शनिबार, बैशाख ८, २०८१

तादी किनारको गीत बजारमा आउँदै

काठमाडौं श्रावण ३१ , साहित्यकार महेश पौड्यालको उपन्यास तादी किनारको गीत चाँडै बजारमा आउँदैछ । गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार पुरस्कृत प्रस्तुत कृति भाद्र २०७२ को पहिलो साता बुकआर्ट नेपालले बजारमा ल्याउन लागेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
Tadi_Kinarko_Geet_Cover[1]त्यस्तै समाचारमा सिन्धुपाल्चोकका माझीको कथाव्यथा, रीति र परम्परा, वालविवाहको प्रचलन तथा समयसँगै उनीहरूको जीवनमा आएको परिवर्तनलाई उपन्यासले विषयवस्तु बनाएको उल्लेख गर्दै माझी समुदायको जीवनमा आधारित यो उपन्यासले काभ्रेको दोलालघाट र नुवाकोटको ढुङ्गेदेखि सेरा आसपास, र नादी नदीको किनार वरिपरिको परिवेशलाई समेटेको जनाएको छ । काभ्रेबाट विभिन्न प्रतिकुलताका कारण नुवाकोटतिर बसाइँ सर्न बाध्य माझीहरूका बालबालिकाहरूमा बालविवाहको प्रचलनले कस्तो मनोवैज्ञानिक असर पारेको छ भन्ने कुरा उपन्यासले केलाएको छ ।

समीक्षकको रुपमा चिनिएका पौडेल मूलतः आख्यानकार नै हुन् । उनका मौलिक कृतिको रुपमा प्रकाशित अधिकांश पुस्तक आख्यानकै हुन् । किशोरहरूको लागि भने उनको यो पहिलो नेपाली उपन्यास हो । अङ्ग्रेजीमा भने उनका यसअघि ६ वटा उपन्यास प्रकाशित भइसकेका छन् ।  – माधव अधिकारी