बिहिबार, चैत्र १५, २०८०

यस्तो छ भक्तपुर कांग्रेस भित्रका तीन चरित्र

-जगत प्रजापति
महाअधिवेशनको तिथि जति नजिक आउँदैछ भक्तपुर कांग्रेसभित्र नेतृत्व हत्याउने दाउपेच र कसरत पनि उत्तिकै पेचिलो बन्दै गएको छ । नेताहरु नगरका वडा वडामा गोप्य भेला गर्ने र कार्यकर्तालाई आफुतिर आकर्षित गर्ने खेलमा व्यस्त हुन थालेका छन । प्रायः जसो सुनसान हुने दुधपाटीस्थित पार्टी कार्यालयमा अचेल नेताहरुको भिड लाग्न थालेको छ । पौष महिनाको चिसोमा पनि कांग्रेस भित्रको राजनीतिले बिस्तारै तापमान चढ्दै गईरहेको छ । आसन्न १३ औ महाधिवेशनको रौनकसंगै भक्तपुर कांग्रेसमा तीनथरी चरित्र देखा परेको छ । एक थरी सधै पार्टी कब्जा गर्ने र पार्टी कार्यालय वरिपरी दिन बिताउन रुचाउने चरित्रका छन । उनीहरु पार्टीको संगठन बलियो बनाउने, जिल्लाका हरेक Congress_Mahadhibetaion_252294018निकाय र तप्कामा पार्टीको पहुँच बलियो बनाउने, जनताका आवश्यकता र समस्याको समाधानमा भन्दापनि आफ्नै दुनो सोझ्याउन रुचाउँछन । दोस्रो थरी चरित्रमा जब पार्टी महाधिवेशन वा आमनिर्वाचन आउँछ तब पार्टीको पद हत्याउने र निर्वाचनमा टिकट दावी गर्दै पार्टी कार्यालय र भक्तपुर अस्पतालको चउर धाउने प्रवृत्तिका नेताहरु पर्दछन । उनीहरुलाई अन्य बेला पार्टीका कार्यक्रम र बैठकहरुमा आउने फुसर्द समेत हुँदैन तर केन्द्रका ठूला नेता आउने कार्यक्रम छ भने उनीहरुको उपस्थिती छुट्दैन । उनीहरुलाई कार्यकर्ताको भिड पनि चाहिँदैन । केवल आफ्नो पद जोगाउने र पार्टीको केन्द्रमा पहुँच बढाउन पाए पुग्ने खालका छन ।

त्यसैगरी तेस्रो खाले चरित्रमा पार्टीको संगठन बलियो बनाउने, युवाहरुको आकर्षण बढाउने र पार्टीका फोरम र निर्वाचनमा मास परिचालन गर्न सक्ने नेताहरु पर्दछन । यो चरित्रका नेताहरु पार्टीको नीति र विधि विधान भन्दा एक तह माथि बसेर कार्य गर्न रुचाउँछन । उनीहरु कार्यकर्ता र जनताका आवश्यकता पुरा गर्ने र पार्टीप्रति जनताको आकर्षण बढाउने, संगठनको बिस्तार गर्ने र पार्टी संगठन बलियो बनाउने सवालमा पार्टीको विधि विधान मिचेर पनि कार्य गर्न पछि हट्दैन । यी नै तिनथरी चरित्र मध्ये अहिले भक्तपुर कांग्रेसको नेतृत्व हत्याउने खेलमा दुईथरी लाईनको संघर्ष भईरहेको छ । पहिलो पार्टीमा परिणाम होईन काम गर्ने र दोस्रो काम भन्दा पहिले परिणाम खोज्ने । यी दुई लाईन संघर्षले नै अहिले भक्तपुर कांग्रेसमा क्रियाशिल विवाद देखिएको हो । जसले पार्टीको संगठन बिस्तारमा अवरोध आउने र निकट भविष्यमा हुन सक्ने स्थानीय निर्वाचनमा समेत गम्भिर असर पर्ने देखिन्छ । एक थरी क्रियाशिल वितरणमा उदार हुन सकेन । उनीहरुको अनुदार चरित्रले गर्दा पार्टीमा आवद्ध हुन चाहने सयौं युवाहरु क्रियाशिल सदस्यता लिनबाट बञ्चित हुनु पर्ने अवस्था सृजना भएको छ । उनीहरुले केन्द्रले भक्तपुरका लागि छुट्याएर राखेका फाराम समेत समयमा ल्याएर वितरण गर्ने जमर्को गरेन ।

अर्कोथरी क्रियाशिल वितरणमा ज्यादै उदार देखिए । उनीहरुले विधिसम्मत नेतृत्वलाई दवाव दिएर क्रियाशिल वितरण गर्नुपर्नेमा एक तह माथि उठेर आफैं केन्द्रमा जाने र फाराम ल्याएर वितरण गर्ने कार्य गरे । क्रियाशिल वितरणको मापदण्ड समेत ख्याल नगरी कहीँ कहीँ क्रियाशिल वितरण गरेको पाईएको छ । यी दुवैथरी अतिवादी सोच हुन । यसले पार्टीको संगठन बिस्तारमा अवरोध आउनुका साथै पार्टीको साखमा समेत आँच आउने वातावरण निर्माण भएको छ । भक्तपुर कांग्रेसको प्रमुख समस्या भनेको जिल्लाका नेताहरु केन्द्रीयस्तरमा पुग्न नसक्नु हो । स्व. जग्गनाथ आर्चायपछि कुनै पनि नेताले केन्द्रमा पहुँच बनाउन सकेको छैन । जिल्लाका सबै नेता केन्द्रका कुनै कुनै न नेताको पछि लाग्नु र उही नेताको गुनगान गाउने र उनले केन्द्रमा कुन गुट समाते त्यसैको पछि लाग्ने सिवाय अरु गर्न सकेको छैन ।
जिल्लाका पुराना जल्दा बल्दा नेताहरु लेखनाथ न्यौपाने, महेश श्रेष्ठ, गणेशमान चक्रधर, बाबुराजा जोशी, धर्मराज थापामगर, विनोद कायष्ठ, कविर राणा मदनकृष्ण श्रेष्ठ, सन्तोष भट्टराई, रामेश्वरप्रसाद ढुंगेल, मुरारीप्रसाद आचार्य, शंकर प्रसाद गौतम, राजनकाजी ट्वाँटी, भोला प्रसाद कुईकेल, दुर्लभ थापा, पुर्षोत्तम लामिछाने, महिला नेतृ रजनी जोन्छें लगायत कुनै पनि नेताले यसपटक म केन्द्रमा चुनाव लड्छु मलाई सहयोग गर्नुपर्छ भनेर भन्न सक्ने आँट गर्न सकेको छैन । खाली जिल्लामा मात्र बस्ने, पद ओगट्ने राजनीतिले कसरी पार्टीमा नयाँ र युवा पुस्ताले मौका पाउने ? कसरी पार्टीमा युवाहरुको आकर्षण बढ्ने र पार्टीको संगठन बलियो हुन्छ ? नेताहरुले मनन गर्न नसकेको हो की मनन गरेर पनि पदकै लागि चुप बसेका हुन बुझ्न सकिएको छैन । भक्तपुरका नेताहरुमा स्व. आचार्यपछि राधेश्याम जोन्छेंले केन्द्रमा एक खालको पहुँच बनाई राष्ट्रिय स्तरमा केही पहिचान बनाउन सफल भएका थिए तर दुभागर््य उनी माओवादीको निसानामा परे र उनको राजनैतिक जीवन नै तहशनहश बन्न पुग्यो । पछिल्लो समय तरुण दलको केन्द्रिय अध्यक्षका रुपमा राष्ट्रिय पहिचान बनाई केन्द्रको नीति तथा प्रशिक्षण विभागको सदस्यको रुपमा काम गरेपनि विनोद कायष्ठले त्यो अनुसार उचाई बनाउन नसक्दा उनी पनि केन्द्रीय सदस्यमा निर्वाचन लड्छु भन्ने मनस्थिती बनाउन सकेका छैन । त्यसैगरी गत १२ औं महाधिबेशनमा अपांग कोटामा केन्द्रिय सदस्यको निर्वाचन लडेर पराजित भएका मध्यपुर थिमि नगरपालिकका पूर्व मेयर मदनकृष्ण श्रेष्ठले पनि यसपटक केन्द्रमा निर्वाचन लड्ने नलड्ने निक्र्यौल गर्न सकेका छैन । उनी पनि जिल्ला सभापतिकै दौडाहामा लागेका छन ।

जिल्ला केही पुराना नेताहरुले केन्द्रमा निर्वाचन लड्न सक्ने क्षमता विकास गरेको भए सायद भक्तपुर कांग्रेस भित्र नेतृत्वका लागि यति धेरै हानथाप हुने थिएन होला । केही नेता केन्द्रका लागि तयारी गर्ने, केही जिल्लाको, केही क्षेत्रको र केही नगरको नेतृत्वतिर लागेको भए पार्टीभित्र विवाद कम हुनुका साथै संगठन पनि बलियो हुने र पार्टीको लोकप्रियता समेत बढ्ने थियो । दुर्भाग्य त्यसो हुन सकिरहेको छैन ।
जिल्लाका नेताहरुले अहिले अधिवेशनको दौड सँगै स्थानीय निकायको निर्वाचनलाई गम्भिरता पूर्वक लिन आवश्यक छ । किनकी सरकार मधेश आन्दोलनको सेटलमेन्ट सँगै स्थानीय निकायको निर्वाचन गर्ने तर्फ अग्रसर हुने निश्चित छ । त्यसको छनक गत हप्ता प्रधानमन्त्री के पी ओलीले स्थानीय निकायको निर्वाचनको तयार रहन कार्यकर्तालाई आव्हान गरेबाट पनि प्रष्ट हुन्छ । पार्टीको राजनीति भनेकै जनताको प्रतिनीधि भएर राज्यका विभिन्न निकायमा पुग्नु नै हो । निर्वाचनको रुपमा आउने यस्ता अवसर स्थानीय निकायको निर्वाचनले स्थानीय स्तरमा र आम निर्वाचनको रुपमा सरकार निर्माणको तहमा नेताहरुले अहिले पार्टीको पद हत्याउने र पार्टी कब्जा गर्ने उद्देश्यले अस्वस्थ प्रतिष्पर्धा गर्ने, एकले अर्काको अस्तित्व स्विकार नगर्ने हो भने भोलीका दिनमा हुने स्थानीय निकायको निर्वाचनमा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर पर्दछ । त्यसले निर्वाचनमा पार्टीको भूमिका कमजोर हुन जान्छ र अन्ततः पार्टीसँगै आफैंलाई ठूलो घात हुन सक्दछ । त्यसैले पार्टीको अधिवेशनलाई स्वस्थ प्रतिस्पर्धात्म बनाउने, पार्टीको जनमत बढाउने, पार्टी प्रति आम सर्वसाधारणको आकर्षण बढाउन सक्ने नेतृत्व अहिलेको खाँचो हो ।