुरा चल्दा राजनेता गिरिजाबाबु र सुशीलजीको व्यक्तित्वमाथि अन्याय हुनपुग्छ । किनकि उहाँहरू ‘विरासत’ बाट होइन कर्मक्षेत्रमा जनता र कार्यकर्ताको समर्थनका साथ खारिएका र संघर्षले लोहा भरेका व्यक्तित्व हुनुहुन्थ्यो ।
12696081_10203934301996617_869909351_nसुशीलजीका बारेमा सम्झिने धेरै प्रसंगहरू छन् । कतै उहाँका डायरी पनि होलान् । तर भावी पुस्ता र इतिहासले सम्झिरहने उहाँको सबभन्दा ठूलो योगदान संविधानसभालाई संविधान दिन सक्षम बनाउने भगीरथ प्रयत्नको संयोजन गर्नु नै थियो । अघिल्लो संविधानसभा सत्ताको खेल र काँग्रेसलाई सत्तामा जानबाट निषेध गर्ने गतिविधिमै बित्यो । दोस्रो संविधानसभा गठन भएपछि उहाँले उदार र लचिलो भएर आफ्ना प्रयास जारी राख्नुभयो । उहाँको उदारतालाई कतिपयले कमजोरी पनि ठाने । उहाँ लचिलो हुनुहुन्थ्यो, तर आफ्ना मूल्य–मान्यतामा सशक्त अडान राख्ने खालको पनि हुनुहुन्थ्यो । सर्वत्र हतारको मनोविज्ञान व्याप्त रहेको बेला सुस्त र ढुक्कसँग पाइला चाल्नेहरू आलोचनाको पात्र हुनसक्छन् । तर मान अपमानको परवाह नगरी उहाँ संविधान बनाएर जारी गर्ने ‘अर्जुन दृष्टि’ मा लागिरहनु भयो । आफ्नो प्रिय भाई डा. अरुणको निधन भएको अवस्थामा पनि उहाँले संविधान बनाउने संयोजनकारी भूमिकामा जुट्न छोड्नु भएन ।
इतिहासले देखेको छ, विशेषगरी पार्टीका साथीहरूले मूल्याङ्कन गर्दै गर्व गर्नुपर्छ । ०१५ सालको पहिलो संसदीय संविधान जारी गर्दा पार्टीका नेता सुवर्णजी मन्त्रिपरिषदको अध्यक्ष हुनुहुन्थ्यो । २०४७ को संविधान जारी गर्ने सर्बोच्च भूमिका (प्रधानमन्त्री) मा काँग्रेसका सभापति किसुनजी हुनुहुन्थ्यो, भने अन्तरिम संविधान जारी गर्दा पार्टी सभापति गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । नेपालको संविधान २०७२ ले सुशीलजीलाई त्यही स्थानमा पु¥यायो । नेपाली काँग्रेसका लागि यी अवसर ऐतिहासिक गौरबका विषय हुन् । संविधानसभाबाट संविधान जारी गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने श्रद्धेय व्यक्तित्वको नाम कृतज्ञ राष्ट्रको इतिहास र नयाँ पुस्ताको स्मृतिबाट हराउँदैन । इतिहास र भावी पुस्ताको त्यस्तै श्रद्धा पाउने सत्पात्रका रुपमा नेपाली काँग्रेसका सभापति सुशीलजीको नाम आइरहने छ । यसले नेपाली काँग्रेसलाई गौरब र प्रतिष्ठा दिलाएको छ, त्यस्तो प्रतिष्ठा, जसको सरोकार जनतासँग गाँसिएको छ ।
आफ्नो निधन (९ फेब्रुअरी) को ठीक दुई वर्षअघि ११ फेब्रुअरी २०१३ का दिन सुशील कोइराला दोस्रो संविधानसभा निर्वाचनद्वारा नेपाली काँग्रेस एकल ठूलो पार्टीको रुपमा आएपछि मुलुकको ३८ औँ प्रधानमन्त्री बन्नुभयो । त्यो बेला सञ्चार माध्यमहरूले ल्याटिन अमेरिकी मुलुक युरुग्वेका समकालीन राष्ट्रपति जोसे अल्बर्टो म्युजिकाभन्दा पनि विश्वकै निर्धन र सादगीपूर्ण जीवनशैली भएका कार्यकारी प्रमुखका रुपमा संसारभरि उहाँको चिनारी पु¥याएर नेपाली काँग्रेसलाई गौरवान्वित बनाएका थिए । सुशीलजीबारे एक माओवादी मित्रले मसँग भने, ‘हाम्रो राजनीतिक सिद्धान्त हो, निजी सम्पत्तीको अस्तित्व हुनुहुँदैन । तर यसलाई हामीले ब्यवहारमा लागु गर्न सकेनौँ, बुर्जुवा वर्गस्रोतका नेता सुशीलजी लगायत तपाईँको पार्टीका सबैजसो सभापतिहरूले यस्तो अभ्यास आफ्नो जीवनकालमै गरेर देखाउनु भयो । सुशीलजीको राजनीतिक मान्यता, निजी सम्पत्ती भनेको व्यक्तिको मौलिक अधिकार हो । तर निजी सम्पत्ती जोड्ने अभ्यास उहाँले कदापि गर्नुभएन हामीले पो त्यसो गर्न पुग्यौँ ।’
हो पनि । सुवर्णजीबाहेक काँग्रेसका कुनै पार्टी सभापतिको राजधानीमा आफ्नै (निजी) निवास भएन, न त उहाँहरूका नाममा बैंकमा खाता वा अन्य चल–अचल सम्पत्ती नै । धेरै वर्ष सुख–दुखको साथीका रुपमा सहकार्य गरेको र उहाँका राजनीतिक सफलतामा सहयोग पु¥याएको कारणले मलाई थाहा छ, पार्टीको महामन्त्री वा उपसभापति हुँदा समेत सुशीलजीको खल्तीमा हजार–पाँचसयको नोट बिरलै हुनेगथ्र्याे । तर उहाँले त्यतातिर कहिल्यै ध्यान दिनुभएन मात्र होइन, अर्थ संग्रहमा उहाँ कहिल्यै अल्मलिनु भएन, बरू हामी नजिकका साथीहरूलाई भन्ने गर्नुहुन्थ्यो । सुख–दुःखका ती दिनमा जोजो उहाँको साथमा रहेर सहयोग गरे, उहाँको सुख–दुखमा साथै रहेका लक्ष्मण ढकाललाई राम्रो थाहा छ ।
सुशीलजीसँग मेरो पहिलो भेट पार्टी प्रतिबन्धित भएको अवस्थामा बनारसमा प्रजातान्त्रिक समाजवादी युवा लीगको सम्मेलनका सिलसिलामा भएको थियो । काठमाडौँ फर्केपछि, खासगरी ०४७ सालपछि उहाँसँगको सम्बन्ध बाक्लै भयो र सम्बन्ध अत्यन्त घनिष्ट हुँदैगयो । उहाँ नेपाली काँग्रेसको महामन्त्री, त्यसपछि उपसभापति र कार्यबाहक सभापति हुँदा निकटतम् साथीको रुपमा उहाँलाई मेरो तर्फंबाट पूर्ण साथ–सहयोग रह्यो । माओवादीसँग भएको १२ बुँदे सहमतिअघि रोल्पा जाने क्रममा हामीले माओवादीबाट एकसाथ हमला भोग्यौँ । गिरिजाबाबुसँग माओवादीले बढाउँदै लगेको सम्बन्ध र समझ्दारी काँग्रेसका प्रति कतिसम्म इमानदारीपूर्ण छ भनी जाँच्ने कसीको रुपमा उहाँ लगायत म ‘माओवादीको गढ’ मानिएको रोल्पा गएर पनि हेरौँ भनी आपूm चढेको मोटरमा झन्डा राखेरै हामी रोल्पा जाँदा माओवादीको अनेक प्रकारका हमला भोग्नेमा हामी एकसाथ थियौँ । पछिल्लो जनआन्दोलनका क्रममा तत्कालीन महामन्त्री (पूर्वराष्ट्रपति) रामबरणजी, सुशील कोइराला र ममाथि काठमाडौँमा भएको सांघातिक आक्रमण हामीले एकैसाथ बेहो-यौँ ।
०५९ देखि ४ वर्षसम्म ७ दलको संयुक्त जनआन्दोलन संयोजन समितिमा नेपाली काँग्रेसको तर्फबाट संयोजकको नाताले र पछिल्लो १९ दिने जनआन्दोलनमा म जनआन्दोलन काठमाडौँ उपत्यका संयोजक भएर कार्यरत रहँदा भूमीगत तरिकाले सुशीलजीसँगै निरन्तर सम्पर्कमा काम गरियो । उहाँको नैतिक मान्यता र सादगीमा उहाँलाई अग्रगति दिने अत्यन्त ठूलो उर्जा थियो ।

उहाँ अविवाहित हुनुहुन्थ्यो । त्यसो त नेपाली काँग्रेस अविवाहितहरूको ठूलै जमात भएको पार्टी भएकोले उहाँको नाम लिँदा म अन्य अविवाहित साथीहरूलाई पनि सम्झिन पुग्छु, जसले सुशीलजी जस्तै ऐतिहासिक नेता बन्ने सम्भावना बोक्नुभएको छ । स्व. सुशीलजी, स्व. किसुनजीलगायत, स्व.शैलजाजी, रामहरि जोशीजी, प्रदीप गिरि, मैयादेवी श्रेष्ठ, पी. एल. सिंह, लगायत पार्टी र राजनीतिमा सक्रिय रहँदा बिहे गर्न बिर्सेका वा नभ्याएका यस्ता अन्य धेरै साथीहरू काँग्रेसमा हुनुहुन्छ । अग्रज नेताहरू सुशीलजीलाई विवाह गर्ने सल्लाह दिनुहुन्थ्यो । घनिष्ट साथीको नाताले म पनि बारम्बार उहाँलाई बिहे गर्ने सुझाब दिन्थेँ । उहाँ ठट्टा गर्दै भन्नुहुन्थ्यो, “म पनि विवाहित हुँ, कहाँ तपाईँहरू अविवाहित देख्नुहुन्छ यार ? मैले डेमोक्रेसीसँग विवाह गरिसकेको छु ।….”
उहाँको अचानक निधनको खबर पाउँदा म पार्टीको अधिवेशनको सिलसिलामा गृहजिल्ला नुवाकोटमा निद्रैमा रहेछु, सपना हो कि बिपना, द्विविधा भयो । तर यो निधन दुःखद भए पनि निर्विवाद हुनुपथ्र्यो । कार्यकर्ता साथीहरूको पंक्तिबाट आज प्रश्न उठिरहेको छ, पार्टी सभापति सुशीलजीको निवासभन्दा ३ किलोमिटर दूरीभित्र प्रख्यात चिकित्सक र अत्याधुनिक उपकरणले सुसज्जित अस्पतालहरू हँुदाहुँदै उहाँको नाजुक स्वास्थ्यस्थितिको अवस्थालाई ‘राजनीतिक गोपनियताको महत्वमा राखेको’ भन्ने टिप्पणी र प्रतिक्रिया उत्पन्न हुने अवस्था किन सिर्जना गरियो ? प्रधानमन्त्री भइसकेका, सबभन्दा ठूलो पार्टीका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता सिकिस्त बिमारी हुँदा पनि राज्यलाई उचित जानकारी गराउन किन उदासिनता देखाइयो ? पार्टीभित्र मात्र होइन, समाजमा यस्ता प्रश्न ब्यापक रुपमा उठेका छन्, जसको आधिकारिक रुपमा सत्यतथ्यद्वारा जनता र कार्यकर्ता सुसूचित हुने अधिकार राख्दछन् । उहाँसँग धेरै वर्ष सँगसँगै काम गरेका रोचक, मार्मिक र अविष्मरणीय सन्दर्भ र विषय मसँग धेरै छन्, जसको उल्लेख सीमित स्थानमा हुनसक्दैन, यथास्थानमा गरौँला । तर पार्टीको बाह«ौँ महाधिवेशनताका भए–गरिएका प्रतिबद्धता र पार्टी सञ्चालन तथा सरकार गठन र त्यसको सञ्चालन शैलीको विषयलाई लिएर उहाँसँग मेरो नीतिगत मतभेद हुँदैआएको यथार्थलाई म लुकाउन पनि चाहन्न । त्यो मतभेद विशुद्ध नीतिगत र पार्टी संगठनका बारेमा थिए, हाम्रा व्यक्तिगत वा निजी सन्दर्भका कुरा थिएनन् । त्यसैले उहाँसँगको सान्निध्य र सहकार्यमा पछिल्लो कालखण्डमा आएर केही कमि आएकै हो । अब उहाँ हामीबीच हुनुहुन्न । उहाँ देश र आफ्नो पार्टी नेपाली काँग्रेसलाई अविष्मरणीय योगदान दिएर विदा हुनुभएको छ । एक घनिष्ट सहकर्मीको नाताले पार्टीका आदरणीय सभापतिको यस निधनमा उहाँप्रति हार्दिक श्रद्धान्जली तथा आत्माको चीर शान्तिको प्रार्थना गर्दछु ।