शनिबार, बैशाख ८, २०८१

राष्ट्रिय मानवअधिकार आयोगले भन्यो- टीकापुर घटनाको निष्पक्ष छानबिन गर

काठमाडौ भाद्र ८,  राष्ट्रिय मानवअधिकार आयोगले कैलालीको टीकापुरमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । 2013-09-16-1379328691 (1)मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि, १९६६ ले व्यक्ति तथा समुदायको पहिचानको अधिकारलाई सुनिश्चित गरे तापनि त्यस्तो अधिकारका लागि हुने आन्दोलन शान्तिपूर्ण हुनु जरुरी रहेको उल्लेख गर्दै आयोगले प्रस्तुत घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सात सुरक्षाकर्मी र दुईवर्षीय बालकको समेत हत्या भएको भन्दै हिंसा र हतियारयुक्त आन्दोलनबाट कहीँ पनि शान्ति, समृद्धि, अस्तित्व र पहिचान दिगो हुन नसक्ने जनाएको छ ।

त्यस्तै आयोगले सो घटनालाई सूक्ष्मरूपमा अनुगमन गर्न आजै त्यसतर्फ एक अनुगमन टोली परिचालन गरेको जनाउँदै घटनाका दोषीको पहिचान गरी कानुनको दायरामा ल्याई कारबाही गर्न तथा सामाजिक सद्भाव कायम राख्न र संयमित रहन आयोगले सबैलाई आग्रह गरेको छ ।  आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गर्नुभएको विज्ञप्तिमा नेपाली सेना परिचालन गर्ने निर्णय भइसकेको अवस्थामा हरेक कार्यहरू मानवअधिकारको आधारभूत मूल्य र मान्यता एवम् प्रचलित कानुनी प्रक्रियाबमोजिम हुन र सो कार्यबाट नागरिकको मानवअधिकारको उल्लङ्घन हुने अवस्था आउन नदिनेतर्फ सचेत गाराउँदै शान्तिपूर्ण माग राखी भएका प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न तथा सर्वसाधारणको जीउज्यान र भौतिक सम्पत्ति नष्ट हुन नदिन सरोकार भएका सबै पक्षलाई आग्रह गरेको छ ।