शुक्रबार, चैत्र १६, २०८०

सपना राम राज्यको, प्रवृत्ति कंस राज्यको ?

r karki-राजन कार्की
लोकतन्त्र रामराज्य नभए पनि बिधिको शासन हो, लोकशासनमा लोकले रगतको आँसु रुनुपर्दैन। जनताले ल्याएको परिवर्तनको लोकशासनमा २ वर्षे बालकलाई गोली हानेर मारेको अमानवीय दृश्य देखिन थाल्यो। शासनमा रहेको पार्टीका सभासद रेडकर्नर नोटिस जारी भएका र राज्यसँगको दोहोरो भिडन्तमा मारिएका चरी वा घैँटेजस्ता अपराधीलाई ‘सहीद घोषणा गर्न, क्षतिपूर्ति दिन, तिनको सालिक बनाएर देवताजसरी प्राण प्रतिष्ठा गर्नुपर्छ’ भन्ने आवाज सडकदेखि संसदसम्म उठाइरहेका छन्।  लोकतन्त्रलाई के रोग लाग्यो यो? हामी कृष्ण कि कंस शासनपद्धतितिर उन्मुख छौं? देशको सीमा जतिसुकै बलात्कृत भए पनि नदेख्ने, प्रदेशको संख्या र सीमा आफूले चाहेजस्तै हुनुपर्छ भनेर देशभित्र जनविद्रोहको वातावरण सिर्जना गर्नु भनेको विवेकहीनता अर्थात् कंस  प्रवृत्ति नै हो।

हाम्रा आदरणीय जनप्रतिनिधिहरुको ‘टपरे’ चरित्र देखेर निरपराध जनता आक्रोसित भएका छन्, विश्व चकित छ। लोकतन्त्रलाइ बारुदमाथि उभ्याएर चिथरबिथर हुर्ने धरापमा पार्ने, गणतन्त्रको काँधमा भ्रष्टाचारको भाङ खाएर डनको गन राखेर कूशासन चम्काउने राजनीतिक नायकहरु नै हुन्। यी लायक भएका भए संक्रमणलाई बिधिको सन्यासोले च्यापेर सुशासन दिइसकेका हुनेथिए। यसरी कहालीलाग्दो रक्तपात, विषालु बिखण्डीकरणका बिउहरु उत्पादन गर्ने कारखाना बन्ने थिएनन्। राहुलाई शीरमा चढाएर संघीयतालाई आफ्नो चुनावी स्वार्थपूर्ति गर्ने षडयन्त्रको औजारका रुपमा जसरी चार दलको सहमतिमा सुरु गरियो, यथार्थमा यिनको अहंकारले मुलुकमा हिंसाको अन्धकार फैलिदै जाँदो छ। अझै यिनमा चेतना फिरेको छैन, वार्ताको टेबुल फिजाएर सिमांकनको रेखांकन र सहमतिको सौहाद्रतामा संविधान बनाउने। सत्ताको अहंकारमा चुर्लुम्मै डुबेका चार नेता अझै जनताको रगत र ज्यानको बली र खली खान उद्दत देखिन्छन्।

मुलुकमा अहिले जनअसन्तुष्टिका आगोको ज्वाला उठेको छ, यो देख्दा लाग्छ– जनता र नेतावीच विश्वासको धागो चुँडिसकेको छ। काटिएको चङ्गा र देशभरि फैलिएको दङ्गालाई यी चार नेताको बहुलठ्ठी निर्णयले साम्य पार्ने हैसियत गुमाइसकको छ।  फ्रेडरिक भन्थे ‘म तिमीले ढाट्यौं भन्नेमा निराश छैन, तिमी विश्वास गर्न नसक्ने भएकोमा निराश छु।’ चार नेता र पौने चार करोड जनतावीच यस्तै फासला बढेको छ। जनताको खुशहालीमा रमाउने लोकराज आउला भनेको छ, देश र जनताको मलामी जानेको कमाण्डमा पो परेछौं। उहिल्यै स्वर्गीय सूर्यबहादुर थापाले दरवारलाई भूमिगत गिरोहको साझेदार भन्थे, अहिले चार पार्टीका शीर्ष चार नेता जहाँनियातन्त्रका मुखियाजस्ता बनेका छन्। नक्कली प्वाँख हालेर नक्कल पार्दैमा मयुर बन्न सक्दैन। कोइलीको गुँडबाट जन्मेको कौवाको बचेरो न कोइली बन्नसक्छ। बाघको रङरुपको हुँदैमा न बिरालो बाघ बनेर हुर्किन सक्छ। समयक्रममा बिरालोले म्याउ गर्नैपर्छ। किनकि प्रकृतिको नियम नै हो, चोला फेर्न सकिदैन। हुटिट्याउँले आकाश थामेको फुइँकी आखिरमा हावादारी गफमात्रै हो। हाम्रा नेताहरुको यथार्थ यस्तै यस्तै देखिदैछ। अव त यिनमा लोकलज्जासमेत देखिन छाडिसक्यो। भनिन्छ– नङ्गा नाचे हजार दाउ। यी भोरजुवा खेल्दैछन्, देश र जनता लोकतन्त्र हारिरहेका छन्।
चार नेताले सत्ता परिवर्तनको साँघुरो मतलव राखेर संघीयतासहितको संविधान जारी गर्न जसरी पहिले ६ र पछि ७ प्रदेशको संरचना बनाए र त्यसमा सिमांकनको कैँची चलाए। त्यो रचना श्रीकृष्णले निर्माण गरेजस्तो नयाँ संसार हुनसकेन।

नयाँ नेपाल बनाउँछु भन्नेहरु भएको नेपाल बालेर आगो ताप्दैछन्। हाम्रा चार दलीय नेताहरुले चाणक्य बन्ने दुस्प्रयास गरेकै हुन्, त्यो उनीहरुको ‘माष्टर्स अफ नन्’ उखान साबित भयो। विज्ञ र विज्ञानले गर्ने काममा नजान्नेले हात हाल्दा लोकतन्त्रको मेवा मिष्ठान्न तीतो
हुनु स्वभाविक थियो। तीतोमात्र होइन, अव त कोक्याउन थालिसक्यो। कांग्रेस, एमाले, एमाओवादी र फोरम गणतान्त्रिकका सुशील, ओली, प्रचण्ड र गच्छदार राजनीतिक पार्टीका नेता हुन्। यिनलाई कसरी चुनाव जित्ने, कसरी भोट बैंक सुरक्षित पार्ने, कसरी जनताको मत हासिल गर्ने र कसरी सत्ताको उथलपुथल गरेर आफूलाई सत्ता र शक्तिको केन्द्रमा राख्ने? यो गणित थाहा छ। यिनलाई चुनावी षडयन्त्र र चलखेलमा महारथ हासिल होला तर राज्य पुनर्संरचना कसरी हुन्छ, त्यो ज्ञान यिनले कतै पढेकै छैनन्। यी चारै जना कति शिक्षित छन् र कुन हैसियतका हुन्, सबैलाई थाहा छ। सादा हुनु, चुट्किला मिसाएर भाषण गर्नु, कुम हल्लाएर गर्जिनु अथवा कहिले पहाड र कहिले मधेसलाई उल्लू बनाएर सत्ताको करिडरमा घुमिरहन सक्ने कला नेपाली एकता र राज्य पुनर्संरचनाका लागि आवश्यक योग्यता हुँदै होइन।

आफूसँग नभएको कलाकारिता देखाउँदा लाखेनाच हुनजान्छ। यतिखेर सिमांकनसहितको संघीयतामा जसरी मुलुकभरि आगो दन्किएको छ र जनअसन्तुष्टिको राप र तापको हुटहुटीले देशलाई पोल्न थालेको छ, यो सब चार नेताको आफै चाणक्य बन्ने दुस्साहसको परिणति हो। संविधानका नाममा जुन बिबाद, बबाल र हिंसा बढेर गएको छ, यो अपराधको पूर्ण जिम्मेवार कोही छन् भने यिनै चार नेता हुन्। यिनले चाणक्य बन्ने होइन, चाणक्यनीतिको अनुशरण गरेको भए यस्तो अव्यवस्था, अराजकता, दुर्भाग्य देशले भोग्नुपर्ने थिएन। थुप्रै जिल्ला हुँदै सुर्खेतपछि कपिलवस्तु, रौतहट र कैलालीमा हिंसा भड्कियो। भदौ ७ गतेको कैलाली घटनामा जसरी जनताको भीडले २ वर्षको बच्चासहितका ८ प्रहरी मारिए, त्यो घटनाले राज्य, चार नेता र त्यसक्षेत्रका जनप्रतिनिधिलाई नाङ्गेझार पारिदिएको छ। संसदमा गृहमन्त्री वामदेव गौतमले वयान दिए– दक्षिणतिरबाट घूसपैठ भयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रष्टिकरण आयो– नेपालको सुरक्षाका लागि भारत सहयोग गर्न तैयार छ। कैलाली घटनाप्रति भारत दुखित छ।  भारततिरबाट कुनै घूसपैठ भएको छैन। मधेसी किन असन्तुष्ट छन्, संवाद गरेर संवोधन गर। चार पाँच जनाले कोठामा बसेर बनाएको संविधान समावेशी हुनसक्दैन। भन्नुको अर्थ सत्ता परिवर्तनको लिप्सामा जुन हतारोका साथ संविधान जारी गर्ने चार दलीय सहमति छ, त्यसप्रति छिमेकी पनि सन्तुष्ट छैनन्। चीनका मन्त्री डाउ र भारतका मन्त्री धर्मेन्द्र प्रधान नेपाल आएर नेताहरुलाई दुबै देशको सन्देश र संकेतहरु दिइसकेका छन्। तथापि चार नेताहरु संविधानकोे मस्यौदालाई पारित गर्ने र पछि संशोधन गर्दैजाने जिद्दीमा अडिग हुन पुगेका छन्। फलतः मुलुकमा हिन्दूवादसहितको थप असन्तुष्टिको ज्वाला दन्किन थालिसक्यो।

भदौ ८ गते कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले पत्रकारलाई घरमै बोलाएर आरोप लगाए– एमाओवादीका डा.बाबुराम भट्टराईले उक्साएर कैलालीमा नरसंहार भएको हो। नेपाल प्रहरी भन्छ– सशस्त्रले फायर खोलेन, जसका कारणले भीडले प्रहरीको हत्या गर्‍यो। सशस्त्र भन्छ– फायर खोल्ने आदेश नै थिएन। कैलालीको सुरक्षाव्यवस्थाका लागि प्रधानमन्त्री सुशील कोइरालाले पुरा इन्तजाम गर्न आदेश दिदा पनि गृहमन्त्री वामदेव गौतम सुरक्षा प्रमुखलाई मन्त्रालयमा उपरखुट्टी लगाएर चियागफ चुटिरहेका थिए। कैलालीबाट थप सुरक्षा चाहियो, फायर खोल्ने आदेश चाहियो भनेर आत्तिएका आवाज आइरहेका थिए, सुरक्षा प्रमुख कालोनिलो भएर प्रधानमन्त्रीको आदेश छ, फायर खोल्न आदेश दिन्छु भन्दै थिए तर गृहमन्त्री प्रधानमन्त्रीले भन्दैमा हुँदैन, भारदहको जस्तो समस्या बढ्छ भनेर थुमथुम्याउँदै थिए। एसएसपी लक्ष्मण न्यौपानेको कम्मरमा भएको हतियार भीडको भालाले उनलाई घोच्नासाथ हातमा आउनै सकेन, बाँकी सुरक्षाकर्मी खेतैखेत ज्यान जोगाएर भाग्न थाले। सिकार भए २ वर्षका नावालक र अगाडी परेका प्रहरी। ३० जना प्रहरी, तिनले बोकेको लठ्ठीले दशौं हजारको भीडलाई नियन्त्रण गर्नसक्ने सवालै भएन, नभागेर के गरुन्? यो घटनाले सत्ताप्रति सुरक्षा निकायभित्रै असन्तुष्टि चुलिएको छ, बिद्रोहको भावना फैलिएको छ।
कैलाली घटनाको प्रकृति हेर्दा लाग्छ– माओवादी जनयुद्धको अर्को स्वरुप देखियो। जनयुद्धकालमा महिलाको छातीको दूधको पोको काटेर फाल्ने हतियारधारीले खुकुरीमा लागेको रगत चाटेको दृश्य अथवा माष्टर मुक्तिनाथ शर्मालाई रुखमा बाँधेर रेटेको घटनाभन्दा बिभत्स थियो– आन्दोलनकारीभित्र छिरेका हतियारधारीले प्रहरीमाथि गरेको संहारलीला। राजधानीमा बसेर आक्रमणकारीलाई छाडिन्न भन्दैछन् आइजीपी उपेन्द्रकान्त अर्याल र पुलिसमाथि आक्रमण गर्ने आतंककारी नै हुन् भन्ने निष्कर्ष छ– प्रधानमन्त्री बन्न हतारिएका एमाले अध्यक्ष केपी ओलीको। यसपछि थारु समुदायले भनेको छ– हिंसाको जिम्मेवारी सरकारले लिनुपर्छ, थारु समुदाय थरुहठ प्रदेशका लागि शान्तिपूर्ण आन्दोलन जारी रहन्छ। कुनै जननेता जनविद्रोह साम्य पार्न ती क्षेत्रहरुमा पुग्ने हिम्मत गरिरहेका छैनन्। यी पनि जननेता? कांग्रेस, एमालेका कृष्णप्रसाद सिटौला, ओलीलगायतका नेताको झापा, मोरङ र सुनसरीमा आन्दोलन चर्केको छ, माधवको रौटहटमा तरवार जुलुस निस्कियो, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री वामदेवका निर्वाचन क्षेत्रमा कर्फ्यू लागेको छ, प्रचण्डले चुनाव जितेको सिरहा अशान्त छ, बाबुरामको चुनाव क्षेत्र गोरखा शान्त छैन। तथापि कुनै नेता आफ्नो क्षेत्रमा उभिएर जनतालाई मनाउने क्षमता राख्दैनन्। यी पनि लोकतान्त्रिक नेता हुन्? आफ्नो चुनाव क्षेत्र मनाउन नसक्नेले देश मनाउने संविधान बनाउने?

राजधानीमा हिन्दूराष्ट्र चाहिन्छ भनेर आन्दोलन सुरु भइसक्यो। तराई मधेसमा आन्दोलन चर्किदैछ। बैद्य र विप्लवहरु राजनीतिक भेलाबाट राजनीतिक निकास निकाल्न  आग्रह गरिरहेका छन्। सद्भावनाले संविधानसभा त्यागीसक्यो। मधेसवादी, थारु, दलित, महिलाहरुले संविधानसभा छाड्ने खतरा बढेको छ। यस्तो अवस्थामा चार नेताले संविधानको मस्यौदामा गहन छलफल नगरी संविधान जारी गर्ने काम गरे भने यो संविधानले नेपालमा बिखण्डन र बिभाजन त ल्याउँछ नै १८ दिनको महाभारत युद्धमा कुरु बंश बिनास भएझैं जातीय, क्षेत्रीय डढेलोले हामीलाई खरानी बनाउन सक्छ। पासाङले भनिसके– बाहुन नेतालाई घरघरबाट थुतेर सिध्याइदिन्छौं। मधेसतिर भालामात्र होइन, तरवार जुलुस निस्किन थालिसक्यो।  संविधान जारी गर्ने र सत्ता परिवर्तन गरेर शक्तिशाली बन्ने उन्माद चार नेतामा छ। अधिकार यही बेला लिइ छाड्ने बेग भेग भेगबाट उठिसकेको छ। चार नेता र सरकारप्रति जनताको भरोसा पटक्कै देखिन्न। संविधानको मस्यौदा मूल्यहीन बन्न पुगेको छ। यस्तो मस्यौदा संविधान बनेर जारी भयो भने जनताको सम्पत्ति बन्न सक्दैन। पारित नहुँदै लाश बनिसकेको संविधा��को मस्यौदाले देशलाई जिवन्त कसरी पार्न सक्छ र ?  यसकारण संविधानमा हुनैपर्ने जनविश्वास, राजनीतिक सहमति र बाह्य समर्थनका लागि पुनर्विचार, आवश्यक संशोधन हुनैपर्छ। त्यसो त संविधान ढुंगाको लकिर होइन, तथापि जन्मदै अङ्गभङ्ग जन्मियो भने त्यस्तो संविधानले कसरी देश र जनताको अपेक्षा पूरा गर्नसक्ला र? जनताका जायज माग संवोधन भएन र दुईतिहाई मत छँदैछ भनेर संविधान जारी गरियो भने भष्मासुरलाई बरदान हुनजानेछ। यही समय हो, राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी छ भनेर देखाउने?