बिहिबार, बैशाख १३, २०८१

पसीनाले भिजेको गीत

 imageबारीमा बोलाउ है खनजोत गर्न
वनैमा बोलाउ है घाँस दाउरा गर्न
पसीना टुल टुल बगाउँला संग संगै
बाँचेर सिकाउ है बाँच्न अझै केहि दिन
जीवन गाँसेर अगाडि लगौंला संग संगै
बारीमा बोलाउ है खनजोत गर्न

हातका थेला मेटिन्न जीवन रहे सम्म
श्रमको भारी छुटिन्न जीवन चलमलाए सम्म
जीवको जीवन जिउँला सास रहे सम्म
परजिवि बन्छु जुन दिन कालले टेकोस शीर सम्म
दिलैमा बसेर दुखका पाटा फेरुँला संगसंगै
बारीमा बोलाउ है खनजोत गर्न
गारो सारो बाडँला संगसंगै

निधार हलुङ्गो हुन्न नाम्लो नबिसाए सम्म
मरेको जीवन बाँचिने भो मौन आवाज नखुले सम्म
पिंजडा खुल्दैन मैना चरी भित्रै रमाए सम्म
मुठ्ठि कसी एक एक गरी हातहरु नउठे सम्म
बाटोको छेवैमा बसेर घाउ बिसाउँला संग संगै
बारीमा बोलाउ है खनजोत गर्न
जीवन मरण भोगौंला संग संगै

 -गौतम डंगोल “सन्देश”