शुक्रबार, चैत्र १६, २०८०

बेइजिङ्गमा देवकोटा सम्बन्धी प्रदर्शनी हुने

काठमाडौ भाद्र १७, चीनको राजधानी बेइजिङ्गमा भाद्र २२ र २३ का दिन नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनबारे दुई दिने बृहत् प्रदर्शनीको आयोजना हुने भएको छ । प्रदर्शनीमा देवकोटाको जीवन र लेखनलाई उजागर देवकोटाद्वारा रचित ३ दर्जन पुस्तक, देवकोटामाथि लेखिएका समालोचना ग्रन्थ र 1_1पत्रपत्रिकाका विशेषाङ्क करिब ५० थान, देवकोटाको जीवनका विविध आयाम झल्कने २३ वटा चित्र कलाकृति तथा देवकोटाको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिने छ ।
प्रदर्शनीका लागि, बेइजिङ्स्थित बेइजिङ् लुसुन सङ्ग्राहालयको निमन्त्रणमा नेपाली संस्था देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानको प्रतिनिधिमण्डल २० भाद्रका दिन बेइजिङ्तर्फ प्रस्थान गर्दैछ । प्रतिष्ठानका अध्यक्ष समालोचक निनु चापागाइँले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा साहित्यकारहरू रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाई, मातृका पोखरे र महेश पौड्याल र गायक जीवन शर्मा रहनेछन् । प्रदर्शनीमा नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापनाको साठी वर्ष पुरा भएको उपलक्ष्यमा दुई देशका आपसी सम्बन्धबारे पनि छलफल कार्यक्रम राखिएको छ ।

प्रदर्शनीको दोस्रो दिन देवकोटा तथा प्रसिद्ध चिनिया लेखक लुसुनबारे अन्तर्राष्ट्रिय विचार गोष्ठी पनि हुने भएको छ, जसमा चिनिया विद्वानहरूका साथै नेपालको तर्फबाट समालोचक निनु चापागाइँ र कवि रामबाबु सुवेदीले कार्यपत्र प्रस्तुत गर्नेछन् । भाद्र २४ का दिन बेइजिङकै रेन्मिन विश्वविद्यालयमा हुने एक कार्यक्रममा समालोचकहरू निनु चापागाइँ र महेश पौड्यालले विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्दै नेपाली साहित्यका विविध पक्षहरू बारे धारणा राख्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल भाद्र २७ का दिन काठमाडौँ फर्कने देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानले जनाएको छ । -माधव अधिकारी