शुक्रबार, चैत्र १६, २०८०

प्रम कोइरालाको लिखित प्रतिवद्धतापछि दुईसातादेखि जारी आमरण अनशन तोडियो

काठमाडौ भाद्र ३०,  सनातन हिन्दू राष्ट्र कायम हुनुपर्ने माग गर्दै विगत दुइसाता भन्दा लामो समय यतादेखि नेपाल हिन्दु युवामञ्चको अगुवाइमा राजधानीको 2टुँडिखेलमा जारी आमरण अनशन आज तोडिएको छ । जारी हुँने नेपालको नयाँ संविधानमा हिन्दु राष्ट्रको माग गर्दै आमरण अनशन बसेका खेमराज आचार्य, प्रेमनिधि भारद्वाज, सागर कटुवाल, कमलप्रसाद जोशीले आज सरकारका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाको प्रतिनिधित्व गर्दै कानुन, न्याय संविधानसभा तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले लिखित पत्र पढेर सुनाएपछि उनीहरुले अनशन तोडेको हो । जगतगुरु बालशन्त मोहनशरण देवाचार्यले आमरण अनशनकारी युवालाई पञ्चामृत पिलाएर अनशन तोडाउनुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले अनशनरत चारै जना युवालाई सम्बोधन गरी पठाउनुभएको पत्र मन्त्री आचार्यले वाचन गर्दै हाल संविधानसभाबाट पारित हुन थालेको ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ ले सनातनदेखि चलिआएको धर्म र संस्कृतिको संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रताको रक्षाको विषयलाई महत्वपूर्ण संवैधानिक दायित्व बनाएको न्ने आशय सहितको पत्र पठाउँनु भएको थियो । त्यस्तै पत्रमा सनातन हिन्दू राष्ट्र नेपाललगायतका विषयमा संवाद चालु रहने पनि विश्वास दिलाउँनु भएको छ ।

त्यस्तै राष्ट्रिय हिन्दू युवा मञ्चले प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट अनशन तोड्नका लागि आधिकारिक पत्र प्राप्त भएकाले सरकारको वचनबद्धतालाई विश्वास गर्दै धर्मगुरु र धार्मिक संस्थाको समुपस्थितिमा अनशन आजैबाट स्थगित गरेको अनशनरत चारै युवाद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।