काठमाडौ श्रावण १८, नयाँ संविधानमा धिार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्रको व्यवस्था गरिनुपर्ने माग गर्दै आज
राजधानीमा बाजागाजा, शङ्ख र बजाई प्रदर्शन गरिएको छ । नयाँ संविधानमा धार्मिक स्वतन्त्रताको माग गर्दै क्रियाशील सङ्घसंस्थाले संयुक्त रुपमा आज माइतीघर मण्डलादेखि बानेश्वर र गौशालादेखि संविधानसभा भवन गरी दुईतिरबाट पदयात्रा सहित प्रदर्शन गर्दै हिन्दू राष्ट्रको माग गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस हिन्दू राष्ट्र अभियानका संयोजक खुमबहादुर खड्काले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता दुवै उस्तै भएकाले संविधानमा हिन्दू राष्ट्र उल्लेख गरिनाको विकल्प नभएको बताउँदै संविधानको मस्यौदामा जनता दिएको सुझावको क्रममा समेत ९० प्रतिशतभन्दा बढी जनताले सनातन हिन्दू राष्ट्र माग गरेका छन्, त्यो माग पूरा हुनुपर्छ, हिन्दू राष्ट्र कायम गर्न नसक्ने हो भने जनमत सङ्ग्रह गरिनु पर्नेमा जोड दिनु भएको थियो ।
त्यस्तै विश्व हिन्दू महासङ्घका उपाध्यक्ष संहिताशास्त्री, अर्जुनप्रसाद बास्तोला, संयुक्त सनातन मोर्चाका संयोजक मिठाराम विश्वकर्मा लगायतले जनताको मागअनुसार हिन्दू राष्ट्र« कायम गर्न नसके लोकतान्त्रिक विधिअनुसार जनताको राय लिन जनमत सङ्ग्रहमा जाने हिम्मत गरिनुपर्नेमा आवाज बुलन्द गर्नु भएको थियो । प्रदर्शनको क्रममा नयाँबानेश्वर एभरेस्ट होटल अगाडि पुगेपछि प्रहरीले रोक्ने प्रयास गरेपछि प्रदर्शनकारी र प्रहरी बीचमा केहीबेर सामान्य झडप भएको थियो ।