काठमाडौं फागुन ११, नेपालमा रहेका स्थानीय जातका काठे गाई लोप हुन थालेकोमा चिन्ता व्यक्त गर्दै ती गाईको संरक्षण गर्न गौ सेवा कोष स्थापना गर्नुपर्ने माग राख्दै नेपाल सरकारलाई वैद्यराज दीपक सुवेदीले अनुरोध गरेका छन् । विभिन्न दृष्टिकोणबाट नेपालका स्थानीय (काठे) गाईको महत्त्व विशेष भएको कुरा दर्शाउँदै धार्मिक एवम् सांस्कृतिक दृष्टिमा गाईको विशेष महत्त्व रहनुको पछाडिको वैज्ञानिकता स्वास्थ्य, कृषि, इन्धनलगायतका विभिन्न विषय र पक्षमा यो जातका गाईबाट प्राप्त हुने दुध, दही, घ्यू, मलमुत्र आदि र ती पदार्थबाट निर्माण गर्नसकिने औषद् एवम् अन्य सामाग्रीको अत्यन्त ठूलो उपयोगिता रहेको तथ्य प्रमाणित भएको, धेरै अध्ययन तथा अनुसन्धानले पनि नेपालको स्थानीयस्तरमा पाइने यस्ता गाईबाट प्राप्त हुने दुध एवम् मलमुत्रबाट तयार हुने पदार्थ स्वास्थ्यलगायतका धेरै पक्षमा मानव जनजीवनको लागि अतुलनीय रूपमा उपयोगी भएको पुष्टि गरेको जस्ता कुरालाई प्रकाश पार्दै वैद्यराज सुवेदीले सोमवार स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीमार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै एक पत्र दर्ता गराएका हुन् ।
स्वास्थ्य लगायतका आधुनिक विज्ञानको शोध–खोज र अध्ययनले पनि अन्य गाईको तुलनामा यी गाईको विशेषता छुट्टै र महत्त्वपूर्ण रहेको प्रमाणित गरेको, अन्य गाई र भैंसी आदिको दुधादि द्रव्यमा भन्दा यस्ता नेपालका स्थानीय गाईको दुध, दही, घ्यू, मुत्र र मलमा आकाश धर्तीको फरक रहेको र यो जातीको गाईको दूधादिमा भएको पौष्टिकतत्त्वको अरु कुनै पनि जातकोसँग तुलना हुन नसक्ने सो पत्रमा उल्लेख छ । ॐ आयुर्वेद आरोग्यशालाका वैद्यराज दीपक सुवेदीले सो पत्रमा गोमुत्र तथा पञ्चगव्यको औषधीय प्रयोग अहिले विकसित मुलुकहरूले नै गर्न लागिसकेको र पश्चिमी कुनै देशले गोमुत्रबाट बनाइने औषधिको पेटेन्ट राइट लिइसकेको जानकारीलाई समेत उल्लेख गर्दै ‘अन्य कुनै पनि औषधिबाट निको हुन नसकेका अर्बुद ९क्यान्सर० लगायतका रोगमा गोमुत्रादी पञ्चगव्यको औषधीय प्रयोगले चमत्कारिकपूर्ण सफल परिणाम दिएको छ र त्यसलाई सबै चिकित्सा पद्धतिले स्वीकार गरीसकेको अवस्था छ ।
त्यस्तै पत्रमा कोषको स्थापना भएपछि सामान्य सरकारी नियम अनुसार कार्यालय सञ्चालन एवम् न्यूनतम् कर्मचारी आदिको स्वभाविक खर्चबाहेक कोषलाई आफ्नो कार्य सञ्चालन गर्न नेपाल सरकारको ढुकुटीबाटै खासै बजेटको आवश्यक नपर्ने समेत जनाइएको छ । कोषले आफै उपर्युक्त कार्यलाई कार्यान्वयन गरी सङ्कलन गर्नसक्ने तथा बरु त्यसले राष्ट्रको ढुकुटी भर्न नै मद्दत गर्ने व्यहोरा समेत स्पष्ट पारिएको छ ।