बुधबार, असार २२, २०७९

ती भयावह दिनहरु…

Image7– गौतम डंगोल “सन्देश”

विपना भएर मरेको जीवन जिउनु भन्दा ,सपना भएर जीउँदो जीवन मर्नु बेश
बारम्बार दिनानुदिन मर्नु भन्दा
एक दिन बाँचेर सँधैका लागि मरिजानु बेश

जिन्दगीको एउटा अनिश्चित उडान थियो त्यो जहाँ त्यो ठुलो हवाजहाजको ककपिटमा चालकदलको एउटै सदस्य म थिएँ अनि यात्रु पनि मैं थिएँ । आकाशै भरी फनफनी निकै बेर फन्को मारी सक्दा पनि गन्तव्य कता हो कता मस्तिष्कमा खुल्न सकेन । कहिले बादल माथि पुगेर धर्ती विहिन भएर फिर्की मारीयो त कहिले पहाडलाई जिस्काए झैं गरी उँधो उँधो ए पहाड मलाई छुन सक्छस् भने झैं हुँइकेर उडियो । तर कता जाने हो निश्चित गन्तव्य पहिल्याउन सकिरहेको थिइन । एवम् रितले अनिश्चितताको भुमरीमा रुमलिंदै विमान भित्रको इन्धन रित्तिन लागेको संकेट स्वरुप पिलिक्क पिलिक्क इन्डिकेटर बल्न थाल्दछ र अब जताबाट उडान भरेको हो उतै अवतरण गर्नु सिवाय अन्य कुनै विकल्प बाँचेको छैन भन्ने निक्र्यौल हुन्छ ।

यस वीचमा नै मनमा विस्मात छायो किनकि भिजीविलिटि क्लियर अवलोकन गर्दा त धावनमार्ग पुर्णरुपले ध्वस्त भैसकेको रहेछ । आकाश शान्त सुमधर रहँदा जमीनमा युद्ध चर्कंदै रहेछ र बम बारुद क्षेप्यास्त्र प्रहारबाट हवाई मैदानमा ठलठुला खाल्दाखुल्दी बनिसकेको रहेछ । जिन्दगीको उडान कथै कहालीलाग्दो अवस्थामा आएर हावाको बेग विना नै थरथराउन थाल्यो । अवतरण गरौं, ल्याण्ड फिल्ड साइट ध्वस्त भएको अवस्था, आकाशमै फनको मारी बसौं विमानको इन्धन सकिनै लागेको अवस्था । त्यही खाडलयुक्त धावणमार्गको छातीमा जोतेर अहिले नै जीवनलाई अगति दिने हो की आकाशमै दुर्घटनाको समाचार बनाईको पर्खाइमा केही समय बढी आफुलाई जीवन दिइराख्ने हो भन्ने मात्र बाँकी रह्यो ।

जिन्दगीका अनगिनत विषम भोगाइलाई जबरजस्ती सामान्यीकरण गरेर सामान्य जीवन दपर्ण गराउने भरमग्दुर प्रयासमा थिए । तर भौतिक पिडाले मानसिक संकल्पलाई अन्तत पराजित गरी छाडेपछि पिडाले बिस्तारै गलाउन थाल्यो । यद्यपी निकै आग्रह अनुग्रहपछि अस्पतालमा पाइला टेक्न राजी हुनुभयो । भोलिपल्ट उनलाई घरैमा छोडेर रिपोर्ट बुझ्न डाक्टरकोमा  बिहानै पुगेको थिएँ  , मंगलबजारको त्यो पुरानो घर अनि गल्ली भित्रको त्यो मेडिकलमा । डाक्टरले रिपोर्ट हेर्दै कुरा गर्न थाले तर त्यो दिन उनको मुखबाट डाक्टरको बोली भन्दा पनि कालको बोली फुट्यो । अव यति दिन भित्र उनको आयु समाप्त हुने घोषणा भयो । म अवाक् भएँ, मेरो बोली फुट्न सकेन । मन भित्र अनेक कुराको भाँडभैलो मच्चिन शुरु भएको थियो । हिंडदै आएर बाटोमा थचक्क बसें, निकै बेर टोलाएर आकाशतिर हेरीरहें, बरबराइरहें । निराशाको कालो बादल मेरो जीवनमा मडारिसकेको थियो । उनी जसले मलाई आफु अत्यन्त विषम परिस्थिति बिच गुजे्रर पनि सँधै सहज जिवन दिने भरमग्दुर प्रयत्न गरे ।

आफु अँध्यारोबाट गुज्रेर भएपनि मरो मानसपाटालमा सँधै आशाका उज्याला प्रज्वलित गर्ने उनी अव हामी सबैलाई छाडेर छिट्टै यो भौतिक संसारबाट बिदा हुँदै । जुनकुरा सायदै उनी स्वयंलाई पनि थाहा थियो । परिवारमा अरु कसैलाई पनि भन्ने हिम्मत म मा आएन । जे जति पिडा थिए, , डर अनि त्रास थिए म भित्रै अब सञ्चय हुन थाले । बिहान निनँद्राले साथ छोडेदेखि राति लठ्ठ निन्द्राले नसमाते सम्म म त्यहि डर, त्रास अनि पिडामा भित्र भित्रै जल्दै बाँच्न थालें । बिस्तारै बिस्तारै उनलाई रोगले च्याप्दै लान थाल्यो । स्थिति दिननुदिन नाजुक बन्दै गयो । उनको दिन रात एकतमाशको पिडा टुलुटुलु हेरी बस्ने र अँध्यारोमा लुकि लुकि आँशु झार्नु बाहेक मेरो अरु कुनै हुर्मत थिएन । म मर्न सक्दिन थिएँ त्यसैले लाक्षी बनेर लाचार जिवन व्यतित गरिरहेको थिएँ । लाक्षिपनको हद नाघिसकेको अवस्था थियो मेरो ।
त्यस बखत स्नातक अध्ययन गर्दै गरेकी मेरी बहिनी र प्रमाणपत्र तह अध्यन गर्दै भाईले पनि अनुमान लगाइसकेका थिए होलान अव बुवाको अन्तिम दिन आइपुग्यो भनेर तर कसैले कसैलाई बोली फोडेर कुरा गर्न सकेनौं हामीले ।  टोलाउँथ्यौं एक अर्कालाई हेरेर अनि झुठ बोलिरहन्थ्यौं हिजो भन्दा बुवालाई आज राम्रो भएको छ भनेर । मेरी आमा भने बेखवर थिइन् बुवाको त्यो अवस्था देखि । हरेक दिन आज ठिक होला र भोलि ठीक होला भन्ने दृढ तर वास्तविक झुठो आशाका साथ उनी अस्पतालमा बुवाको कुरुवा बस्थिन् । तर अव केही गर्दा पनि निको नहुने अन्तीम अवस्थाको क्यान्सरले बुवालाई ग्रस्त बनाईसकेको थियो ।

अन्तत हामीले अत्यन्त नचाहँदा नचाहँदै हामीले धेरै बिन्ती भाउ गर्दा पनि आएरै छोडयो त्यो दिन । त्यो दिन, त्यो अन्तिम घडिमा पाटन अस्पतालबाट अझ भनौं मेरो बिशेष आग्रहमा भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरियो । अर्धमृत मेरो बुवाको शरीरलाई एम्बुलेन्समा लम्पछार सुताएर जीवनमा पहिलो पटक साइरन बजाउँदै तुफान म भक्तपुर क्यान्सर अस्पताल पुगें । एम्बुलेन्सको अगाडिको सिटमा बसेर मौन रुवाई रुँदै म गएँ । म सानो छँदा हरेक आइतवार बिहान मलाई स्कुल छोड्न आउँदा म चिच्याई चिच्याई रोएको अनि मिसले जबरजस्ती बोकेर लाँदा ठुलो ठलो स्वरले बुवातिर फर्केर – “ (यो बा छ शुक्रवार   तुफ्फानँ ब्वायँवया जित का वा) अर्थात   बुवा तिमी शुक्रवार तुफानले दौडेर मलाई लिन आउनु भनेर म चिच्चाएको याद आयो । उनलाई भक्तपुर अस्पताल पुर्याउँदा सायद उनको अन्तिम पल भक्तपुर अस्पतालमै व्यतित होला भन्ने आशंकाले होला मेरी आमा, बहिनी, भाई र परिवारका अन्य सदस्य पनि त्यहाँ उपस्थित थिए । यकिन भने थिएन मलाई त्यहाँ को को थिए । मन बुझाए झै गरें र त्यहाँबाट त्यहि अपेक्षित अब कहिं नलानुस, सहज मृत्युवरणको व्यवस्था गर्नुस् भन्ने जवाफ लिएर हामी फक्र्र्यौं र फेरी पाटन अस्पतालको इमरजेन्सी कक्षमा पुग्यौं । त्यही रात अस्पताल शैयामा उनले अन्तिम सास फेरे भन्ने खबर आयो अस्पताल क्वार्टरमा लडिरहेको म सामु । उनको समर मृत्युको अन्तिम पुष्टिकालागि मलाई अस्पताल शैयामा पुर्याइँदा उनी त्यो दुखाई अनि असिम पिडाबाट मुक्त भई सकेका थिए र आरामले चिर निँद्रामा « विचरण भइसकेका थिए । हतास अंगालेर मैले धेरै माया गरें उनलाई, चुमें उनलाई तर त्यस अघि झैं म घोप्टो परेर रुँदा जिङग्रीङ्ग परेका मेरा लामा लामा जुल्फी सुम्सुम्याउन उनका हात उठेनन् । बरु मेरा अंगालोलाई बेवास्ता गरेर उनि निश्चल निशब्द बसे । उनको भौतिक शरीरलाई चितामा सुताइएको अन्तिम पल सम्म पनि धेरै चिच्याई चिच्याई बोलाई रहेको थिएँ म । पातलो सेतो कपडाले छोपिएको उनको मुहारलाई सुम्सुम्याएर अन्तिम अन्तिमघडि सम्म पनि मैले अनुनय विनय गरें तर सायद कुन बाध्यता अनि विवशताले बाँधिएका थिए उनी एकरति पनि चलेनन् र अन्तत आगोको लप्का भित्र आफुलाई समाहित गरेर यो लोकबाट सँधैका लागि बिदा भए ।

म स्वयंलाई झुठो आश्वासन दिनु र लुकि लुकि स्वर ननिकाली अँध्यारोमा बसेर रुनु सिवाय म सँग अर्को कुनै विकल्प थिएन । एक मन त लाग्थ्यो अन्तत्वगत्वा एक दिन सबैले थाहा पाउँछ नै, ढिलो चाँडो मात्र हो । त्यसैले भनिदिउँ कि सबैलाई कि बुवा अब धेरै दिन हाम्रो साथ रहनुहुन्न भनेर । तर अर्को मनले संधै यहि सुझायो कि तिमीले थाहा पायौ, पायौ, अब अरुलाई थाहा नदेउ किनकि यो पिडा सबैले अन्तत भोग्नु नै छ भने किन आजै देखि १ जतिन्जेल सकिन्छ यसलाई आफै भित्र कैद रहन देउ र एकदिन समयको आवेगसँगै यो भयावह खबर त्यो अघोषित कैदबाट मुक्त भइजाला । अबको दुई महिना भित्र बुवाको मृत्यु हुने खबरलाई मनमा लिएर बाँचेका मेरा ति दिनहरु अत्यन्त भयानक विपना भएर गुज्रिए । तर कतै पोख्न असमर्थ थिएँ म जसले गर्दा त्यो भयानकताले विकराल रुप धारण गथ्र्यो । तर जति दुखें, म दुखें, जति रोएँ, म रोएँ प्रत्येक दिन प्रत्येक पल मौका मिल्ने बित्तिकै अँध्यारोमा एक्लै एक्लै रोएँ ।

मृत्यु स्वभावैले सहज हुँदैन । त्यसैगरी पिडा पनि आरामदायी हुँदैनन । तर मेरा भोगाईले मलाई के अनुभुत गराए भने मृत्यु भन्दा पनि असहज अत्यन्त भयावह सुनिश्चित मृत्युको समाचार बोकेर बाँच्नु हुन्छ । वास्तविक पिडा भोगाई भन्दा पिडाको वर्णन कैयन गुणा दर्दनाक हुन्छ । ध्वस्त विमानस्थल अनि इन्धन सकिएको अवस्थाको मेरो जिन्दगीको त्यो उडानले मेरो बुवाको मृत्यु उदघोष देखि उनको मृत्यु सम्मका ती भयानक दिनलाई प्रतिविम्वित गर्दछन् । आज १३ वर्षको अन्तराल पछि पनि ति दिन सम्झिंदा मेरा आँखा बाफिलो तातो पानीले अनायासै भरीएर आँउछन् र मन भक्कानिन्छ । जिन्दगीले पिडाको चरोमोत्कर्षमा पुर्याएका ती दिन वास्तविक सपना झैं लाग्दछन् । पिडा एक ठाउँमा छ तर ती पिडाको भोगाई अनि आउने दिनमा ती पिडाले शिखर छुने सम्भाव्यताले दिने त्रासादी अर्को ठाँउमा छ जुन स्वयं पिडा भन्दा निकै भयावह हुने गर्दछ । अनि त्यो भन्दा पनि भयावह त्यो पिडाको सिल्सीलेबार वर्णन गर्नु आततायी हुने गर्दछ । कोही प्रियजन अबको निश्चित अवधिमा यो संसारबाट सँधैकालागि विलिन हुँदैछ भन्ने कालको उदघोष स्वयं मृत्यु भन्दा अत्यन्त आततायी हुन्छ ।

५८ चैत्र देखि ५९ जेठ १९ सम्मको दुई महिने अवधि मेरो जीवनको निकै भयावह दिनका रुपमा रहे । बुवाको मृत्यु मिति घोषणा ज्ञात भएर बाँचेका ती जीन्दगीको सबैभन्दा भयानक पल थिए जुन मृत्यु स्वयं भन्दा कु्रर थिए । एक घडि अनि एक पला पनि सायद म वास्तविक जिएको महशुस गरीन मैले त्यस अवधिमा जसलाई सम्झिदा अझैपनि मृत्यु बरु प्यारो भए झैं भान हुन्छ मलाई । एउटै सोच एउटै त्रासले जिवन खाइरह्यो । र ती पिडाडायी क्षणलाई शब्दमा कोरी रह“दा आज त्यति खेर भोगेको वास्तविक पिडा भन्दा गहिरो पिडा बोध भएको छ जुन यो लेखको खेस्रा बनाउँदा र कम्प्युटर टाइप गर्दा सादा कागज फुल्ने गरी अनि ल्यापटपको कि बोर्डमा असरल्ल झरेका ताता बाफिला थोप्लाले बताइरहेका छन् । टाइप गर्दा गर्दै भक्कानिएका क्षणले बताईरहेका छन् ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031