बुधबार, बैशाख १२, २०८१

पत्रकार महासंघद्दारा नयाँ संविधानको स्वागत

संविधानको परिमार्जित विधेयक पारितभएसँगै मुलुकमा दिगो शान्ति, राजनीतिक स्थिरता र सम्बृद्धिको दिशामा अघि बढ्ने ढोका खोलेकोमा खुशी प्रकट

काठमाडौं भाद्र ३१ , संविधानसभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको दशकौंदेखिको सपना एवं लामो त्याग, बलिदान र संघर्षको परिणामस्वरूप संविधानसभाबाट भाद्र ३० गते बुधवार सम्पन्न संविधानसभाको बैठकबाट संविधानको परिमार्जित विधेयक पारितभएसँगै प्राप्त भएको सफलताप्रति नेपाल पत्रकार महासंघले खुशी प्रकट गरेको छ ।

FNJ Press statement 31 bhadraमहासंघका अध्यक्ष डा महेन्द्र विष्टद्दारा आज जारी प्रेस वक्तव्यमा नयाँ संविधानले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशीतालगायत २०६२/६३ को जनआन्दोलन र यस अवधिमा राजनीतिक तथा पेशागत क्षेत्र एवं विभिन्न समुदायबाट भएका संघर्षका मुख्य उपलब्धीहरूलाई संस्थागत गर्नुका साथै मुलुकलाई दिगो शान्ति, राजनीतिक स्थिरता र सम्बृद्धिको दिशामा अघि बढाउन ढोका खोलेको उल्लेख गरिएको छ ।
त्यस्तै प्रेस वक्तव्य स्वाभिमानी नेपाली जनताले आफ्नै बलमा हासिल गरेको यो उपलब्धिको दुरगामी महत्व रहने उल्लेख गर्दै एक जुगमा एक चोटी प्राप्त हुने यस्तो युगान्तकारी सफलताका निम्ति महासंघ यस प्रक्रियामा सहभागी संविधानसभा, राजनीतिक दल र आम नेपाली नागरिकमा हार्दिक बधाइ ज्ञापन गर्नुका साथै यस क्रममा प्रकट भएका असन्तुष्टि र आन्दोलनरत पक्षका जायज मागलाई संबोधन गर्दै भब्य राष्ट्रिय उत्सवका रूपमा मनाउने वातावरणको अपेक्षा गर्दछ भनिएको छ ।

त्यस्तै वक्तव्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका सन्दर्भमा महासंघलगायत नेपाली मिडिया वगतबाट व्यक्त भएका चिन्ता र सरोकारहरूप्रति संविधानसभाका अध्यक्ष र प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले प्रकट गरेको प्रतिबद्धताको स्मरण गर्दै महासंघले नयाँ संविधानको प्रस्तावनाको भावना एवं लोकतान्त्रिक मूल्य, मान्यता र खुला समाजको चरित्र बमोजिम पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने वातावरण निर्माण हुने विश्वाससहित नयाँ संविधानको हार्दिक स्वागत गरेको उल्लेख गरिएको छ ।