बिहिबार, चैत्र १५, २०८०

पत्रकार महासंघका अध्यक्ष डा. बिष्टलाई खुलापत्र

11902541_10207302222492237_5989475193437331762_n आदरणीय  अध्यक्ष डा. महेन्द्र बिष्टज्यू
 नेपाल पत्रकार महासंघ
 केन्द्रिय कार्यालय, सञ्चारग्राम, 

तपाईं महासंघको अध्यक्ष हुनुभएको आजको मितिले एक वर्ष तिन महिना चानचुन नौं दिन भईसकेको छ । यसबीचमा तपाईंले पत्रकारहरुको हकहितका लागि निर्वाचनमा जुन प्रतिवद्धता व्यक्त गर्नुभएको थियो सो अनुसार कति कार्य गर्नुभयो ? मुल्यांकनको विषय हुन सक्ला तर यो बिचमा तपाईं कार्यरत र सुन्दैछु अझ तपाईंको समेतको लगानी भएको र तपाईं स्वयम समाचार प्रमुख रहनुभएको सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मी समाचार लेखेकै भरमा अर्थात समाचारका लागि फोटो खिचेकै आधारमा जागिरबाट निष्कासित हुनु परेको छ ।

अध्यक्ष महोदय, विषय ईमेज न्युज एफ एममा कार्यरत पत्रकार सन्दीप योगीको हो । पत्रकार योगीले अख्तियार कार्यालय अगाडि अख्तियार प्रमुख लोकमान  कार्कीको गाडीले सडक जाम गरेको दृष्य आफ्नो क्यामरामा कैद गर्ने प्रयास गर्दा त्यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाट कुटाई खानुप-यो । र उहाँको क्यामरा समेत जफत गर्ने कार्य भयो । पत्रकार योगीले तत्काल तपाईंलाई घटनास्थलबाट मोवाईल फोन मार्फत घटनाको जानकारी गराउँदा तपाईंले जुन खालको व्यवहार र जिम्मेवारी निभाउनु भयो त्यो कुनै पनि हालतमा सही हुन सकेन । किनकी , तपाईं घटनास्थलमा पुग्नै चाहनु भएन । घटनाको गम्भिरता बुझ्ने प्रयास समेत गर्नुभएन । तपाईंको एक कल टेलिफोनले पत्रकार योगीका क्यामरा त फिर्ता भयो तर उहाँको मन मस्तिष्कमा लागेको चोट भरिन सकेन ।

पत्रकार महासंघले पत्रकारका हकहितमा हिजोका दिनमा धेरै जोखिम युक्त कार्य गरेका छन । पत्रकारमाथि गरिएका आक्रमणका सम्बन्धमा तत्काल घटनास्थलमा पुग्ने र वास्तविकता पत्ता लगाई दोषीलाई कारवाही गराउन महासंघ तल्लीन भएर लागेका थुप्रै उदाहण छन् । चाहे त्यो जनकपुरमा भएको उमासिंहको हत्या होस या दैलेखका पत्रकार डेकेन्द्र थापाको सवालमा होस । त्यस्तैगरी विराटनगरका पत्रकार खिलानाथ ढकाल चर्चित डन पर्शुराम बस्नेतबाट अदालत परिसरमा नै कुटिएको घटना होस । महासंघको टोली तत्काल घटनास्थलमा पुगेको थियो । दोषीलाई कारवाहीको माग गरिएको थियो । तर तपाईंले काठमाडौंमा नै भएको घटनाको वास्तविकता बुझ्न जाने जमर्को गर्नु भएन । महासंघको कुनै जिम्मेवार पदाधिकारी पठाउने कार्य समेत गर्नुभएन ।

अझ उदेक लाग्दो कुरा त के हो भने अध्यक्ष महोदय पत्रकार योगी कुटिएको घटनाको समाचार ब्रेकिङ न्यूजको रुपमा सबै सञ्चारमाध्यममा प्रकाशन र प्रशारण भयो तर तपाईं समाचार प्रमुख भएको सञ्चारमाध्यमका तिन माध्यम ईमेज टेलिभिजन, ईमेज न्युज एफ एम र ईमेज खबर डटकम अनलाईनमा प्रसारण समेत भएन । यसबाट के प्रश्न उत्पन्न भएको छ भने पत्रकार योगीले कुटिएको र क्यामरा लुटिएको घटना ईमेजका लागि समाचार बन्न लायक भएन की ?

तपाईं महासंघका करीव ११ हजार पत्रकारका अभिभावक हुनुहुन्छ । तपाईं ती तमाम श्रमजीवि पत्रकारहरुको हकहित तथा उनीहरुको पेशा लगायतका विषयको सुरक्षाको जिम्मालिएर बसेको व्यक्ति हुनुहुन्छ । तर तपाईंको संस्थामा कार्यरत एक जना श्रमजीवि पत्रकारको श्रमको नै रक्षा हुन सक्दैन भने ती ११ हजार पत्रकारले अबका दिनमा तपाईंबाट के कस्तो अपेक्षा गर्ने ?  यसको जवाफ तपाईंले दिन सक्नुपर्दछ ।
दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यारालाई कारवाही माग गर्दै मलुकभरका पत्रकार एक जुट भएका थिए । हामीले पनि पत्रकार महासंघ भक्तपुरको आव्हानमा भक्तपुरमा तत्कालिन उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार, एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी कार्यक्रमस्थलमा नै कालो पट्टी बाँधेर समाचार संकलन गरेका थियौं । त्यस्तै उमासिंहको हत्या र खिलानाथ ढकाल कुटिएको विषयमा पनि आन्दोलन गरेका थियौं । ति सबै पत्रकार महासंघ केन्द्र कै अगुवाई र आव्हानमा भएका थिए ।
वास्तवमा पत्रकार महासंघ आजसम्म कसैसँग नझुकेको संस्था हो । २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनलाई उत्सर्गमा पु-याउन महासंघको अग्रणी भूमिका रहेको छ । तानाशाही र निरंकुश राजतन्त्रसँग सम्झौता नगरेको महासंघलाई तपाईंले लोकमानसँग किन झुकाउनु भयो अध्यक्ष ज्यू ।  होईन भने पत्रकार योगीको पुर्नबहालीको लागि ईमेजका सञ्चारकर्मी आन्दोलित हुँदा खोई तपाईं कता हुनुहुन्छ । के तपाईंले त्यो आन्दोलन देख्नु भएको छैन ? महासंघले हालै विभिन्न सञ्चारमाध्यममा शान्तिपूर्ण धर्ना दिएर सञ्चारकर्मीका रोकिएको तलब दिलाउने कार्य गरेको छ । तर पत्रकार योगीको पुर्नबहालीको लागि ईमेजको कार्यालय अगाडि धर्नामा बसेका सञ्चारकर्मीहरुलाई तपाईं देख्न सक्नुभएन किन ? किन पत्रकार महासंघ सो धर्नाको विषयमा बोल्दैन ? पत्रकार महासंघ गोपाल बुढाथोकीको निवासमा भएको प्रहरीको छापा सम्बन्धमा तुरुन्त बोल्छ तर पत्रकार योगीको पुर्नबहालीको बारेमा किन बोल्दैन ? के पत्रकार योगी तपाईंको विपक्षी विचारधारा बोकेको पत्रकारहरुको संस्थाका सदस्य भएर हो ? अर्थात पत्रकार योगी नेपाल प्रेस यूनियनका सदस्य भएर तपाईंको मन छुन नसकेको हो ? के यसरी आस्थाको आधारमा महासंघले फरक व्यवहार गर्न मिल्छ ?

यसो भनिरहँदा अध्यक्षमाथि गलत लाञ्छना लगाएको भन्ने आरोप पनि लाग्न सक्दछ । किनकी योगीलाई कोटेश्वरमा अज्ञात समुहले आक्रमण गरेकै दिन तपाईंको निर्देशनमा महासंघका महासचिवको हस्ताक्षरमा जुन विज्ञप्ति निकाल्नुभयो त्यसले समग्र पत्रकारहरुको महासंघ प्रति हेर्न दृष्टिकोण नै परिवर्तन भएको छ । पत्रकार योगीमाथि भएको हमलाको ह पनि उच्चारण नगरिएको प्रेस विज्ञप्तिमा उल्टै योगीको विषयमा अध्यक्षको नाम नजोड्नु चेतावनी दिईएको छ । अध्यक्षज्यू तपाईंले आमसञ्चारकै क्षेत्रमा विद्यावारिधी गर्नु भएको छ । तपाईंको सोही ज्ञानले समग्र पत्रकारिताको हित हुने अपेक्षा सहित पत्रकारहरुको छाता संगठनको अध्यक्ष चुनिनुभएको छ । तर तपाईंले आफ्नै मातहत कार्यरत एक श्रमजीविको श्रम जोगाउन नसकेको अवस्थामा अबका दिनमा तपाईंले ती ११ हजार पत्रकारहरुको रक्षा गर्छ भन्ने कसरी विश्वास गर्ने ?

हालसालै महासंघले संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता र आमसञ्चार तथा अभिव्यक्ति स्वतन्त्रताका लागि देशभरका पत्रकारहरुलाई परिचालित ग-यो । तपाईंको निर्देशनमा मुलुकभरका पत्रकारहरुले आ–आफ्नो क्षेत्रबाट तपाईंका निर्देशन पालना गर्ने कार्य भयो । तर जब एक श्रमजीवि पत्रकारको श्रम खोसिँदा महासंघले उचित कदम चाल्न सक्दैन र उसको पुर्नवहाली महासंघले गराउन सक्दैन भने भोलीका दिनमा महासंघको आव्हानमा पत्रकार सडकमा आउने की नआउने ? यसको समेत उत्तरको अपेक्षा सहित विदा हुन्छु । धन्यवाद ।

-तपाईंको शुभचिन्तक

11054790_902011833193078_4250487227999159200_nजगत प्रजापति

newsoff68@gmail.com

हामीलाई मेलमा प्राप्त प्रस्तुत पत्र जस्ताको त्यस्तै प्रकाशित गरेका छौं।(स)