शुक्रबार, बैशाख १४, २०८१

सन् २०१५ नेपाली प्रेस जगतको लागि उत्साहप्रद बन्न सकेनन : महासंघ

सन् २०१५ मा प्रेस स्वतन्त्रता हननका १३६ घटना
सन् २०१५ मा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था

काठमाडौ पौष १६, सन् २०१५ नेपाली प्रेस जगतको लागि खासै उत्साहप्रद नभएको नेपाल पत्रकार महासंघले जनाएको छ । त्यस्तै वर्ष २०१५ मानै गएको महाभूकम्प र परकम्पका कारण ‘गोरखापत्र’मा आबद्ध पत्रकार सुमन भोम्जनको काठमाडौँमा र ‘रेडियो प्लानेट’का कार्यक्रम प्रस्तोता सिर्जना लामा र ‘नेपालगन्ज’ दैनिकको व्यवस्थापनमा आबद्ध अच्युतराज सुवेदीको मृत्यु हुनुको अलावा एक हजार ८सय १३ पत्रकार र २६६ सञ्चारगृह प्रभावित भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

त्यस्तै त्यस्तै ३५ जना पत्रकारले नजिकको आफन्त गुमाए भने २० जनाका आफन्त घाइते भएको महासङ्घ अन्तर्गतको मिडिया अनुगमन एकाइको आज सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै प्रतिवेदनमा १ हजार १सय ५८ पत्रकारका घर पूर्ण रुपमा नष्ट भए भने धेरै पत्रकारको घरमा सामान्य क्षति पुग्यो । त्यसमध्ये सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रमा एक हजार ६१८ पत्रकार तथा सञ्चारगृह प्रभावित रहेको उल्लेख गरिएको छ । यसका वाजुद पनि महाभूकम्पका बेला विदेशी मिडियाले नेपालको भूकम्पलाई सनसनीखेज रुपमा प्रस्तुत गरेर आलोचनाका शिकार भइरहेको अवस्थामा नेपाली सञ्चार जगत र यसमा आवद्ध पत्रकारहरुले आफूमाथि परेको पीडालाई बिर्सँदै आमजनतालाई सुसुचित गर्ने आफ्नो कर्तव्यलाई कुशलतापूर्वक निर्वाहमा देखाएको कौशलको सबैतिर प्रशंसा भएको भन्दै महासंघको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै वर्ष २०१५ मा संविधानसभाबाट संविधान जारी हुँनु आफैमा सकारात्मक एवम् उपलब्धिपूर्ण पक्ष भएपनि संविधानका केही प्रावधानले भावी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने संभावनाप्रति सजग रहँदै र त्यसमा संशोधनको पहल जारी राख्दै महासंघले संविधानको स्वागत गरेको उल्लेख गरिएको छ । त्यस्तै यसवीचमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका १सय३६ वटा घटना घट्नु र यस मध्ये पनि करिब ८५ प्रतिशत (११४ वटा) घटना पछिल्लो मधेस आन्दोलनका क्रममा मात्र भएको मिडिया अनुगमन एकाइको  प्रतिवेदनमा जनाईएको छ । साथै प्रतिवेदनमा आन्दोलनका क्रममा आन्दोलनकारी र राज्य दुवै पक्षबाट पत्रकारमाथि आक्रमणका घटना ३३ , दुव्र्यवहारका २५ र धम्कीका ११ घटना भएको जिकिर गरिएको छ । त्यस्तै चार सञ्चारगृहमा भौतिक आक्रमणका घटना भए । त्यसैगरी यस वर्ष पाँच पत्रकारमाथि मानसिक यातनाका घटना, १२ जनामाथि ज्यान लिने उद्देश्यले आक्रमण, १३ पत्रकारलाई आफ्नो पेसाबाट वञ्चित गरिएको तथा काममा बाधा र पत्रपत्रिका वितरणमा बाधाका २२ घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिवेदनमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले वर्ष २०१५ नेपाली सञ्चार क्षेत्रका लागि धेरै सन्दर्भमा दुःखद् र चुनौतीपूर्ण रहेपनि महासंघ र मिडिया जगतले त्यसको सामना गर्दै अघि बढेको तथा कतिपय महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको उल्लेख गर्नुभएको छ । प्राकृतिक विपत्तिबाट तीन जना सञ्चारर्मी र शंकास्पद दुर्घटनामा अर्का एक जना पत्रकार गरी चार जनाको जीवन गुमेको, आन्दोलनको बेला पत्रकारमाथिका आक्रमण बढेका तर दण्डहीनताको अवस्था कायमै रहेको, स्वनियन्त्रण (सेल्फसेन्सरसीप) जारी रहेको, श्रमजीवी पत्रकार ऐनको उल्लंघन भैरहेको जस्ता दुःखद र अनपेक्षित अवस्थाको सामना गर्नु परेको उल्लेख गर्दै उहाँले पत्रकार बीमाको सुरुवातदेखि अन्य थुप्रै सकारात्मक पहल पनि यो अवधिमा भएको जनाउनुभएको छ । नयाँ वर्ष सन् २०१६ नयाँ अवसरका रुपमा आएको उल्लेख गर्दै अध्यक्ष विष्टले यो वर्ष नेपाली पत्रकारिता र सिंगो मुलुकका लागि सुखद् हुने विश्वास सहित हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ