शुक्रबार, चैत्र १६, २०८०

आजबाट नयाँ वर्ष २०१६ सुरु, प्रधानमन्त्रीबाट शुभकामना

काठमाडौं पौष १७,  नयाँ वर्ष २०१६ आजबाट शुरु भएको छ । नयाँ वर्ष आगमनको खुसीयालीमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाईंदै छ । नयाँ वर्षका अवसरमा आपसी शुभकामना आदानप्रदान गर्ने चलन छ । नयाँ वर्षको अवसरमा पर्यटकीय स्थलहरुमा Happy-New-Yearविभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गर्ने चलन छ । महोत्सवमा पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरुलाई आकर्षित गरिन्छ । विशेषगरी काठमाडौंको दरबारमार्ग, ठमेल, भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौरहालगायतका स्थानमा विशेष कार्यक्रम भइरहेका छन् ।

यसैबीच नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । उनले सन् २०१६ विश्व शान्तिका लागि सफल वर्ष हुन सकोस् भन्ने कामना गरेका छन् । नयाँ वर्षले सबै नेपालीबीचको हार्दिकता र एकतालाई अझै बलियो बनाउँदै संविधानले प्रत्याभूत गरेका अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन गर्न प्रेरणा प्राप्त होस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मुलुकमा अहिले देखिएका जटिलता र समस्या समाधान गर्दै मुलुकलाई आर्थिक समृद्धिका दिशामा अघि बढाउन सबैमा आह्वान समेत गरेका छन् ।

  यसै अवसरमा  www.kantipurhotline.com को तर्फबाट समस्त पाठकवर्ग तथा विज्ञापनदाताहरुमा  वर्ष २०१६ को शुभकामना व्यक्त गर्दछौं ।