शुक्रबार, बैशाख १४, २०८१

तीज मनाऔँ तर मदिराका गिलासमा रमेर अनि सभ्यता र संस्कार बिर्सिएर होइन

IMG_20150414_132016-1– रविना महर्जन

“नाचौँ अनि गाऔँ तर विदेशी संगीत अनि गीतमा कम्मर मर्काएर होइन। मिठा मिठा परिकार दरको रुपमा खाऔँ तर   मदिराका गिलास समातेर होइन

कलासंस्कृतिमा धनी राष्ट्र नेपालमा बर्षेनी विभिन्न धार्मिक चाडपर्व मनाइन्छ । यसैक्रममा वर्ष ०७२ को तिज अर्थात तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। यो पर्वमा विवाहिता महिलाले श्रीमानको दिर्घायु र सुस्वास्थ्यमा कुनै वाधा उत्पन्न नहोस् भन्ने कामना र अविवाहिताले कुसल वर एवम् मनोकांक्षा पूर्ण तथा पारिवारिक सद्भाव,एकता अनि मेलमिलापका लागी भन्दै तीज मनाउदै आएका छन् ।

तर संस्कृतिको जर्गेनाका लागि हामीले मनाउँने गरेको हाम्रा यावत चाडपर्वले नजिकिँदै गर्दा विकास संगै मौलाएको विनास भने जस्तै विकृती पनि क्रमश बढ्दै आएको सहजै बोध गर्न सकिन्छ । प्रसंग हो विगतमा  महिला दिदी बहिनीले आस्था अनि हर्षोल्लासका साथ मनाउने गरिएको चाड तिजको एक दिन अघि दिदीबहिनी ,आमा,भाउजू सब जम्मा भएर दु:ख सुख सहित आफ्नो गच्छे अनुसार मिठो मसिनो घरैमा बनाएका खानेकुरा दरका रुपमा खाएर रमाइलो गर्थे। तर अहिले आधुनिकताले प्रभाव परेर हो या देखासिकीले,ठुला ठुला होटलमा एक महिना अघि देखि नै दर खाने चलन आउन थालेछ त्यो पनि मदिराका गिलास सहित। एकातिर टिकापुर घटनामा मारिएका प्रहरीका श्रीमती,तिज नजिकिँदै गर्दा सेता साडीमा सिँउदो खाल��� राखेर आँसु बगाउँदै बस्नुपरेका छन् त अर्कोतिर डिस्कोमा महँगा रक्सीका गिलास हल्लाउँदै अङ्ग्रेजी गीतमा नाच्दै कोहि तिज आउनु एक महिना अघि देखि नै रमाउन व्यस्त भइरहेका छन् ।

कुनै समय यस्तो पनि थियो जुन बेला तीजमा महिला दिदीबहिनी आफ्ना मनका व्यथा,भावना अनि खुशीहरुलाई गीत बनाएर मादल अनि ताली मिश्रित 1236013_523206964416947_61217625_n-e1409240052733संगितमा समूहमा एक अर्काको हात समाती परम्परागत तवरले नाचेर मनाउँथे। तीजको लहर आयो बरी लै भन्दै कम्मर भाँचिरहेका हुन्थे।तर अहिले आएर डिस्को या त होटलमा ठुला ठुला स्वरमा बजाइएका अङ्ग्रेजी गीतमा हल्लिँदै पो तीज मनाउन थालिएछ।

आधुनिकताको पछि लागेर यति सम्म पनि बहुलाउनु हुन्न कि पुर्खाले हामीलाई सरापोस्।यस्तै विकृतीले निरन्तरता पाउने हो भने एक दिन अवश्य हाम्रा भावी सन्ततीले तीज भनेको महिलाहरु जम्मा भएर मदिराका गिलास अनि अङ्ग्रेजी गीत घन्काएर नाच्ने अनि गरगहना झपक्क हुने गरि लगाएर एक महिना अघि देखि नै खर्च गरि मनाउने चाड रहेछ भनेर भन्नेछन्।  के तीजको नाममा ज्यान नै जोखिममा राखी देखाउन कै लागि सुनचाँदी का गहना झपक्कै हुने गरि लगाउनु अनिवार्यता हो र ?  तीज महिला दिदीबहिनीहरुकै चाड,शश्रङ्गार गर्न मन लाग्नु स्वभाविकै हो तर अरुले जे लगायो त्यस्तै लुगाफाटा अनि गहना खोज्नु,परिवारमा गहना उपलब्ध नगराए सम्म कलह गर्नु अनि ऋण काटेरै भएपनि रमाइलो गर्न खोज्नु भने पक्कै मुर्खता हो। यति सम्म पनि देखियो कि साथीहरुमाझ इज्जत जोगाउनकै लागि भएपनि आफन्त वा अन्य साथी भाइका गहना मागेर लगाउने अनि हराएपछि पुर्पुरोमा हात हात राखेर बस्ने। चोक्टा खान गाकी बुढी झोलमा डुबेर मरी भन्ने उखान झैँ अधिकांस महिला दिदीबहिनी यस्ता समस्यामा जानाजान पर्ने गरेका छन् । यी बाहेक पनि तीज नजिकिने क्रममा बन्ने गीतमा पनि अश्लिलता बढ्दै गएको पाइन्छ।परिवार अनि बालबच्चाका सामु बसेर तीजका गीत सुन्न अनि भिडियो हेर्न मुख छोप्नुपर्ने अवस्थाको सिर्जना भइरहेको छ।यता तिर सम्बन्धित पक्षले कहिले ध्यान दिने हुन् थाहा छैन।

 नेपाल अनि यहाँको संस्कृति विश्वमै प्रख्यात छ।यहाँका धार्मिक चाडपर्व मनाउनु अनि जोगाउनु हाम्रो दायित्व हो,आधुनिकता संगसंगै केही परिवर्तन हुनु पनि जरुरी छ। परिवर्तनको नाममा कुनै पनि चाडको इतिहासमा नै नकारात्मक प्रभाव पर्ने काम गर्नु हुन्न जस्तो लाग्छ।घाँटी हेरि हाड निल्नु भन्ने वाक्यलाई आत्मसात गरि आफ्नो रितिथिती अनि रहनसहन झल्कने गरि तीज मनाउँदा कति राम्रो हुँदो हो  । नेपाली लोकभाकामा नाचेर रमाइलो गर्दा कति जाती हुँदो होरु सम्पन्न परिवारका महिला दिदीबहिनीहरुले ठुला ठुला तारे होटलमा तीजको दर खाने कार्यक्रमको आयोजना गर्नुको साटो वृदाश्रममा भएका आमाहरुलाई केही लगाउने वा खाने व्यवस्था गरिदिँदा कति धर्म प्राप्ती हुँदो हो।  नाचौँ अनि गाऔँ तर विदेशी संगीत अनि गीतमा कम्मर मर्काएर होइन। मिठा मिठा परिकार दरको रुपमा खाऔँ तर   मदिराका गिलास समातेर होइन। तीज मनाऔँ तर मदिराका गिलासमा रमेर अनि नेपाली सभ्यता र संस्कार बिर्सिएर होइन

(महर्जन ज्ञानोदय उमाविका शिक्षक हुँनुहुँन्छ)