बिहिबार, बैशाख १३, २०८१

जेलभित्र आज कोहि रोए जस्तो छ

IMG_3239-गौतम डंगोल “सन्देश

नेपथ्यमा बुथका आवाजहरु चर्का छन्
जिन्दगी जिन्दगी देखि परपर सरे जस्तो छ
मृत्यु वर पर छेवैमा घुम्न थाले जस्तो छ
म भित्रको म जिन्दगी जिन्दगी भनेर चिच्याए जस्तो छ
आखाँ अगाडिको संसार घनघोर अँधेरीमा विलाए जस्तो छ
जेलभित्र आज कोहि रोए जस्तो छ

निकृष्ट र फोहोरी शब्द सुनिएका छन्
हातका नङग्रामा सियो रोपे जस्तो छ
अनि खुट्टामा नेल ठोके जस्तो छ
दारी काट्ने ब्लेडले चिरेर खुर्सानीको धुलो छरे जस्तो छ
अनि पिडाको आर्तनादमा आनन्द लुटे जस्तो छ
जेलभित्र आज कोहि रोए जस्तो छ

ट्यार ट्यार दर्जीले कपास कुटे झैं आवाज आउँछ
मसीनो लीस्टीले पैतालामा पड्काए जस्तो छ
अनि कोहि पागल झैं हाँस्न थाले जस्तो छ
बलिरहेको हिटरमा थुक्न लगाए जस्तो छ
अनि अचेत भई भुईंमा कोहि लडे जस्तो छ
जेलभित्र आज कोहि रोए जस्तो छ

युवकमा घरी घरी चिच्याहट र मौनता छाएको छ
उँधोमुन्टो फोहोर पानीमा डुबाए जस्तो छ
अनि पानीमा बुर्लुक बुर्लुक फोकाहरु उठे जस्तो छ
एकै छिनमा शान्त तलाउ सुतेको आभास हुन्छ
अनि फेरी बोक्सी लागे जस्तो कोहि काँपे जस्तो छ
जेलभित्र आज कोहि रोए जस्तो छ

बाहिर बारीमा छप छप खन्दैछन्
रात्तै लेपिएर कसैलाई घिसारे जस्तो छ
अनि त्यहि खाल्डोमा गम्रङ्ग फाले जस्तो छ
छ्वाप छ्वाप माटो ढुङ्गाले छोपे जस्तो छ
एउटा अस्तीत्व नामेट् भए जस्तो छ
जेलभित्र आज कोहि रोए जस्तो छ

आमा मेरी सम्झना वरपर छाउँदछ
चौकी र ब्यारेक अनि न्यायालय धाउँदी हुन्
बहुला सरी जिङ्रीङ्ग केस कोर्न नभ्याउँदी हुन्
म गाडिएर धर्तिमा विलाएको थाहा नपाउँदी हुन्
हरेक भाईटिकामा बहिनी खाली मण्डप कुर्दी हुन्
जेलभित्र आज कोहि रोए जस्तो छ

प्रियाङ्गनाका आँखा पर्खाइका तिर्सनाले रसाँउदा हुन्
सुर्योदयका आशा सुर्यास्त संगै ढल्दा हुन्
कोल्टा फेरी फेरी रात छर्लङ्गै बित्दा हुन्
खोई बाबा भन्दै लालाबाला पछि लाग्दा हुन्
भगवान र निलो आकाश देखाई शान्त पार्दि हुन्
जेलभित्र आज कोहि रोए जस्तो छ