बिहिबार, चैत्र १५, २०८०

कांग्रेसलाई एक ढिक्का बनाउने नेतृत्वको खाँचो

-जगत प्रजापति

नेपाली कांग्रेस केन्द्रीय समितिको शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संविधान निर्माणको विशेष परिस्थितको कारण देखाउँदै गाउँ, नगर, क्षेत्रीय र जिल्ला समितिहरुको अधिवेशनको मिति हेरफेर गरेको छ । जसअनुसार गाउँ तथा नगर अधिवेशन भदौ १७ गते, क्षेत्रीय अधिवेशन भदौ २२ गते र जिल्ला अधिवेशन भदौ २५ गतेका लागि तोकिएको छ । यसअघि भूकम्प र वर्षातको समयलाई कारण देखाउँदै साउनको लागि तोकिएको नगर वडा, गाउँ र नगर अधिवेशन भदौ १ गते, निर्वाचन क्षेत्रीय अधिवेशन भदौ ७ गते र जिल्ला अधिवेशन भदौ १० गतेका लागि तोकिएको थियो ।

nepali-congress-600x330कांग्रेसको १३ औं महाधिवेशन जति नजिक आउँदैछ त्यति नै जिल्ला जिल्लाको राजनीति पनि तात्दै गईरहेको छ । जिल्लाको राजनीतिमा साउनको वर्षामा पनि भदौको चर्को घामको राप देखिन थालेको छ । जिल्लामा आफ्नो पद सुरक्षित गर्न नेताहरु गुट उपगुटको फोहोरी खेल खेल्न व्यस्त छन । पार्टी संगठन भन्दा पनि आफ्नो दुनो सोझ्याउने खेलमा जिल्ला नेताहरु सक्रिय भईरहेका छन । यो खेलमा भक्तपुर पनि अछुतो रहन सकेको छैन । पार्टीको क्रियाशिल सदस्य वितरणमा देखिएको विवाद भक्तपुरमा पनि देखिएको छ । पार्टी केन्द्रले जिल्ला जिल्लाको क्रियाशिल विवाद टुंग्याउन सकेको छैन । जिल्लामा क्रियाशिल विवरण पठाउन सकेको छैन । तर पनि जिल्लामा कांग्रेसको राजनीति भने गुट उपगुटको भेला, कोठे बैठक र चिया गफमा तात्दै गईरहेको छ ।

भक्तपुरको हालसम्मको निर्वाचन परिणाम हेर्ने हो भने कांग्रेस जिल्लाको दोस्रो ठूलो दलको रुपमा रहेको छ । अन्य दलहरुले जति सुकै तामझाम गरेपनि जिल्लामा नेपाल मजदुर किसान पार्टीलाई उछिन्न सकेको छैन । तेस्रो स्थान भने कहिले राप्रपा, कहिले एमाले त कहिले एमाओवादीले लिने गरेको छ । दलिय संगठन हेर्ने हो भने जिल्लामा नेमकिपाले जुन जरो गाडेको छ त्यसलाई अन्य दलले हल्लाउन सकेको छैन भने उसको संगठनको जराले फैलिने बाटो पनि समाउन सकेको छैन । राप्रपाको संगठनिक जग हल्लिएर मक्कि सकेको छ । संविधानसभा निर्वाचन पछिको अवधीमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला स्तरका नेता देखी बुद्धिजीवीहरु समेत पार्टीमा प्रवेश गराई हैसियत अनुसारको पद समेत दिएको छ । संविधानसभाको निर्वाचनमा जिल्लामा तेस्रो स्थानमा आएको एमालेले विशेष गरी भक्तपुर क्षेत्र नं। २ मा निर्वाचन हारेका महेश बस्नेतलाई उद्योग मन्त्री बनाए यता पार्टी संगठन निर्माण चुस्त गतिले बढाउँदै गएको छ ।
बस्नेत मन्त्री भए पश्चात एमालेको भक्तपुरमा धेरै चहल पहल बढेको छ । शुभकामना तथा चियापान कार्यक्रम देखी स–साना उद्घाटन, अन्तरक्रिया र पुरस्कार वितरणमा समेत मन्त्री बस्नेतको उपस्थितीले एमालेमा एक प्रकारको रक्तसंचार गरिदिएको छ । संविधानसभा निर्वाचनको परिणामले थलिएको एमाले बस्नेत मन्त्री भएसँगै जुरमुराएको छ ।

त्यसको ठिक विपरित कांग्रेस भने अधिवेशनमा पद हत्याउने दाउमा आफु आफुमा गुटबन्दी गर्दै अगाडि बढ्दै आईरहेको छ । यसले पार्टीको संगठन बिस्तारमा ठूलो नकारात्मक सन्देश प्रवाह भईरहेको छ । त्यस तर्फ कसैको चिन्ता देखिएको छैन । कांग्रेसलाई एक ढिक्का बनाई अगाडि लाने नेतृत्वको अभाव भक्तपुरमा देखिएको छ । एकले अर्काको अस्तित्व स्विकार नगर्ने पारीपाटीले भोलीका दिनमा आफ्नै राजनीतिको अन्तः हुन सक्दछ भन्ने आंकलन कसैले गर्न सकेका छैन ।  आज भक्तपुरका कांग्रेसीहरु एक ठाउँमा भेला समेत हुन नसक्ने अवस्थामा पुगेको छ । पार्टीको कार्यक्रममा समेत एकलाई बोलाउने अर्कोलाई नबोलाउने, फलानोको कार्यक्रममा हामी किन जाने भन्ने भावनाले पार्टी संगठन चल्न सक्दैन भन्ने ज्ञान पार्टीका जिल्ला नेताले भुलिसकेका छन । लोकतन्त्रको हिमायती कांग्रेसको आन्तरिक लोकतन्त्र यति कमजोर छ की विरोधी खेमाको नाम लिँदा समेत मुख अपवित्र हुने हो की भन्ने कांग्रेस नेताहरुलाई पर्न थालेको छ । यसले पार्टीको अस्तित्व नै खतरामा पर्न सक्ने तर्फ ध्यान जान जरुरी छ । लोकतान्त्रिक पार्टीमा पदका लागि हानथाप हुनु कुनै नौलो होईन । तर त्यसलाई स्वस्थ प्रतिष्पर्धात्मक बनाउनु पर्नेमा सबै नेताहरु अस्वस्थ प्रतिष्पर्धाको लागि दौड धुप गरिरहेका छन । केन्द्रका नेतालाई आफ्नो पहुँच देखाउने र त्यसैको आडमा दुनो सोझ्याउने खेलले पार्टीलाई निक्कै कमजोर बनाएको छ । केन्द्रका नेताहरु पनि आफ्नै स्वार्थका लागि जिल्लामा चलखेल गरिरहेका छन । महाधिवेशनमा केही मतको लागि पार्टी संगठन कमजोर पार्ने खेलमा संलग्न भईरहेका छन ।

संविधान निर्माण अन्तिम चरणमा पुगेको छ । शिर्ष नेताहरु साउन मसान्त भित्र संविधान ल्याउने कसरत गरीरहेका छन । संविधान जारी भएको एक वर्षभित्र स्थानीय निकायको निर्वाचन हुने प्रवल सम्भावना छ । कांग्रेसको अहिलेको फुटको राजनीतिले निकट भविष्यमा हुन सक्ने स्थानीय निकायको निर्वाचनमा समेत असर पर्न सक्दछ भन्ने हेक्कासम्म नेताहरुले राख्न सकेको पाईंदैन । नेताहरु जसरी पनि आफ्नो पल्ला भारी गर्ने र त्यसको लागि जुनसुकै मूल्य चुकाउन पनि तयार हुने अवस्थामा रहेका छन । नेपाली कांग्रेस भक्तपुरको आफ्नै गौरवपूर्ण ईतिहास रहेको छ । स्व। कमलबहादुर खड्का, जग्गनाथ आचार्य, राधेश्याम जोन्छें, शहिद भरत गोपाल झा जस्ता वीर योद्धाहरुको रगतले सिञ्चित भक्तपुर कांग्रेसमा अहिले पनि अष्टकुमार कवे, रामेश्वर प्रसाद ढुंगेल, कृष्णलाल भँडेल, महेश श्रेष्ठ, दुर्लभ थापा, विनोद कायष्ठ, शंकरप्रसाद गौतम, सन्तोष भट्टराई, मुरारीप्रसाद आचार्य, मदनकृष्ण श्रेष्ठ, धर्मराज थापा, केदार खड्का, राजनकाजी त्वाँटी, सुरेश श्रेष्ठ, रोशन पौडेल, बिष्णुराज कार्की, सोम प्रधान, नारायणभक्त खायमली, अनिल भुजु, शिव अवाल, रविन्द्र प्रधान जस्ता जुझारु र युवा नेताहरु रहेका छन । त्यसैगरी बाबुराजा जोशी, दयामान कर्माचार्य, रामप्रसाद दवाडी, भोला प्रसाद कुईंकेल, लेखनाथ न्यौपानेलगायतका बुद्धिजीवी र पुराना पुस्ताका नेताहरु रहेका छन । तर यतिखेर यी नेताहरु एक ठाउँमा उभिने वातावरण भने बन्न सकेको छैन ।  २०१७ सालको किसान आन्दोलनमा भक्तपुर कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको थियो । त्यसैको परिणाम मुलुकमा पहिलो पटक भक्तपुरमा भुमिसुधार लागु भयो । २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनमा पनि भक्तपुर कांग्रेसले अतुलनिय योगदान गरेको थियो । स्व। जग्गनाथ आर्चायनै जनआन्दोलनका नेतृत्वकर्ता थिए । आज भक्तपुर कांग्रेसका नेताहरुले जुन चर्तिकला देखाईरहेका छन त्यसले न त शहिद भरत गोपाल झाको सपना पुरा हुन सक्दछ न त स्व। कमलबहादुर खड्का, जग्गनाथ आचार्य र राधेश्याम जोन्छेंको नै सम्मान हुन सक्दछ ।