शुक्रबार, बैशाख ७, २०८१

लोकतन्त्रमय हुनुपर्ने मुलुक गोविन्दमय

pen-copy-gift-150x1502राजन कार्की
शान्ति हुनुपर्ने मुलुक रगतमय भयो, लोकतन्त्रमय हुनुर्ने मुलुक गोविन्दमय पो भयो। डा.गोविन्द केसी जनताका लागि जीवन जोखिममा पारिरहेका छन्। तर यिनै गोविन्द केसी मेडिकल माफिया, भ्रष्टाचारी र कमिशनखोर नेता तथा कर्मचारीहरुका लागि विषवृक्ष बनेका छन्। हुने भए डा.गोविन्दलाई माफियाले सफाया पारिसक्थ्यो। डाक्टर गोविन्द यतिधेरै चर्चित भइसके कि यिनलाई बचाइराख्दा समस्या, मार्न झन समस्या भएको छ कपुतहरुलाई।

 डा.गोविन्द केसी हाडजोर्नी विशेषज्ञ डाक्टर। यिनलाई ऐशआरामको जीवन बाँच्न केही पनि बाधा थिएन। सबै सम्पन्नता र सुख, सम्पत्ति र शक्ति खोज्न कुदिरहेका छन्, यी डाक्टर भने दीनदुःखीको सेवामा आफूलाई समर्पित गरिरहेका छन्। सेवामा सुख देख्ने डा.गोविन्द केसी बिरालाकोटी मान्छे हुन्। सतिले सरापेको मुलुकमा यस्ता डाक्टर पनि जन्मने रहेछन्।     बोले गोविन्द केसीले छैठौं पटक आमरण अनसन बसेर द्रव्यपिचासहरुको सातो लिए। सरकारलाई झुकाए। स्वास्थ्य नीति र सेवाआयोग बनाएर चिकित्सा अध्ययन प्रणाली बसाल्न राज्यलाई बाध्य पारे। अव त जनताले स्वास्थ्य अधिकार पाउने भए भनेर १४ दिनमा आमरण अनसन तोडेका डा.गोविन्द केसीको मागमा नतमस्तक भएको राज्यले भोलिपल्टै अर्थात भदौ २१ गतेको मन्त्रिपरिषदबाट धोका पाए। सरकारले गर्छु भनेको निर्णय गरेन। के गर्ने भनेर अध्ययन गर्न सहमतिलाई सामाजिक समितिमा पठाइदिए। सामाजिक समिति अर्थात डा.गोविन्द केसी विरुद्ध षडयन्त्र गर्ने थलो। तत्काल  राजेन्द्र पाण्डे , डा.भोला रिजालहरु डुक्रिए– डा.गोविन्द केसीले फेरि अनसन बस्ने तैयारी गरे हुन्छ। डा.केसीले पनि बक्तव्य निकाले– राज्यले धोका दिएजस्तो छ। म फेरि आमरण अनसन बस्छु। राज्य यति नैतिकहीन पनि हुनसक्छ? राज्य आफूले गरेका सहमतिलाई तत्काल नकारेर उल्टो बाटो पनि हिड्नसक्छ? यस्तो अविश्वसनीय राज्यबाट आमनागरिक कसरी सुरक्षित र आश्वस्त बाँच्न सक्छ?

अकस्मात चिकित्साशास्त्र पढाउने निजी मेडिकल कलेजहरुले धम्की दिए, चितवनबाट आन्दोलन सुरु गरे। निजी क्षेत्रको भनाई छ– डा.गोविन्द केसीसँग गरेका सहमति लागू नगर। निजीक्षेत्रको धम्कीसँग डरायो सरकार र स्वास्थ्यशिक्षालाई फेरि भट्टी पसल बनाउनतिरै लाग्यो सरकार।   चुरो कुरो के रहेछ भने निजी मेडिकल कलेजहरुमा सभासद, मन्त्री, माफिया सबैको पैसा लगानी भएको रहेछ। त्यो लगानी डुब्ने भयो, मनग्गे आम्दानीको स्रोत सुक्ने भयो भनेर सबै मिलेर सरकारलाई घेरावन्दी गरेका रहेछन्। विचरा सुस्त कछुवा गतिका सरकार प्रमुख सुशील कोइराला लत्रक्क परिहाले। अपराधिक समूहमा खुशी छायो। पहिले जसरी एकजना गोविन्द केसी मरे मरुन् भन्थे नेताहरु, अहिले त्यही थेगो दोहोर्‍याउन थालेका छन्। मेडिकल शिक्षा फेरि पैसाको योग्यतामा तौलिने विषय बन्दैछ। आमगरिबीको पहुँचभन्दा टाढा पुग्दैछ– मेडिकल शिक्षा र स्वास्थ्योपचार।

सिङ्गो नेपालमा एकजना डा.गोविन्द केसी निस्केका हुन्। उनले सातौंपल्ट पनि आमरण अनसन बसे भने उनी मर्ने निश्चित छ। उनलाई मेडिकल माफियाको दबाबमा राज्यले मार्नेछ। त्यसो त राज्य संवेदनहीन छ। किनभने गंगामाया अनसनमा बसेको वर्षौं भइसक्यो, उनले छोराको हत्यामा न्याय पाइनन्। उनका पति नन्दप्रसाद अधिकारी छोराको हत्यारामाथि कारवाही होस् भनेर अनसन बस्दाबस्दै मरेको ६ महिना नाघिसक्यो। नन्दप्रसादको शव अहिले पनि टिचिङ अस्पतालको फ्रिजमा बरफ बनाएर राख्ने यही सरकार हो। जब नागरिक सरकार नै नागरिकका आवाज सुन्दैन, न्याय दिदैन, जनआवाजमा उभिदैन र आफूले गरेका सहमति आफै तोड्छ भने त्यस्तो सरकार न लोकतान्त्रिक हुन्छ, न नैतिक?

आमनागरिक डा.गोविन्द केसीका पक्षमा उभिएका छन्। आम युवासमुदाय डा.गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाइरहेका छन्। तथापि मेडिकल माफियाहरुको चक्रव्यूहमा फसेको सुशील सरकार ठोस निर्णय गर्न सकिरहेको छैन। माफियाहरु कहिले संविधान घोषणा होला र एमाले नेतृत्वमा सरकार बन्ला भनेर प्रतिक्षा गरिरहेका छन्। एमालेको नेतृत्वमा सरकार बन्नासाथ निजी मेडिकल कलेजहरुको स्वर्णयुग सुरु हुनेछ। एमाले आसयपत्र पाइसकेका सबै निजी मेडिकल कलेजहरुलाई तत्काल अनुमति दिने पक्षमा छ। जनताको बहुदलीय जनवादलाई राजनीतिक सिद्धान्त बनाएको एमाले जनहित विरोधी बहुदलीय जनवादको राजमार्गतिर उन्मुख भइसकेको छ। एमाले कार्यकर्ताका लागि समेत यो लज्जाको विषय हुनुपर्ने हो। नेपाली समाजमा बल्ल एउटा जाज्ज्वल्यमान दियो बलेको छ, राजनीतिक लोभीपापीहरुको हुरीले यो दियो निभ्यो भने लामो कालखण्ड फेरि यस्तो दियो नबल्न सक्छ। यो दियो बचाउन सकियो भने स्वास्थ्यक्षेत्रमात्र होइन, अन्य क्षेत्रमा पनि त्याग र बलिदानको यो प्रेरणाले देश र जनतालाई लाभान्वीत पारिरहनसक्छ। ठूला नेताहरु संवेदनहीन, धृतराष्ट्रजस्ता स्वार्थी र अन्धा भए पनि समाजका सबै तह र तप्काका व्यक्तिहरुले यिनलाई सशक्त साथ दिएर मुलुकको राजनीतिकरणलाई व्यापारिकरण हुनबाट जोगाउनु पर्छ। कर्तव्यहीन हुनपुगेका नेताहरुलाई झकझक्याएर सुधार्नुपर्छ। अन्यथा इतिहासले वर्तमान पुस्ताको राजनीतिलाईमात्र होइन, समाजका अगुवाहरुलाई पनि धिक्कार्ने छ।
जाजरकोटमा हैजा फैलियो, बारपाकको महाभूकम्पले गोरखामात्र होइन, सिन्धुपाल्चो पनि स्वाहा पारिदियो। पहिरोले ताप्लेजुङमा ठूलो क्षति गरिदियो। जहाँ जहाँ जनता विपतमा परेका छन्, त्यहाँ राज्यभन्दा पहिलो धोक्रोमा ओखतीमूलो बोकेर पुग्ने डाक्टर कोही छ भने त्यो गोविन्द केसी हो। अरु डलर खान्छन्, राजस्व लुट्छन्, यी गोविन्द आफ्नो तलवभत्ता जे छ, त्यसैले ओखती किनेर गाउँ गाउँ पुग्छन्। सबैलाई आफन्त ठान्छन्। यो नेपालीपन, यही त हो नेपालको स्वाधीनता, राष्ट्रप्रेम भनेको। यही भावनाको विकास मुलुकले खोजिरहेको छ।  बिभाजनका भाकाहरुलाई पनि निस्तेज पार्ने डा.गोविन्द अभियान नेपाली हुँ भन्नेले बिर्सन खोजे पनि बिर्सन सक्दैनन्। अलौकिक छन् यी डाक्टर। यिनी अस्पतालको तलव र क्लिनिक तथा निजी अस्पताल पुगेर मनग्गे कमाउन सक्थे, यिनको कमाई भनेको सेवाबाट मिल्ने धन्यवाद हो। उनले पाएको धन्यवादको ओजन, सम्मानको सम्पत्ति धोक्राका धोक्रा नोटभन्दा ओजनदार हुनपुगेको छ। ]

 डा.गोविन्द केसीको अभिव्यक्ति भनेको स्वस्थ जीवन सबैको अधिकार, पैसा योग्यता होइन, क्षमताको कदर गरौं, मेडिकल कलेजलाई गाउँसम्म पुर्‍यायौं, स्वास्थ्यक्षेत्रलाई नीतिले चलाऔं, माथेमा आयोगको रिपोर्ट लागू गरौं, विश्वविद्यालयहरुलाई राजनीतिक भर्तिकेन्द्र नबनाऔं, स्वास्थ्यलाई जनमुखी बनाउँ भन्ने नै हो। उनको यो आवाज न्यायसंगत छ। यसकारण अन्याय गर्न पल्केको बर्ग डा.गोविन्द केसीविरुद्ध भड्किएको हो। राष्ट्रपति डाक्टर छन्, उनी पनि डा.गोविन्द केसीलाई देख्दैनन्। अरु देशमा भए राष्ट्रले सम्मान गर्नुपर्ने व्यक्ति सातौंपटक आमरण अनसन बस्ने तैयारीमा जुट्नुभन्दा दुर्भाग्य अरु के हुनसक्छ? राज्य, राजनीति र उच्च कर्मचारी बर्ग देखेर लज्जा पनि लज्जित हुनपुगेको छ। भर्खर नियुक्त भएका मुख्य सचिव सोमलाल सुवेदी र पुननिर्माण प्राधिकरणका कार्यकारी डा. गोविन्द पोखरेलले डा.गोविन्द केसीको अनसन तोडाउन सहमतिपत्रमा सही गरेका थिए। यी दुबै व्यक्तिहरु समेत राजनीतिज्ञहरुजस्तै नैतिक संकटमा पर्न पुगेका छन्।  गुण्डा पाल्ने  गुण्डा मर्दा राँडी रुवाई गर्नेहरुले डा. केसीले देखाएको न्यायमार्गलाई उचित ठहर्‍याएनन्। लाग्छ, सतीको सरापबाट अझै मुलुकले मुक्ति पाएको रहेनछ। निश्चित छः डा.गोविन्द केसी अनसनमै मर्लान्, मारिइलान् तर यी शासक प्रशासकका सन्तानले पनि एकदिन यिनै गोविन्द केसीको गोविन्दगान गाउनेछन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031