मङ्लबार, बैशाख ११, २०८१

प्रमुख प्रतिपक्षदल काँग्रेस र नेमकिपाको अवरोधपछि आज पनि संसद बैठक स्थगित

काठमाडौ मार्ग २४, दिउँसो ३ बजेका लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक निर्धारित समय भन्दा करिव ४ घण्टापछि सुरु भएपनि   बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र मजदुर किसान पार्टीका सांसदको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको हो । आजको बैठकमा विधायन समितिका सभापति गङ्गा चौधरीले bicc-1-300x225 (1)भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयकको प्रतिवेदन व्यवस्थापिका–संसद्मा आज पेस गर्ने कार्यसूची थियो ।

तर सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ काँग्रेस र नेपाल मजदुर किसान पार्टीका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो ।  सभामुखले काँग्रेसका सासंद रमेश लेखकलाई बोल्न दिनु भएको समयमा सासंद लेखकले मुलुक अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेको र मधेस लामो समयदेखि आन्दोलनमा रहेका अवस्थामा अघिल्लो बैठकका लागि नै तय भइसकेको संविधान संशोधनको कार्यसूची किन हटाइयो भनी प्रश्न गर्दै संविधान संशोधनसम्बन्धी विषय कार्यसूचीबाट हटाइनुपर्नाका कारण सरकारबाट स्पष्ट जानकारी नआएसम्म बैठक चल्न नदिने घोषणा उहाँले गर्दै बैठक अवरुद्ध गर्नुभएको थियो ।  त्यसपछि सभामुखले प्रमुख प्रतिपक्ष दलले संसद्को बैठक अवरोध गरेका अवस्थामा बैठक चलाउन कठिन हुने भएको जनाउँदै शुक्रबार अपराह्न ३ बजे अर्काे बैठक बस्ने घोषणाका साथ बैठक स्थगन गर्नुभएको थियोे ।

यसअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारुढ, प्रमुख प्रतिपक्षी र मोर्चाबीच आज भएको संयुक्त बैठकमा मधेसी मोर्चाले अन्य सङ्घर्षका कार्यक्रम जारी रहेपनि भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयकलाई पारित गर्न सहयोग गर्ने भएको छ । लगातारको सदनको अवरोधका कारण ४० दिनदेखि सदनको बैठक प्रभावित हँुदै आएको अवस्थाका कारण संसद्को बैठकबाट विधेयक पारित हुन नसकेको अवस्था छ । त्यस्तै मोर्चाको प्रस्तुत अभिव्यक्तिको स्वागत गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मोर्चाले अवरुद्ध संसद् खोलेर भूकम्पसम्बन्धी विधेयकलाई पारित गर्न दिने निर्णयले सकारात्मक भएको बताउँनु भएको थियो ।