शुक्रबार, बैशाख १४, २०८१

परिणाममुखी वार्ताका लागि उपराष्ट्रपतिको आह्वान

काठमाडौ आश्विन १२, उपराष्ट्र परमानन्द झाले आन्दोलनरत पक्षसित सार्थक र परिणाममुखी वार्ता गरी समस्या समाधान गर्न सरकार र सरकार सम्बद्ध दललाई आग्रह गर्नुभएको छ । उपराष्ट्रपति झाले सोमवार एक प्रेस विज्ञप्ति जारी गरी सरकारका तर्फबाट वार्ताको पहल गर्न र छलफल, संवाद र सहमतिका parmananda-jhaमाध्यमबाट समाधान खोेज्न आग्रह गर्दै तराई मधेसमा आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गर्नुभएको हो ।

आफ्ना जनप्रतिनिधिमार्फत संविधान बनाउने नेपाली जनताको चाहना बमोजिम बहुमतीय प्रक्रियाद्वारा नेपालको संविधान जारी भई कार्यान्वयनको अवस्था रहेको उल्लेख गर्दै संविधानसभामार्फत नयाँ संविधान आउनु सुखद कुरा हो भन्दै जारी विज्ञप्तिमा राज्यका सीमान्तकृत समुदायसित विगतमा भएका सहमति र सम्झौता तथा अन्तरिम संविधानमा संशोधनमार्फत गरिएका कतिपय व्यवस्थालाई बेवास्ता गर्न नहुने उल्लेख गरिएको छ ।

त्यस्तै ४५ दिनदेखि तराई मधेसमा आन्दोलन भइरहेको जनाउँदै विज्ञप्तिमा – “आन्दोलनकारी र सुरक्षाकर्मीसहित ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँको सङ्ख्यामा घाइते भई अस्पतालमा उपचार गराइरहेका छन् ।” तराई मधेसमा जारी आन्दोलनले स्थानीय जनजीवन अत्यन्त प्रभावित भइरहेको र त्यहाँका जनताले उठाएका जायज मागलाई सम्बोधन गर्न राज्यले ढिला गरेको उल्लेख गर्दै नेपालको संविधानको धारा ३०५ मा रहेको बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी संविधानको बाधा अड्चन फुकाएर आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्न सकिने बताउँदै उहाँले राजनीतिक दल र आन्दोलनरत पक्षबीच सार्थक र परिणाममुखी वार्ता हुनुपर्नेमा जोड दिनुभएको छ ।