शनिबार, बैशाख ८, २०८१

संंविधानसभाको बैठकमा सम्बोधन गर्दै प्रम कोइरालाले के भने ? सम्बोधनको पूर्णपाठ सहित 

काठमाडौ भाद्र २७ प्रधानमन्त्री सुशील कोइरालाले  ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथिको संशोधनका प्रस्तावमाथिको छलफलमा भाग लिँदै संविधानसभाबाट संविधान लेखिने र जारी हुने निर्णायक क्षण जनताको शान्ति र  सङ्कल्पको विजय हुने क्षण हुने बताउँँनु भएको  छ ।  यस्तो  छ  सम्बोधनको पूर्ण पाठ

संविधानसभाका सम्माननीय अध्यक्षज्यू,

देश आज अत्यन्त गम्भीर र महत्वपूर्ण राजनैतिक परिस्थितिमा उभिएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत् संविधान बनाउने यो ऐतिहासिक क्षणमा आइपुग्दा म झण्डै सात दशक लामो लोकतान्त्रिक आन्दोलनका सहिद र दुःख बेहोरेको लाखौं नेपाली जनताको सङ्घर्षपूर्ण योगदानलाई संझिन चाहन्छु । जननायक बिपी कोइराला यस अवसरमा हाम्रो सम्झनामा हुनुहुन्छ । श्रद्धेय गणेशमान सिंह, सुवर्णशम्शेर जबरा, पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीजस्ता नेता हाम्रो सम्झनामा हुनुहुन्छ ।

यस ऐतिहासिक अवसरमा २०६२/६३ को जनआन्दोलनका सहभागी लाखौं नेपाली जनता र एक दशक लामो द्वन्द्व समाधानका लागि निर्णायक अग्रसरता लिने गिरिजाप्रसाद कोइरालाको योगदानलाई स्मरण गर्न चाहन्छु । शान्ति सम्झौताका अर्का हस्तक्षरकर्ता प्रचण्डजी र वर्तमान राजनीतिक प्रकृयाका हामी राजनीतिक नेता र सभासद् लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताहरुको सपनालाई पूरा गर्दै नेपाल र नेपालीको उज्ज्वल भविष्यका निमित्त अग्रसर भइरहेका छौं । संविधानसभाबाट संविधान लेखिने र जारी हुने यो निर्णायक क्षण जनताको शान्ति र सङ्कल्पको विजय हुने क्षण हो । त्यसैले हामी जनताको सङ्कल्पको प्रतिनिधि भएर जनताको अधिकार र समृद्धिको लागि जनतालाई नै संविधानको दस्तावेज समर्पण गर्ने अभियानमा आइपुगेका छौं ।

अध्यक्ष महोदय, यो महत्वपूर्ण प्रक्रियामा असहमति राखेर केही राजनीतिक दल र सभासद् साथीहरुले आन्दोलनको बाटो रोज्नु भएको छ । शान्तिपूर्ण आन्दोलन लोकतन्त्रको स्वभाविक बाटो हो । तर आन्दोलनले हिंसात्मक रुपधारण गर्दै जानु, जनताको अमूल्य जीउधनको क्षति हुनु र सामाजिक विद्वेष र आर्थिक गतिविधिमा निरन्तर अबरोध र क्षति पु-याउने परिस्थितिबाट हामी सबै दुःखी भएका छौं ।

म यस अवसरमा आन्दोलनका क्रममा आफन्त गुमाएका शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गर्दछु । घाइते भएकाको उपचार चाँडोभन्दा चाँडो गर्ने कुरामा सरकारी निकायले काम गर्नेछन् । मृतकका परिवारलाई उचित राहत दिन तथा आन्दोलन शान्तिपूर्ण र संयमित हुने वित्तिकै कफ्र्यू र सुरक्षा निकायको परिचालन सामान्य स्थितिमा फर्कनेछ । म आन्दोलनमा लागेका सबै साथीहरुलाई शान्तिपूर्ण संवैधानिक बहस र संभावित सहमतिको बाटोमा आउन, वार्ता र संवादको शक्तिमाथि विश्वास गर्न आग्रह गर्दछु ।  यो संविधान जारी भएपछि सहमति र सुधारको सम्भावना फेरि पनि नयाँ ढङ्गले प्रारम्भ हुनेछ । हामी फेरि पनि यो संविधानलाई परिमार्जन गर्न संवैधानिक प्रक्रियामा एकसाथ बस्न र सहमति खोज्न सक्छौं । त्यसैले म फेरि एकपटक सबै आन्दोलनरत पक्षलाई संवादको बाटोमा फर्कन आह्वान गर्दछु ।

अध्यक्ष महोदय, यो संविधानमा अन्तरिम संविधानले प्रत्याभूत गरेको अधिकारहरु नछुटुन् भन्नेतर्फ सभासद् मित्रहरुले ध्यानाकर्षण गराउनु भएको छ । समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हकको मुद्दा यसै सन्दर्भमा उठेको एउटा प्रमुख मुद्दा हो । यो विषयलाई संविधानमा संशोधन गरी सामाजिक न्यायको हक लेखिएको अनुच्छेदमा समावेश गर्ने प्रमुख राजनैतिक दलको साझा प्रतिबद्धता म यो सम्मानित सदनमा राख्न चाहन्छु ।  त्यसैगरी हाल दुर्गम जिल्लामा न्यूनतम् एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय पनि सभासद् साथीहरुले उठाउनु भएको छ । यो विषयलाई पनि आवश्यक संशोधन प्रस्तावित गरी सम्बोधन गरिने प्रतिबद्धता राख्न चाहन्छु । संविधान निर्माणको प्रक्रियालाई यहाँसम्म ल्याई पुु-याउन मद्दत गर्ने सबै राजनीतिक दलका नेता र सभासद् साथीहरुको सहयोग र योगदानलाई म धन्यवाद दिन चाहन्छु ।

जनताबाट विधिवत् निर्वाचित प्रतिनिधिद्वारा अत्यधिक सहमतिका साथ संविधान जारी हुन लागेको छ । यस लोकतान्त्रिक अभ्यासको सफलताका निमित्त म नेपाली जनतालाई धन्यवाद दिन चाहन्छु । हाम्रा सबै अन्तर्राष्ट्रिय शुभेच्छुक मित्रहरुबाट प्राप्त सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनमा समेत यस्तो सहयोग निरन्तर प्राप्त हुनेछ भन्ने आशा गरेको छु । यो ऐतिहासिक अवसरमा हाम्रो निम्ति सर्वोपरि जनता र जनताको मतलाई अभिवादन र सम्मान गर्न चाहन्छु ।