काठमाडौ कात्तिक १२, बुधबार गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका लागि भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकी नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक अङ्गका प्रमुखहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, सुरक्षा अङ्गका प्रमुखहरू, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
त्यस्तै नवनिर्वाचित राष्ट्रपति भण्डारीले शपथपत्रमा हस्ताक्षर गर्नुभएपछि निर्वतमान राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीलगायतसँग परिचय गर्नुभएको थियो । यसैवीच नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जीका तर्फबाट बधाई दिइएको छ । भारतीय राष्ट्रपतिका तर्फबाट नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपरान्ह नयाँबानेश्वरस्थित भण्डारीको निवास पुगी उहाँलाई बधाई दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।