बिहिबार, बैशाख १३, २०८१

महानगर सामुदायिक कुकुरको संख्या घटाउने अभियानमा

सन्दर्भ विश्व रेविज रोग दिवस

काठमाडौं आश्विन ११, वौलाहा कुकरको टोकाइबाट हुने प्राण घातक रेविज रोग त्रासले नेपालमा बर्षेनी ५० हजार व्यक्तिले खोप लगाउने गरेका छन् । रोगको लक्षण नदेखिँदै उपचार गरे शत प्रतिशत रोकथाम गर्न सकिने रेविज लागिसकेपछि उपचारको कुनै पनि प्रयत्न नलाग्ने सरोकोवालाहरुले जनाएको छ ।
प्राण घातक रोगका रुपमा पहिचान गरिएको रेबिजरोगबाट बच्न सरोकारवाला अधिकारीहरुले यसबाट बच्नकालागि रोगको श्रोतका रुपमा रहेका पशुपक्षिको स्वास्थ्यमा निगरानी गर्नुपर्ने खाँचो देखाएका छन् । हरेक बर्षको सेप्टेम्वर २७ तारिखमा विश्वभर मनाईने विश्व रेविज दिवसको सन्दर्भ पारेर आयोजना गरिएका कार्यक्रमहरुमा अधिकारीहरुले यस्तो बताएको हो ।

त्यस्तै रेविज रोग भाइरस पाइने श्रोतको रुपमा कुकुर, चमेरा र फ्याउरा जस्ता पशु पक्षिलाई लिइन्छ । यस्ता पशु पक्षिमध्ये कुकुर र मानिसकोवीचमा बढी नजिक सम्बन्ध भएको हुनाले कुकुरलाई रेविजको प्रमुख श्रोतका रुपमा हेरिन्छ । रोग लागेपछि उपचार छैन । त्यसैले रोग लाग्नु पूर्व नै रोगका सम्भावित श्रोतका रुपमा रहेका पशुलाई खोप लगाउनु पर्छ । महानगर क्षेत्रमा स्थानीय संस्थाहरुले यस विषयमा चासो देखाइरहेका छन् ।

सामुदायिक कुकुरको संख्या अत्याधिक भएको हुनाले ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा रेविजको जोखिम बढी छ । आफूलाई सहज हुुन्जेल पालेको कुकुर विरामी भएपछि उपचार खर्च लाग्ने भएकोले सडकमा छोड्ने सहरवासीको आचरणका कारण सहरमा भेटिने कुकुरको स्वास्थ्य जोखिममा रहेको छ । यससँगै यस्ता कुकुरले मानिसलाई टोक्यो भने स्वास्थ्यमा समस्या वन्न सक्छ । कुकुरसँग सम्बन्धित यी विषयलाई दृष्टिगत गर्दै महानगरले सामुदायिक कुकुरको संख्या घटाउने कार्यक्रम अगाडि बढाएको छ ।