शुक्रबार, चैत्र १६, २०८०

जन भावनाको सम्मान गर्न ठोरी वासीको आग्रह

 काठमाडौं  भाद्र ८,  पर्सा जिल्ला ठोरी गाविस स्थायी घर भई काठमाडौं बसोवास गर्दै आइरहेका ठोरीका बासिन्दाले ठोरीका जनताको भावना विपरित मनोमानी ढङ्गले बोल्दै हिडेका जिल्लाका नेतृत्वपंति प्रति आपत्ति जनाएका छन । आज राजधानीको कालीमाटीमा भएको एक कार्यक्रममा उल्लेख्य संख्यामा उपस्थित ठोरी वासीले जनभावना विपरीत जथाभावी बोल्दै नहिन्न र जनभावनाको सम्मान गर्न सबै प्रति आग्रह गरेका छन ।
sdfsdf२०३४ साल पूर्व ठोरी चितवन जिल्लामा नै रहेको र पंचायती व्यवस्थामा सदरमुकाम पुग्न असहज महसुस गरि चितवनबाट पर्सामा समायोजन गरिएको इतिहास पल्टाएर हेर्न सहभागीले नेतृत्व पंतिमा आग्रह गरेका हो । सिमाङ्कन सहितको संघीयताको पछिल्लो स्वरुपमा पर्सा जिल्लाको ठोरी गाविस लाई २ नम्वर प्रदेश बाट ३ नम्वर प्रदेशमा समायोजन गर्ने निर्णय गरे पछि आम ठोरी वासीले स्वागत सहित खुसियाली समेत मनाएका थिए । त्यस पश्चात जिल्लामा नेतृत्व गर्ने नेपाली कांग्रेस तथा नेकपा एमाले सहितका केही दलका सभासद तथा नेताले ठोरी पर्सामा नै रहनु पर्ने र पर्सा अखण्ड हुनु पर्ने भन्दै विभिन्न कार्यक्रममा बोल्दै आए पछि ठोरीमा त्यसका बिरुद्ध आन्दोलन समेत भइरहेको छ । ठोरी वासीको चाहना अनुरुप आफ्नो पुरानो घरमा समायोजन गर्न भन्दै स्थानीय दलका प्रतिनिधी सहितको संघर्ष समिति गठन गरि स्थानीयहरु काठमाडौं आएर विभिन्न दलका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाए पछि ६ प्रदेशको खाकालाई परिमार्जन गर्दै ७ प्रदेशको खाका आउँदा ठोरीलाई प्रदेश नम्वर ३ मा समायोजन गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुले संविधानसभामा आइतबार साँझ पेश गरिएको अन्तिम विधेयकमा ठोरीलाई गुमनाम पारिए पछि ठोरीको जनताको भावनालाई नेतृत्व पंक्तिले कुल्चिन खोजेको भन्दै अझ शसक्त रुपमा आन्दोलन अगाडि बढाउने बताएका छन । कार्यक्रममा ठोरी गाविसका स्थानीयहरु जवाहरलाल कार्की,देवजंग पण्डित,राजकुमार सिल्वाल,महेश गौतम,विर बहादुर कुँवर,टुक प्रसाद दाहाल लगाएतका सहभागीहरुले मन्तब्य राखेका थिए । यसैबीच सो कार्यक्रममा प्रकाश खनालको संयोजकत्वमा ठोरीमा गठित सर्वदलीय सर्वपक्षीय संघर्ष समितिलाई सहयोग गर्नका लागि काठमाडौंमा सहयोग उप समिति गठन गरिएको छ । स्थानीय बुद्धिजिवि जवाहरलाल कार्कीको संयोजकत्वमा ९ सदस्सीय उपसमिति गठन गरिएको हो ।

जसमा सहसंयोजकमा राजकुमार सिल्वाल,सचिवमा महेश गौतम,सहसचिवमा बिर बहादुर कुँवर,कोषध्यक्षमा देबजंग पण्डित तथा सदस्यहरुमा लक्ष्मण अधिकारी,टुक प्रसाद दहाल,दुर्गा पौडेल तथा केशव प्रसाद पराजुली रहेका छन । सो सहयोग उपसमितिले ठोरीबाट काठमाडौं आउने मूल समितिका प्रतिनिधिलाई व्यवस्थापनको साथै आइ पर्ने जस्तोसुकै समस्यामा पनि साथ दिने उपसमितिका सहसंयोजक राजकुमार सिलवालले जानकारी दिनुभयो । थप संघर्षका कार्यक्रम सहित संघर्ष समितिका पदाधिकारीहरु भोली काठमाडौं आइपुग्ने समेत उहाँले जानकारी दिनु भएको थियो ।