बिहिबार, बैशाख १३, २०८१

क्रियाशील सदस्यता विवादलाई ३ दिनभित्र टुङ्गो लगाउन निर्देशन

काठमाडौ पौष ६, गत बुधबादेखि जारी केन्द्रीय समितिको बैठकले नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनको तयारीको क्रममा आइतवारको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिलाई तीन दिनभित्र अन्तिम निर्णय गरी सभापतिलाई बुझाउन र सोहीअनुसार Nepali_Congressसभापतिले निर्वाचन समितिमा पठाउन निर्देशन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनसम्म चलेको बैठकले केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदनबारे टुङ्गो लगाउँदै यस्तो निर्णय गरेको हो ।

   आइतवारको बैठकमा बोल्नेमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शशाङ्क कोइराला, एनपी साउँद, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, रामकुमार चौधरी, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, कविताकुमारी सरदार वाँतर, मीनाक्षी झा, सुजाता परियार र डिल्लीराज रेग्मी, आमन्त्रित सदस्यहरू केशव सिंह, महेन्द्र शर्मा, कल्याणकुमार गुरुङ र नारायण कोइराला तथा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरू रमेश लेखक र रामकृष्ण यादवले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।