शुक्रबार, बैशाख १४, २०८१

भुकम्पका पिडित बस्नेतलाई कोरिया नेवा पुचःको आर्थिक सहयोग

काठमाडौं मार्ग १२, गत गत बैशाखको विनासकारी महाभूकम्पको क्रममा दुवै खुट्टा गुमाएका विद्यार्थी सन्देशलाई नेवापुचः दक्षिण कोरियाले दिव्यश्वरी सहयोगी हातहरु मार्फत आर्थिक सहयोग उपलब्ध गराएको छ । पुचःका अध्यक्ष कृष्ण मुस्यानको पहल र सक्रियतामा संकलित १ लाख ६८ हजार रुपैयाँ आज एक Help_Help[1]समारोह बिच बस्नेतलाई हस्तारण गरिएको हो ।
कार्यक्रममा दिव्यश्वरी सहयोगी हातहरुका अध्यक्ष सूर्यमान मुस्यानले रकम हस्तान्तरण गर्दै सामाजिक सञ्जाल फेसबुक मार्फत बस्नेतको अवस्थाका बारेमा जानकारी प्राप्त भएपछि कोरियामा रहेका भाई कृष्ण मुस्यानको पहलमा रकम संकलन गरिएको जानकारी दिनुभयो । दक्षिण कोरियामा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरुबाट प्राप्त नगद सहयोगलाई भूकम्प पीडित बनेका छात्र बस्नेतको शिक्षा र उज्ज्वल भविष्यका लागि सहयोग गरिएको अध्यक्ष मुस्यानले बताउनुभयो ।
कार्यक्रममा सहयोगी राजु श्रेष्ठले कोरियामा नै मजदुरी गर्ने सोलुखम्बु जिल्ला निवासीको समूहले बस्नेतलाई स्नातकसम्म अध्ययनका लागि मासिक एक हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गर्ने व्यवस्था गरेको जानकारी दिदै श्रेष्ठले गत असोज महिनादेखि तिन महिनाको रकम बस्नेतलाई प्रदान गरिसकेको जानकारी दिनुभएको थियो । त्यस्तै सानुमान लामाले संसारमा अंग गुमाएर पनि क्षमताको विकास गरी सफल जीवन बिताउने थुप्रै व्यक्तिहरुको उदाहरण प्रस्तुत गर्दै बस्नेतलाई भविष्यमा सफल व्यक्ति बन्न प्रेरणा तथा हौसला प्रदान गर्नुभयो ।

सोलुखुम्बुको सल्यान गाविस ७ घर भई हाल लौकन्थली आफन्तका साथमा बस्दै आएका १४ वर्षीय बस्नेतले नेवाः पुचःको सहयोगले आफनो पढाइ र स्वास्थ्य सुधार गर्न सहयोग पुगेको प्रतिक्रिया दिनुभयो । भूकम्प आएको बेला काभ्रेको साँगास्थित दिपेन्द्र प्रहरी महाविद्यालयको भवन भत्किएर च्यापिएका बस्नेतको दुवै गोडाले काम गर्न नसक्ने भएपछि काट्नु परेको थियो । उहाँको बाबु प्रहरी सहायक निरिक्षक खेम कुमार बस्नेतको २०६२ साल चैत्र ८ गते झापामा तत्कालिन विद्रोही माओवादीले हत्या गरेको थियो ।